• १८ असार २०८१, मङ्गलबार

उत्पादन र रोजगारसँग जोड्न महिलालाई तालिम

blog

सिलाई कटाई तालिम सिक्दै महिला । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार १६ गते । कावासोती नगरपालिकाले महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । हरेक महिलालाई उत्पादन र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै कावासोती नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम अन्तर्गत महिलालाई ४५ दिने सिलाई कटाई तालिम दिइएको हो ।

कावासोती नगर उपप्रमुख फुलकुमारी थनेतले समाजमा महिला, पुरुषबिच समानता ल्याउन चुलोचौकोमा सीमित रहेका महिलाहरूलाई सीप सिकाई आर्थिक रूपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सिकेका कुराहरूलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरूलाई आग्रह समेत गर्नुभयो । महिलाहरूलाई स्वरोजगार बनाउन यसअघि कृषि, ब्युटिसियन लगायतका तालिमहरू पनि सञ्चालन गरेको उहाँको भनाइ छ ।

कावासोती ६ का सिवानी भुर्तेलले आफूले केही सीप सिकेर उद्यमी बन्न सकौँ भन्ने उद्देश्यले सिलाई कटाइको तालिम लिन आएको बताउनुभयो । आत्मनिर्भर हुन सके सामाजिक र पारिवारिक रूपमा हेर्ने दृष्टिकोणमा फरक आउने साथै परनिर्भरता हट्ने हुनाले यो तालिम सिक्ना पाउँदा खुसी लागेको बताउनुभयो । श्रीमानको भर नपरी आफैले सीप सिकेर व्यवसाय गर्ने सोच रहेको उहाँले बताउनुभयो छ ।

त्यस्तै, कावासोती कै अनुस्का अधिकारीले पनि सिलाइ कटाइको तालिमबाट व्यवसाय के हो कसरी सञ्चालन गर्ने भन्ने कुरा तालिमबाट सिकेको बताउनुभयो । तालिममा बच्चा र महिलाका कपडा लगायतका सामग्रीहरू बनाउन सिकेको अधिकारीले बताउनुभयो ।

महिलाहरूलाई सीप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन, आफैले सीप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिंसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने कावासोती ६ का वडाध्यक्ष यम बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, "महिलालाई कावासोती नगरपालिका र ६ नम्बर वडाले ४५ दिनको सिलाई कटाइको तालिम दिएको हो । पहिलो लेभलको सकिएको छ अब दोस्रो लेवलको तालिम दिन सके सबै डिजाइन अनुसारका सामग्रीहरू बनाउन सक्षम हुनेछन् ।” 

तालिम दिइसकेपछि व्यवहारमा लाग्ने दिनुपर्छ अधुरो दिएर के गर्ने, सिलाई कटाइको दोस्रो तालिम पनि छिट्टै दिने योजना बनाएको उहाँले बताउनुभयो । उद्यमी नहुँदा माग अनुसार पुर्‍याउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । सीपमूलक तालिमहरू सञ्चालन भएपनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरूले पनि सिकेको सीपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।