• ७ वैशाख २०८१, शुक्रबार

जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो

blog

विश्वका बहुसङ्ख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्ष खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास दुई हजार वर्षभन्दा लामो देखिन्छ। ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका (Mesoamerica)मा ढुङ्गाको बल खेलिन्थ्यो । 

मध्यअमेरिकका आदिवासी एज्टेक -Aztecsले त्यस प्रकारको खेललाई चिटाली  -Tchatali_   भन्ने गरेका थिए। ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवान्को प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवान्को नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त शत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि यस प्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः इसापूर्व २५०० तथा इसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ। रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस -Episkyros र हरपस्टम -Harpastum नामकरण गरेका थिए । यसैगरी अस्ट्रेलियाली आदिवासीले पनि आफ्नै शैलीका फुटबल खेल्थे, जसलाई मार्न गुक -Marn gookभनिन्थ्यो । 

सन् १४०८ मा आएपछि मात्र बेलायती राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अङ्ग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ। रोम, युनान तथा अस्ट्रेलियामा प्रचलित फुटबलको आदिम शैली बारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरण भने उपलब्ध छैनन् ।

हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु -Cuju नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो। त्यसलाई नै बहुसङ्ख्यक अध्येताले फुटबलको आदिम रूप मान्छन्। त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँख हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ। यसको गोलाइ ३० देखि ४० सेन्टिमिटर हुन्थ्यो। खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो। यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गर्न पाइन्थ्यो। यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ।


कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी -Kemari जापानमा प्रचलनमा आयो। चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको देखिन्छ। प्राचीन समयमा जनावरका मूत्राशय -bladder_, नरिवलका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ।

प्राचीन समयमा फुटबलका असङ्ख्य स्थानीय स्वरूप भेटिन्छन्। त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ। कतिपयको भनाइअनुसार एउटै खेलमा सयभन्दा बढी खेलाडी भिड्थे। खेलमा डन्डाको पनि प्रयोग गरिन्थ्यो। खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो। यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झैझगडा पनि हुन्थे। परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो।

फुटबलको आदिम शैली संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहे पनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ। बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो। त्यस दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ। 

फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झैझगडा हुने गर्दथे, जसलाई  विभिन्न घटना क्रमले पुष्टि गर्छन्। फुटबल खेलमा हुने हिंसात्मक झैझगडा र दुर्घटनालाई नियन्त्रण गर्न विभिन्न कानुनी उपाय पनि रचिएको पाइन्छ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७)ले सन् १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध लगाएका थिए। यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७)ले पनि सन् १३४९ फुटबलखेलमाथि प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ। पछि फुटबल ऐनअन्तर्गत सन् १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो। 

तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३)ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखिन्। खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा फुटबल खेल्ने परिपाटी भने कायमै रह्यो। सन् १६०५ आएर मात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ। 

इस्वीको १९औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको थियो। सन् १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो। समय क्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए। 

सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फुटबल  क्लब हो। यो क्लब फुटबल जगत्मा गतिलो ब्रान्ड बन्न पुगेको छ। फुटबलसम्बन्धी घटना क्रम विकास हुँदै जाँदा सन् १८६३ मा लन्डनमा ‘फुटबल एसोसिएसन’ को स्थापना भयो। यससँगै फुटबलको स्थानीय नियमलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य सुरु भयो । 

फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ३० नोभेम्बर सन् १८७२ मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीच भयो। ग्लास्गो सहरको क्विन्स पार्क स्टेडियममा सम्पन्न यो खेल बराबरीमा टुङ्गिएको थियो, जुन चार हजार दर्शकले हेरेका थिए भन्ने भनाइ छ। 


सन् १८८३ मा पहिलो बहुपक्षीय (धेरै टिम प्रतिस्पर्धी रहेको) प्रतियोगिता भएको थियो। जसमा आयरल्यान्ड, इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका टिमले भाग लिएका थिए। 

समय क्रममा फुटबलको विश्व संस्थाका रूपमा १२ मे सन् १९०४ मा विश्व फुटबल महासङ्घ (फिफा) स्थापना भयो। जसमा सुरुमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स (हल्यान्ड), स्पेन, स्विडेन र स्विट्जरल्यान्डको सहभागिता थियो। यसको मुख्यालय स्विट्जरल्यान्डको ज्युरिखमा रहेको । यसको स्थापना भने फ्रान्सको राजधानी पेरिसमा भएको थियो। 

फिफाको सदस्य राष्ट्रहरूको सङ्ख्या १११ छ, जुन संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रभन्दा बढी छ। हालसम्म संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रहरूको सङ्ख्या १९३ मात्र रहेको छ। यो एउटा रोचक पक्ष हो, जसले फुटबलको सर्वव्यापकता र लोकप्रियतालाई उजागर गर्छ। यसले हरेक चार वर्षमा फिफा विश्वकप आयोजना गर्छ। 

सन् १९९२ मा फ्रान्समा फ्रेन्च कपको सेमिफाइनल भइरहेका बेला फुरियानी स्टेडियम भत्कँदा १८ जनाको ज्यान जानुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए। सन् १९८५ मा बेलायतको भ्याली परेड रङ्गशालामा फुटबल म्याच चलिरहँदा आगलागी हुन गई ५६ जनाले ज्यान गुमाएका थिए। 

सन् १९८५ मा युरोपियन कप सुरु हुन लागेका बेलामा बेल्जियमको राजधानी ब्रसेल्समा रङ्गशालाको पर्खाल खस्दा १४ इटालियाली समर्थकरूले ज्यान गुमाउनु परेको थियो। बेलायतको ब्राडफोर्ड सिटीमा म्याच चलिरहँदा एक जना फुटबल समर्थकको लापरबाहीले चुरोटको ठूटो फालिदिँदा आगलागी भयो, जसबाट ५६ जनाले ज्यान गुमाउन पुगे।


फुटबल म्याचसम्बन्धी अनिष्टकारी घटनामा नेपालको पनि नाम छ। २०४४ साल फागुन २९ गते (मार्च १२, १९८८) काठमाडौँस्थित दशरथ रङ्गशालामा जनकपुर चुरोट कारखाना र छिमेकी मुलुक बङ्गलादेशको मुक्तिजोद्धा क्लबबीच प्रतिस्पर्धा चलिरहेको थियो। त्यही समयमा भयानक हावाहुरी तथा असिनापानी आएपछि भागदौड चल्यो। सोही क्रममा ९३ जनाले ज्यान गुमाएका थिए। त्यस घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए।

सन् १९५८ मा म्यान्चेस्टर युनाइटेडको टिम युरोपियन कपमा सहभागी भई घर फर्कने क्रममा उनीहरू सवार विमानले म्युनिखस्थित एयरपोर्टमा इन्धन भ-यो। इन्धन भरेर उड्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो। फुटबल खेलका क्रममा भएका यस्ता दुःखदायी दुर्घटना केही उदाहरण मात्र हुन्। फुटबल खेलको इतिहासमा यस्ता दुःखदायी घटनाको सूची लामो छ।