• ५ वैशाख २०८१, बुधबार

कला, संस्कृतिको संरक्षणबाट देशको पहिचान स्थापित : प्रमुख साह

blog

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह । फाइल तस्बिर

काठमाडौं, मङ्सिर ९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख साहले सो कुरा बताउनुभएको हो ।

प्रमुख साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनु भयो । उहाँले कला, संस्कृतिलाई महत्त्व दिने कुरा जिम्मेवारीमा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरे मात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताउनुभयो ।

प्रमुख साहले भन्नुभयो, ‘‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन, तर उहाँहरूसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताब (रातो किताब) मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ । महानगरपालिका भएको नाताले कलालाई महत्त्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दछौँ । हाम्रो छुट्टै विभागहरू हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’’

साहले कला र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरू गरिरहेको पनि बताउनुभयो ।