• १२ साउन २०८१, शनिबार

जमिन भाडामा लिएर तरकारी खेती गर्दै व्यास गाउँपालिका

blog

व्यास गाउँपालिकाले सञ्चालन गरेको कृषि फर्म । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी 

दार्चुला, मङ्सिर १४ गते । दार्चुलाको व्यास गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ । व्यास गाउँपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार व्यास गाउँपालिका –४ सुन्सेरा साईँमा पाँच रोपनी जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरिएको कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडूले जानकारी दिनुभयो ।

स्थानीय पार्वती कुँवरको जमिन भाडामा लिएर गाउँपालिका आफैले तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो । व्यास गाउँपालिकाको गत भदौ २२ गते बसेको बैठकले कृषि फर्म स्थापनाका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

कृषि विषय अध्ययन गरेका बेरोजगार युवालाई उद्यमसँग जोड्ने र नौलो प्रविधि सिकाउने उद्देश्यले गाउँपालिकाकै लगानीमा कृषि फर्म स्थापना गरिएको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिनुभयो । चाँडै विज्ञापन आह्वान गरेर १० जना कृषि जेटिए र १० जना स्वयंसेवक भर्ना गरी कृषि फर्म सञ्चालन गर्ने तयारी भइरहेको कृषि विकास शाखा प्रमुख विश्वेश्वर बडूले बताउनुभयो । 

अहिले स्थानीयहरूको सहयोगमा पानी सिँचाई, जमिन तयारी र प्लास्टिक मल्चिङ गरेर तरकारीको बिउँ लगाउने काम भइरहेको छ । “अहिले फर्ममा काउली, बन्दा, प्याज, मुला, रायो, पालुङ्गोजस्ता हरियो सागपात लगाइँदै छ” उहाँले भन्नुभयो, “कृषि जेटिए र स्वयंसेवक भर्ना भइसकेपछि फागुन महिनासम्ममा थप जमिन भाडामा लिएर आलु खेती गर्ने योजना छ ।”

 

गाउँपालिकाको कृषि फर्ममा उत्पादन भएको तरकारी स्थानीय बजार र दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका विद्यालयमा बिक्री वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । निकट भविष्यमै २५ रोपनीसम्म जमिन भाडामा लिएर नमुनाका रूपमा कृषि फर्म सञ्चालन गरिने कृषि शाखा प्रमुख बडूले बताउनुभयो । 

स्थानीयलाई तरकारी खेतीप्रति प्रोत्साहन गर्ने र बेरोजगार युवालाई उद्यमसँग जोड्ने उद्देश्यका साथ कृषि फर्म नमुनाका रूपमा सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।