• १५ चैत २०८०, बिहिबार

ट्युनिसियाविरुद्ध फ्रान्स कम दबाबमा

blog

दोहा, मङ्सिर १४ गते । सन् २००६ पछि यस पटक विश्वकपमा उपाधि रक्षा अभियानमा रहेको टिमले पहिलो पटक समूह चरण पार गरेको छ। यस इटाली, स्पेन र जर्मनी विश्वकप उपाधि रक्षा अभियानमा समूह चरणबाट बिदा भएका थिए। फ्रान्स पनि पहिलो पटक विश्वकप जितेको चार वर्षपछि उपाधि रक्षा अभियानमा समूह चरणबाट बाहिरिएको थियो। यस पटक भने पछिल्ला नियतिलाई रोक्दै च्याम्पियन फ्रान्स कतार विश्वकपको नकआउट चरणमा पुग्न पहिलो टिम बनेको छ।

पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएर फ्रान्सले एक खेलअगाडि नै नकआउट चरण पार ग¥यो। अब फ्रान्सले समूह चरणको अन्तिम खेलमा बुधबार ट्युनिसियाविरुद्ध खेल्दा कम दबाबमा खेल्नेछ। त्यसैले फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँले ट्युनिसियाविरुद्ध खेल्दा आफ्ना स्ट्राइकर किलियन एमबापे, ओलिभर जिरु र एन्टोनी ग्रिजम्यानलाई विश्राम दिन सक्नुहुनेछ।

प्रतियोगितापूर्व पल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जामा, क्रिस्टोफर एनकुन्कुजस्ता खेलाडी घाइते भएर विश्वकप गुमाउँदा फ्रान्सले राम्रो गर्नेमा शङ्काको नजरले हेरिएको थियो। अझ यूईएफए नेसन्स लिगमा फ्रान्सले छमध्ये एक खेलमा मात्र जित हात पारेको थियो तर फ्रान्सले यी प्रतिकूल अवस्थाका बीच सुरुका दुई खेलमा च्याम्पियनसरह नै खेलेको छ। उसका प्रमुख स्ट्राइकर किलियन एमबापे शानदार लयमा पनि हुनुहुन्छ।

ट्युनिसियाले भने सुरुका दुई खेलबाट मात्र एक अङ्क हासिल गरेको छ। विश्वकपमा अगाडि बढ्नु छ भने ट्युनिसियाले फ्रानसलाई हराएर विश्वकप इतिहासकै स्तब्धकारी नतिजा निकाल्नुपर्नेछ। ट्युनिसियाका प्रशिक्षक जालेल काड्रीले फ्रान्सविरुद्धको खेलमा आफ्नो टिमले शतप्रतिशत दिएर खेल्ने बताउनुभएको छ।

डेनमार्क–अस्ट्रेलिया

विश्वकप फुटबल प्रतियोगितामा समूह ‘डी’बाट फ्रान्ससँगै नकआउट चरणमा पुग्ने आशासहित डेनमार्क र अस्ट्रेलियाले बुधबार एकअर्काविरुद्ध खेल्दै छन्। यी दुवै टिमले दुई खेलबाट समान तीन अङ्क बनाएका छन्।

विश्वकपमा यी दुई टिमको दोस्रो पटक आमनासामना हुँदैछ। सन् २०१८ मा समूह चरणमा नै यी दुई टिमबीच भिडन्त हुँदा १–१ ले खेल सकिएको थियो। अस्ट्रेलियलाई हराएमा डेनमार्कले लगातार दोस्रो पटक नकआउटमा स्थान बनाउनेछ। जुन गौरव डेनमार्कले सन् १९९८ र २००२ मा लगातार समूह चरण पार गरेर हासिल गरिसकेको छ। डेनमार्क अहिलेसम्म विश्वकपमा खेलेका पाँच संस्करणमध्ये एक पटक मात्र नकआउट चरणमा पुग्न असफल भएको छ। अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा सन् २००६ मा एक पटक मात्र पुगेको इतिहास छ। एपी