अहिलेको ‘जेनजी’ पुस्ता आइटी क्षेत्रमा निपुण मानिन्छ । प्रविधिमाथि यो पुस्ताको अधिपत्य स्थापित हुँदै छ भन्दा पनि हुन्छ । प्रविधिको विकास हुँदै गर्दा हामीसँग यतिको सशक्त पुस्ता उपस्थित हुनु आफैँमा सुखद हो । संसारले अब हरेक कुराको जग आइटीलाई बनाउन थालेको छ । यस्तो बेला संसारमा समान उपस्थिति जनाउन सक्ने गरी हाम्रो नयाँ पुस्ता आइदेओस् भन्ने अपेक्षा ‘दाजु–दिदी’ पुस्तामा रहन्छ, रहेको पनि छ । इन्टरनेट प्लेटफर्मको समुचित सदुपयोग गरेर यो पुस्तालाई सभ्य र सिर्जनशील बनाउनेतर्फको योगदान अपेक्षित छ । अहिले हामीले जानेर वा नजानेर प्रयोग गरिरहेको इन्टरनेट प्लेटफर्मसँग आत्तिनुपर्ने अवस्थासमेत देखिन्छ । यसले सामाजिक सद्भाव र सम्मानलाई ध्वस्त त पार्दै छैन ? भन्ने प्रश्न पनि आपसेआप जन्मिरहेको छ । जेनजी पुस्ताले आफ्नो ‘दाजुदिदी’ पुस्ताको यो चिन्ता र त्रासलाई न्यून गर्दै लोकतान्त्रिक चेतका साथ नवीन प्रविधिको उच्चतम सदुपयोगको मार्ग कोर्ने कुरालाई आफ्नो दायित्व ठान्न जरुरी छ ।
अहिले इन्टरनेट प्लेटफर्ममा नागरिकको पहुँच विस्तार भएपछि सामाजिक सञ्जालमा सिङ्गो विश्व नै अभ्यस्त भइरहेको छ । यो सञ्जालको प्रयोग किन र यसको प्रयोगले के हुन्छ ? भन्ने सामान्य कुरा पनि थाहा नपाएरै पनि मानिस यो सञ्जालको प्रयोग गरिरहेका छन् । यसो हुँदा यो सञ्जाल केका लागि ? भनेर प्रश्न पनि उठाउन सकिन्छ । प्रविधिको यो उच्चतम विकास हाम्रो पुस्ताका लागि उपहार हो । यो उपहारलाई सुन्दर ढङ्गले उपयोग गर्नुभन्दा अर्को विकल्प छैन । यी प्लेटफर्मको सदुपयोग गर्न प्रशस्त बहस हुन जरुरी छ । लोकतन्त्रले समाज सधैँ अन्तर्क्रियात्मक होस् भन्ने अपेक्षा गरिरहेको हुन्छ । त्यही सामाजिक अन्तर्क्रियाको निष्कर्षले नै समाजलाई गतिशील बनाउन सक्छ । अन्तर्क्रियाका क्रममा भएका समीक्षाका आधारमा आवश्यकता अनुसार आफूलाई सच्याउँदै अगाडि बढाउन पनि सम्भव हुन्छ । त्यसका लागि ती अन्तर्क्रिया सभ्य, तथ्यमा आधारित अनि सामाजिक सद्भावसहितको एकतालाई प्रवर्धन गर्दै अझै उचाइमा पु¥याउने ढङ्गको हुनु पर्छ ।
सामाजिक सञ्जालको फाइदा धेरै हुन सक्छन् तर अहिले फाइदाभन्दा पनि गलत ढङ्गको उपस्थिति देखिँदै छ । गलत उपस्थितिले त्यहाँ सभ्य बहस हुन सकिरहेका छैन । कुनै पनि प्लेटफर्ममा गलत बहस हुन थाल्यो भने सभ्य र बौद्धिक बहस ओझेलमा पर्छ । अहिले त्यस्तै भइरहेको छ । सभ्य र बौद्धिक मानिस सार्वजनिक चासोका विषयमा धारणा राख्न डराइरहेका छन् । मानिसमा बोल्नै डर लाग्ने अवस्था बन्दै छ । सभ्य बहसको अभावमा समाजले सही धारणा बनाउन सक्दैन । समाज नै दिग्भ्रमित हुने गरी भएरहेको कोलाहलले लोकतन्त्र नै थला पर्ने अवस्था आउँछ । नेपालको लोकतन्त्रले यही नियति भोग्न थालेको आभास हुन लागेको छ ।
प्रविधिको विकास पनि सामाजिक चेतको एउटा उत्कर्ष हो । विकसित प्रविधि अनुसारको समाज हैन, समाजका आधारभूत मान्यताका आधारमा प्रविधिको प्रयोग हुनुपर्ने हुन्छ । विज्ञान पनि यही समाजका लागि हो । समाजको सहजतालाई विज्ञानले सम्बोधन गर्ने हो । यो विषयमा समाजशास्त्री एकमत पनि हुन्छन् । समाजशास्त्री बुनो लाटुर भन्छन्, “विज्ञान पूर्ण रूपमा वस्तुगत नभई समाज निर्माण हो । वैज्ञानिक ज्ञान पनि समाज, राजनीति, प्रविधि र संस्थागत प्रभावबाट बनाइन्छ ।” अर्का समाजशास्त्री रवर्ट मर्टनले वैज्ञानिकका लागि चार सिद्धान्त नै बनाइदिए । सामूहिकता, सन्देहवाद (हरेक दाबी परीक्षणयोग्य हुनुपर्ने), निष्पक्षता (व्यक्तिगत स्वार्थभन्दा माथि), विश्वव्यापकता (जात लिङ्ग, देश आदिबाट प्रभावित नहुने) । त्यस्तै बिपी कोइरालाको विज्ञानबारे बुझाइ पनि त्यत्तिकै सान्दर्भिक छ । उनी भन्छन्, “विज्ञान मानिसको नैतिक निर्णय होस्, विज्ञानलाई कुन दिशामा लैजाने भन्ने नैतिक नियन्त्रणको विषय हो ।” यी सन्दर्भले हामीलाई विज्ञान भनेको समाजका आधारभूत मान्यतालाई थप प्रभावकारी बनाउँदै नयाँ सम्भावनाको ढोका खोल्नेतर्फ उत्प्रेरित गर्ने ज्ञान हो भन्ने सन्देश दिन्छ । विज्ञानको यो महत्वलाई बुझेर नै हामीले नयाँ प्रविधि र अवसरको सदुपयोग गर्ने मार्ग समात्नु पर्छ ।
सामाजिक सञ्जालको प्रयोग अहिले मूलधारका मिडियाप्रतिको विश्वसनीयता भत्काएर आफ्ना एकल वर्चस्व उपस्थित गराउने मनोविज्ञानका आधारमा चलाउने प्रवृत्ति बढ्दो देखिँदै छ । कुनै पनि व्यक्तिले आफूलाई लागेको कुरा अभिव्यक्ति गर्ने प्लेटफर्म हुनबाट सामाजिक सञ्जाललाई कसैले रोक्न सक्दैन । त्यसरी अभिव्यक्त गर्दा अरूको अभिव्यक्तिको आलोचना अनि आफ्ना धारणा मात्र सही भन्ने अभिप्रायःले सञ्जाल भरिएको हुन्छ । अरू सबैलाई गलत देखाउने, इतिहासप्रति घृणा जन्माउने र वर्तमानलाई दुत्कार्ने भनेको भविष्यप्रति कुनै प्रस्ट दृष्टिकोण नभएकाले नै हो । लोकतन्त्रले अपेक्षा गरेको अन्तर्क्रियाले विगतको सरसर्ती समीक्षा, वर्तमानको चित्रण र भविष्यको सम्भावना वा योजनाको खोजी गर्छ । अहिलेको सञ्जाल यस्तो छलफलमा आधारित छैन । आलोचना, आक्रोश, कुण्ठा, सहअस्तित्वको अस्वीकार्यता, अप्रमाणित विषयमा केन्द्रित भएर भइरहेको कोलाहलले सही सूचना र त्यसको विश्लेषणलाई नै मधुरो बनाइरहेको छ ।
यस्तो कोलाहलले अफवाहको बिगबिगी गराउँछ । सत्य किनारा लाग्छ । यस्तो बेलामा तथ्यमा आधारिक सूचना र विश्लेषण गर्ने मिडिया पनि धरमराउने खतरा हुन्छ । अफवाहले दिएको एउटा लयलाई चिर्न गाह्रो हुन्छ । त्यो चिर्नका लागि प्रशस्त प्रमाणको खोजी र अफवाहभन्दा ठुलो आवाज गराउन एक्लै सकिँदैन कि भन्ने त्रास मिडियालाई हुन्छ । यो त्रासले मिडियामा अनुसन्धान गरेर सामग्री उत्पादन गर्ने संस्कृति हराउँदै जाने खतरासमेत हुन्छ । त्यसो हुँदा मूलधारको मिडिया पनि सही धारणा बनाउन समाजलाई योगदान दिने ठाउँमा नहुन सक्छ । यस्तो बेला मिथ्याको थुतुनो मात्र चल्छ । यो अहिलेको अवस्था हो । प्रविधिमाथि अधिपत्य जमाउँदै गएको जेनजी पुस्ताका लागि यो ठुलो चुनौती, अवसर र सही ट्र्याकमा ल्याउने दायित्व हो ।
नयाँ पुस्ताले अझ प्रखर रूपमा लोकतान्त्रिक पद्धतिले अपेक्षा गरे जस्तो अन्तर्क्रियात्मक समाज निर्माण गर्न आइटी प्लेटफर्मलाई प्रस्तुत गर्ने दायित्व जेनजी पुस्ताको हो । यो पुस्ता प्राविधिक रूपमा मात्र हैन, ‘कन्टेन्ट’ र ‘कल्चर’ निर्माणका सन्दर्भमा पनि अब्बल हुन जरुरी छ । जेनजी पुस्ता के कुरामा स्पष्ट हुन जरुरी हुन्छ भने प्रेस स्वतन्त्रता र ‘डिजिटल राइट’ दुवै एकै सिक्काका दुई पाटा हुन् । लोकतान्त्रिक पद्धतिको अभावमा यो सिक्का नै हराउने छ ।
यो अवसरको सदुपयोग गर्नुपर्नेमा एकथरी मूलधारको मिडियालाई कमजोर बनाएर सूचनामा एकाधिकार लाद्ने मानसिकताले काम गरिरहेको पनि देखिन्छ । प्रेस स्वतन्त्रतासँग आत्तिएर आक्रमण गर्न चाहने स्वार्थ समूह, सत्तामा रहेकाको मानसिकतामा प्रकट हुने तानाशाही सोच र नवलोकप्रियतावादले इन्टरनेटलाई आफ्ना एकाधिकार जन्माउने र मूलधारको मिडियालाई कमजोर बनाउने चाहना राखेर काम गरिरहेको देखिन्छ । पत्रकार महासङ्घको तथ्याङ्क अनुसार अङ्ग्रेजी महिनाको मे ४ देखि हालसम्म २६ भन्दा बढी प्रेस स्वतन्त्रताका घटना घटाइसकेका छन् । लोकतान्त्रिक मान्यताभन्दा बाहिर गएर बनेका विधेयक एकपछि अर्को संसद्मा पुगेका छन् । सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई सरोकारवालाले यस्तै आलोचना गरिरहेका छन् । नवलोकप्रियतावादीले मिडियाका कन्टेन्टलाई हास्यको विषय, आलोचना बनाएर बिनातथ्यका आरोप लगाउँदै सूचनामा एकाधिकार स्थापित गर्न भरमग्दुर प्रयत्न गरिरहेका छन् । उनीहरू मिडियाले गर्ने तर्क र बहसलाई समेत निरुत्साहित गर्ने गरी गालीगलौजमा उत्रिरहेका छन् । जसले गर्दा स्वस्थ्य बहस चाहने र बहस गर्न सक्ने बौद्धिक वर्ग आलोचनाबाट टाढा बसेर मौनता साँधिरहेको छ । यी सबै अवस्थाले मूलधारका मिडियामाथि आक्रमण मात्र भइरहेको छैन, नागरिकले नयाँ धारणा निर्माणका लागि आवश्यक पर्ने तथ्यमा आधारित सूचना प्राप्त गर्ने प्रक्रियालाई समेत अलमल्याइदिरहेको छ । यो लोकतन्त्रले अपेक्षा गर्ने सामाजिक अन्तर्क्रियालाई ध्वस्त बनाउने मार्गमा उन्मुख अवस्था हो । समाजले गलत सूचनाका आधारमा गलत धारणा बनायो भने त्यो समाजका लागि घातक रोग साबित हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवस (वैशाख २०, २०८२) को सन्देशमा भन्नुभएको छ, “पत्रकारिताले मात्र अफवाह तोड्न सक्ने र सत्य सञ्चार गर्न सक्ने शक्ति राख्छ ।” निश्चय नै अब पत्रकारिताका माध्यमबाट यो अफवाहलाई चिर्ने अभियानको थालनी हुनु पर्छ । अस्वस्थ्यकर बहसलाई निरुत्साहित गर्ने नवीन संस्कृतिउन्मुख बहसमा आइटीको समुचित उपयोग गर्ने बाटोमा हिँड्ने सबैलाई मिडियाले प्रोत्साहन गर्न सक्नु पर्छ । जेनजी पुस्ताको आइटीमाथिको अधिपत्य अब पत्रकारितासँग पनि सहकार्यको आयाममा जोडिनु पर्छ । निर्भीकतापूर्वक तथ्यका आधारमा सही सूचनाका साथ प्रस्तुत हुने मिडिया र ती तथ्यको विश्वसनीयता जाँच गरी पुस्ट्याइँ गर्न सक्ने जेनजी पुस्ताको अग्रसरता जरुरी छ । यसो हुन थाल्यो भने बहुअपेक्षित ‘मिडिया लिट्रेसी’ पनि नागरिक तहमा पुग्छ ।
महात्मा गान्धीले मिडियालाई समाजका लागि सत्य बोल्ने र जनतालाई सशक्त पार्ने शान्तिपूर्ण माध्यम भनेका छन् । उनका अनुसार मिडिया आफैँमा एक सत्याग्रह हो । त्यसै गरी बिपी कोइरालाले मिडियालाई राष्ट्र निर्माणको एउटा औजार ठाने, जसले सामाजिक न्याय, स्वतन्त्रता र लोकतन्त्रलाई संरक्षण गर्न सक्छ । यो महत्व बोकेको मिडियामाथिको लगातारको आक्रमणले आज पत्रकारिता मात्र कमजोर हुँदै छैन, महत्वपूर्ण आन्दोलन, त्यसका उपलब्धि र सम्भावना पनि कमजोर बन्दै गएका छन्, समाज पछाडि धकेलिँदै छ । मिडियालाई सबैतिरबाट प्रहार गरेर सूचनामा एकाधिकार मात्र जन्माउने चाहना देखिन्छ । यसो हुनु भनेको विडम्बना हो । यो चाहना लोकतान्त्रिक हुनै सक्दैन । मिडियामाथि प्रहार गर्नु भनेको तानाशाही प्रवृत्तिलाई स्वागत गर्नु हो । सबैले बुझ्ने कुरा के हो भने प्रेस कमजोर वा नियन्त्रित भयो भने शासक अधिनायक बन्छन् ।
राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा मिडिया हाउसमा सेना पठाएका ताजा उदाहरण त हामीसँगै छ । मिडियाको निरन्तरको दायित्व त छँदै छ, त्योभन्दा अझ बढी अग्रसरता लिँदै सामाजिक सञ्जालका असभ्य र अफवाह उन्मुख बहसलाई निरुत्साहित गरी जेनजी पुस्ताको लोकतान्त्रिक चेतसहितको अग्रसरता अहिलेको अपरिहार्य आवश्यकता हो । जसले मात्र सद्भावपूर्ण बहस र अन्तर्क्रियाका माध्यमबाट लोकतन्त्रलाई नयाँ र युग सुहाउँदो गति दिन सक्छ । होइन भने, प्राविधिक लोकतन्त्रको नाममा अधिनायकवादी सोच भएकाको तानाशाही अभ्यासले मुलुकलाई झनै पछाडि धकेल्ने निश्चित छ ।