• १७ मंसिर २०७९, शनिबार

विकासमा विद्यार्थी

blog

घरमै बसी अभिभावकबाट वा स्कुल कलेजबाट, आफ्नो वरिपरिको आफूलाई असर गर्ने वातावरणबाट वा पुस्तक पढेर, अरूलाई सुनेर वा बुझेर विद्या आर्जन गर्ने मानिसलाई विद्यार्थी भनिन्छ। जुनसुकै उमेरमा पनि विद्या आार्जन गर्नेलाई विद्यार्थी भनिन्छ। नर्सरी कक्षामा भर्ना हुने साढे दुई वर्षको बालकदेखि ८० वर्षमा पढ्ने रहर पूरा गर्न स्कुल, कलेज भर्ना हुने सबै विद्यार्थी हुन्। मनमा गहिरो अठोट छ भने विद्या आर्जन गर्न उमेर, ठाउँ अवस्था केहीले पनि छेक्दैन। आफूले आर्जन गरेको ज्ञानलाई विद्यार्थीले सही ठाउँमा, सही समयमा उपयोग गरेको खण्डमा सबैको भलाइ हुन्छ। 

आफूले आर्जन गरेको ज्ञानलाई सदुपयोग गर्दै आफूभित्र रहेका विचार, कलालाई समेत प्रयोग गरेर विद्यार्थीले मानिसको जीवनलाई सहज बनाउँदै लगेका छन्। घण्टौँसम्म पीडा सहन नगरिकनै शल्यक्रियाबाट सजिलै बच्चा जन्माउनेदेखि, कृक्रिम रगत बनाउने, सानो फुच्चे मानिसले आफूभन्दा सयौँ गुणा ठूलो जहाज उडाउने, चन्द्रमामा पुगेर घर घडेरी किन्ने, कोसौँ टाढा रहेको सूर्यको प्रकाश, पानीबाट विद्युत् निकाल्ने, रुखबिरुवाबाट कागज बनाएर पुस्तक निकाल्नेजस्ता हजारौँ अचम्मित पार्ने काम विद्यार्थीकै कारण सम्भव भएका छन्। प्रत्येक विद्यार्थीले सिर्जनशील हुनु जरुरी देखिन्छ। नेपालमा महावीर पुनले पनि विद्यार्थीका सिर्जना प्रफुष्टित गर्न कडा मेहनत गरिरहेका छन्।

विद्यार्थीले ज्ञान आर्जन गर्ने क्रममा अनुशानमा रही आफ्ना गुरुले सिकाएका कुरालाई अनुसरण गर्दै अगाडि बढ्न सक्नुपर्छ। तोते बोली बोल्दै ज्ञान आर्जन गर्ने बालबालिकादेखि जुनसुकै उमेरका विद्या आर्जन गर्न तत्पर सबै विद्यार्थी नै हुन्। विद्यार्थीलाई सही मार्गमा डो¥याउन शिक्षकको ठूलो हात हुन्छ। त्यसैले त यसपालिको अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको नारा नै ‘शिक्षाको रूपान्तरण शिक्षकहरूबाट सुरु हुन्छ’ भन्ने राखिएको छ। समय परिवर्तन भएसँगै विद्यार्थीका लागि शिक्षामा पनि आमुल परिवर्तनको खाँचो रहेको कुरा शिक्षकलाई नै सबैभन्दा बढी थाहा हुन्छ। विद्यार्थीका इच्छा, चाहना, रुचिअनुसार एउटा कुशल शिक्षकले विद्या दान गर्न जान्नुपर्छ। सबै विद्यार्थीको सिक्ने शैली, समय तथा तरिका एउटै हुँदैन। यस्ता विषयलाई ध्यानमा राखेर शिक्षकले अध्यापन गर्नुपर्छ। शिक्षकले दिएको ज्ञानलाई विद्यार्थीले आफ्नो जीवनमा उपयोग गर्दै जीवनलाई सहज बनाउन सक्नुपर्छ। समयअनुसार विद्यार्थीले आर्जन गर्ने ज्ञानलाई घोकाइ भन्दा गराइमा बढी बल दिनुपर्छ। विद्यार्थीलाई चम्काउनकै लागि मैनबत्ती जस्तै हरपल आफू बलिरहुनपर्छ शिक्षकले।

सन् १९३९ मा चेक रिपब्लिकका विश्वविद्यालयमा आक्रमण हुँदा नौ जनाले ज्यान गुमाएका थिए भने १२०० विद्यार्थीलाई नियन्त्रणमा लिई क्याम्पहरूमा समेत पठाएका थिए। उनीहरूकै सम्झनामा नोभेम्बर १७ लाई विद्यार्थी दिवसको रूपमा मनाउन थालिएको हो। अहिले पनि विद्या आर्जन गर्न स्कुल, कलेज जाने विद्यार्थीलाई बोको हरामजस्ता समूहहरूले अपहरण, हत्या गर्ने गरेका छन्। अफगानिस्तान जस्ता मुस्लिम देशमा अहिले पनि केटीलाई विद्या आर्जन गर्नैकै लागि स्कुल जानबाट वञ्चित गरिएको छ। देशका विभिन्न स्कुलमा आक्रमण, अपहरण, आगलागीजस्ता दुर्घटनामा परी धेरै विद्यार्थीले कलिलै उमेरमा ज्यान गुमाउने गरेका छन्। रसियाले गरेको आक्रमणका कारण युक्रेनका कयौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ। समयमा स्कुल गएर विद्या आर्जन गर्न नसकेका विद्यार्थीले जीवनमा अनेकौँ कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ। देशकै कर्णधारको रूपमा मानिने विद्यार्थीलाई विद्या आर्जन गर्ने वातावरण बनाउने सबै देशको कर्तव्य हो।

अठार वर्षभन्दा कम उमेरका सबैजसो विद्यार्थी कोमल, कलिला, चञ्चल, सही, गलत छुट्याउन नसक्ने, परनिर्भर समेत हुन्छन्। यसकारण उनीहरूको लालनपालन, पढाइलेखाइ, खेलकुद, सुरक्षा सबै जिम्मेवारी परिवार तथा सरकारले लिएको हुन्छ। बालकका रूपमा एउटा विद्यार्थी आमाको पेटमा आएदेखि नै सिक्न कोसिस गरिरहेको हुन्छ। जन्मेपश्चात् आफैँ श्वास फेर्न सिक्छ, आमाको दूध चुस्न जान्छ, अप्ठेरो हुँदा रुन सिक्छ, खुसी हुँदा हाँस्न सिक्छ। विस्तारै बोल्न तथा हिँड्न पनि सिक्छ। बालक सानै भए पनि उसले प्रत्येक दिन केही न केही नयाँ कुरा सिकिरहेको हुन्छ। यसकारण एउटा बालक विद्यार्थी भएरै जन्म लिन्छ। त्यसैले त आमाको पेटमा रमाइरहेका अबोधको उचित स्वास्थ्य जाँचका लागि सरकारी अस्पतालमा गर्भवती आमाको निशुल्क जाँचलगायत, समयसमयमा भिडियो एक्सरे गराउने आइरन चक्कीजस्ता औषधि निःशुल्क वितरण हुँदै आएका छन्। जन्मेपश्चात् बालबालिकाको काठमाडौँमा रहेको कान्ति बाल अस्पतालजस्तै देशका विभिन्न अस्पतालमा निःशुल्क उपचारसमेत हुने गरेको छ। अझै कतिपय प्रदेशले छोरी जन्मेको खण्डमा विमाको व्यवस्था, बैङ्क खाता खोलिदिने, उच्च शिक्षाका लागि छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएका छन्। सरकारी स्कुलमा कक्षा १० सम्म विद्यार्थीका लागि निःशुल्क पढाइलगायत खाजाको समेत व्यवस्था हुँदै आएको छ। यस्ता सबै क्रियाकलाप अठार वर्षसम्मका विद्यार्थीका पक्षमा हुने गरेका छन्।

कसैले केही नसिकाए पनि चञ्चल, जिद्धी हुनु, लुगा, ऐना, पानी, माटो, ढुङ्गा, गोली, गट्टा, लुकामारी, कुकुर, बिरालो, पाठासँग खेल्नु, आमाबुवाको काँध, पिठ्युमा चढ्नु, घोडा बनाउनु बालसुलभ क्रियाकलाप तथा विद्यार्थीमा अन्तरनिहित कला समेत हुन्। उमेरसँगै अनौठा प्रश्न सोध्नु, खेल्नु, कुद्नु, चकचक गर्नु, घुम्न जानु, कथा भन्नु, सुन्नु, चित्र कोर्नु, उमेरअनुसार शरीरमा विभिन्न परिवर्तन आउनु, गीत गाउनु, कम्प्युटर, मोबाइलमा गेम खेल्न सक्नु विद्यार्थीका राम्रा पक्ष हुन्। यस्ता क्रियाकलाप गर्नाले विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउनुको साथै सिर्जनशील पनि बनाउँछ। विद्यार्थीलाई स्वस्थ तथा तन्दुरस्त राख्नका लागि अभिभावकले उनीहरूको खानपान, खेलकुदको व्यवस्था गर्नुपर्छ भने, समयसमयमा खोप, अतिआवश्यक औषधि उपचार जुटाउने काम सरकारले गर्नुपर्छ।

बाढी, पहिरो, भुइँचालोजस्ता प्रकोपका कारण आमाबुवा अभिभावक, आफन्त गुमाएका विद्यार्थीको सुरक्षा, खानपान, पढाइलेखाइ, बासको व्यवस्था गर्न विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बालसुधार गृह, आमाघर खुलेका छन्। माइती नेपालले पनि बेचिएका, सङ्कटमा परेका बालिकालाई संरक्षण गर्दै उनीहरूको पढाइको व्यवस्थासमेत गर्दै आइरहेको छ। सरकारी तवरबाट अठार वर्षसम्मका विद्यार्थीको हकहितमा काम गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको छ। आवेशमा, अन्जानमा गल्ती गर्ने र उनीहरूको आचरणमा सुधार ल्याउन बालबालिकाका लागि बाल समन्वय समिति, बाल इजलास, बाल सुधार गृहको स्थापना भएको छ। आफन्त गुमाएर सडकमा आइपुगेका बालबालिकालाई अभिभावक खोज्दै जिम्मा लगाउने, वा सुधार गृह पठाउने काममा प्रहरीको सक्रिय भूमिका रहँदै आएको देखिन्छ। तथापि सही गलत छुट्याउन नसक्ने उमेरका बालबालिका रिसको झोकमा वा समस्यामा परेर घर, पढाइ दुइटै छोडी माग्दै हिँडेको समेत देखिन्छ।

सरकारी तथा निजी स्तरबाट बालबालिकाको हकमा विभिन्न व्यवस्था हुँदै आएको भए पनि कतिपय बालबालिका स्कुल जानुको सट्टा अझै पनि घरेलु कामदारको रूपमा कार्यरत छन्। स्कुल पढ्न छोडेर, घरपरिवारका लागि खर्च जुटाउन भन्दै सानै उमेरदेखि होटेल, कलकारखानामा काम गरेको भेटिन्छ। कतिपय बालबालिका स्कुल नगई घरमै बसेको समेत भेटिन्छ भने कतिपयले स्कुल तहको पढाइ नै नसकी स्कुल छोडने गरेको समेत भेटिन्छ। कतिपय विद्यार्थीले समयमा पुस्तक नपाएका गुनासासमेत सुनिने गरिन्छन्। कक्षा आठमा पढ्ने विद्यार्थीले १२ वटा विषय पढ्नुपर्ने बनाइएको छ। यसका लागि उनीहरूले अरू विद्यार्थीभन्दा एक घण्टी बढी पढ्नुपर्छ। जबकी कक्षा ९ र १० मा आठवटा विषय मात्रै पढाउने गरिन्छ। निजी स्कुलका विद्यार्थीलाई उनीहरूले बोक्न नसक्ने पुस्तक भिडाइएको हुन्छ। जबकी अन्तर्राष्ट्रिय मान्यताअनुसार बच्चाले बोक्ने व्यागको तौल उसको शरीरको तौलको १० प्रतिशत मात्रै हुनुपर्छ। विद्यार्थीलाई धेरै पुस्तक भिडाउँदैमा र गृहकार्य दिँदैमा विद्यार्थीको चौतर्फी विकास हुँदैन। अझै पनि दुर्गमका सामुदायिक स्कुलमा पढ्ने कयौँ बालबालिका भुइँमै बसेर पढ्न बाध्य छन्। चुइने छानो, सानो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता, पङ्खा बिनाको तराईको प्रचण्ड गर्मी, न त पुस्तकालय, न प्रयोगशाला, पुस्तक पनि आधा वर्ष बितेपछि मात्रै हातमा पर्ने समस्याबाट ग्रस्त छन् कतिपय विद्यार्थी। यस्ता समस्या, अभिभावक, स्कुल, स्थानीय तह, सरकार सबैले देखेका र बुझेका छन्। वर्षौंदेखि विद्यार्थीहरूले भोग्दै आएका यस्ता पिडा समाधान गर्नतिर कुनै पनि पक्षको खासै ध्यान गएको देखिँदैन। 

आफ्नो मेहनत, समय तथा दिमाग लगाएर देश विकासमा प्रत्यक्ष सहयोग गर्ने विद्यार्थीका लागि स्कुलमा शिक्षकले, घरमा आमाबुवाले तथा घरबाहिर सरकारले उनीहरूका आवश्यकता, सुरक्षा, अधिकार तथा रोजगारीको पूर्ण जिम्मा लिनुपर्छ।