• ८ मंसिर २०८१, शनिबार

जाग हे युवा ! (कविता)

blog

खाएर मानो चलाई गानो, रोपेको असार

हरियो भयो रोपेको रोपो, बेँसीको संसार

धानको गाँज धरती माझ, पसायो बाला ली

फुल्दै र झुल्दै बयली खेल्दै, बनियो पहेँली ।

धानका बाला लर्किए माला, सरिझैँ तिहार

किसानलाई तब पो लाग्छ, मङ्सिर पियार

न जाडो तातो घमाइलो पाटो, जाँदो छ कार्तिक

बेँसीमा हे¥यो  पहेँलै फाँट, लागेछ मङ्सिर ।

शरद्को याम रापिलो घाम, लिएर झुलेको

धानका बाला बोलाउँछन् काका, कहाँ छन् भुलेको

पसिना पोखे, यहीँ छ खोजे, अन्नको भण्डार

ती ताता तावा डडेर काला, फर्किंदा नेपाल ।

लुत्रुक्क परी विदेश पसी, नफाल जोवन

ए नवयुवा ! धानखाने मुसा, बन्दैछन् गोमन

जुध न यहीँ सुदिन यहीँ,  स्वदेश फिराउन

एकेक घर नेपाली घर, मङ्सिर भित्र्याउन   ।

उर्वर हाम्रो यो देश राम्रो, बन्दैछ बन्जर

नपस पर मुलुक घर, यहीँ ली टक्कर

उठ हे युवा जाग हे युवा, यो देश ब्युँताउन

मङ्सिर जस्तो मङ्सिर सधैँ, घरमा भित्र्याउन   ।