• १६ असार २०८१, आइतबार

परम्परागत परिकारको व्यावसायिक उत्पादन

blog

शिवा तामाङ

खोकना (ललितपुर), मङ्सिर ६ गते । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै गएको खोकनाका बासिन्दाले परम्परागत परिकार योमरी, बारा, चटामरीलाई आम्दानीको स्रोत बनाउन थालेका छन् ।   

ललितपुर महानगरपालिका–२२ स्थित परम्परागत बस्तीका महिलाले समूहमा मिलेर हाल परम्परागत खानाको परिकार बनाउने र त्यसको बिक्रीवितरणबाट मनग्गे आम्दानी गर्न थालेका हुन् । विभिन्न संस्थाले खोकनाका महिलालाई परम्परागत परिकारलाई व्यापारीकरण गर्न तालिम तथा सहयोग गरेपछि सो क्षेत्रका महिलाले क्याफे सञ्चालन गरी परम्परागत परिकार बिक्री गरेर टोल बस्तीमै रोजगारी सिर्जना गरेका हुन् । 

क्याफेका संयोजक अप्सरा डङ्गोलले विशेष अवसर, चाडपर्वमा घरघरमै पकाएर पाहुना, परिवारका सदस्यलाई खुवाउने मीठो परिकार योमरी, चटामरी र बारालाई व्यवसायमा परिवर्तन गरेपछि स्थानीय महिलाले रोजगारी पाउनुका साथै परम्परागत खानाको प्रवर्द्धन पनि भइरहेको बताउनुभयो । विशेष गरी शरीरलाई तातो राख्ने परिकार योमरीको जाडो मौसमका बेला करिब छ महिना अत्यधिक माग आउँछ । अन्य समयमा पनि १५ महिलाले त्यहाँ निरन्तर काम गरिरहनुभएको छ ।   

संयोजक डङ्गोलका अनुसार नेवार समुदायको पनि योमरी पुन्ही (पूर्णिमा) वा विशेष अवसरमा मात्र बनाइने परिकार योमरी हाल भाटभटेनीका विभिन्न शाखा, सेल्स वेज र बिगमार्टमा बिक्रीका लागि क्याफेबाट लैजाने गरिएको छ । नेपाली तथा विदेशी पर्यटकले समेत मन पराएको स्वस्थ खाद्य पदार्थ योमरीको माग हाल विभिन्न संस्थाको कार्यक्रम, बैठक तथा साथीभाइलाई नौलो तथा ताजा खाजा खुवाउने उद्देश्यले माग हुने गरेको उहाँले बताउनुभयो । क्रिसमस, योमरी पूर्णिमाको अवसर तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने महोत्सव, कार्यक्रममा यसको राम्रो व्यापार हुने गरेको छ । 

संयोजक डङ्गोलले भन्नुभयो, “परम्परागत बस्ती खोकना पर्यटकीय स्थल पनि भएकाले सो क्षेत्रमा आउने पर्यटकको टोेलीले योमरी बनाउन सिकेर रमाइलो मान्ने र चाखेर फेरि–फेरि आउने वाचासमेत गर्छन् ।” क्याफेमा योमरी बनाइरहनुभएकी पुनमाया डङ्गोलले जाडो मौसममा भ्याइनभ्याइ काम हुने र अन्य समयमा भने समूहमा आबद्ध महिलाले पालैपालो काम गरेर आयआर्जन गरी घरव्यवहारमा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । 

योमरीका लागि आवश्यक कच्चा पदार्थ पीठोका लागि ताइचिन चामल नै प्रयोग गर्नुपर्ने भएकाले स्थानीय किसानकै उत्पादन प्रयोग गरिने र अन्य सामग्री सक्खर र खुवा पनि गुणस्तर कायम गर्नका लागि निश्चित स्थानबाट खरिद गरी बनाइने गरिएको जानकारी उहाँले दिनुभयो । 

त्यसैगरी शरणमाया महर्जनले परम्परागत खानालाई सफा तरिकाले बनाएर लोगोसहित प्याकिङ गर्र्दै व्यावसायिक रूपमा अगाडि बढ्न प्रेरित गरेपछि रोजगारी खोज्दै टाढा जानुपर्ने समस्या हटेको र आफ्नै टोलमा काम गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । खोकनाका महिलाले नेपाली परम्परागत खाद्य पदार्थलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरेर घरआँगनमै थुप्रैलाई रोजगारी दिई राम्रो आम्दानीसमेत गर्न सकिने उदाहरण दिएका छन् ।