• २० साउन २०८२, मङ्गलबार

हायू परिवार वडाध्यक्षकै घरमा बस्ने

blog

पोखराबाट घर फर्किनुअघि गोलन्जोर-६, का वडाध्यक्ष रविनकुमार श्रेष्ठसँग हायु परिवार । तस्बिर : गोरखापत्र

बाबुराम देवकोटा/सिन्धुली

फडिन्द्र अधिकारी/लेखनाथ

साउन २० गते । नेपाली उखान छ– ऋण लागोस् तर दिन नलागोस् । उखानमा गरिएको कामना उर्मिला हायूको जीवनमा लागु भएन । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६, भन्डास बिप्परकटेरी बस्ने हायू परिवारलाई ऋण त पहिल्यैदेखि थियो, तीन वर्षअघि एक्कासि कठिन दिन आइपुग्यो । घरबाट सम्पर्कविहीन उर्मिलाका श्रीमान्को पछि हाडखोर भेटियो, मृत्युका कारण खुलेन ।

१६ जनाको परिवारको गर्जो टार्दै आउनुभएकी उर्मिला बारम्बार छोराछोरी बिरामी पर्न थालेपछि आत्तिनुभयो । विदेश गएका छोरासमेत फर्किएका बेला घर छाड्ने सल्लाह भयो । एकलासमा घर भएको हायू परिवारले साउन ९ गते राति १ बजेतिर गाउँ छाड्यो । छिमेकीले प्रहरीमा खबर गरिदिएपछि देशभर खैलाबैला भयो । अन्ततः उनीहरू गएको ११ गते पोखरामा भेटिए । 

सुरक्षा निकायका प्रतिनिधिसँग हायू परिवारले कुनै हालतमा गाउँ नफर्किने अडान राखे पनि १४ गते यो परिवारलाई फर्काउन गाडी नै रिजर्भ गरी गोलन्जोर–६ का वडाध्यक्ष रवीनकुमार श्रेष्ठसहितको टोली पोखरा पुग्यो । टोलीसँग पनि हायू परिवारले पोखरामै ज्यालादारी गरेर खाने, गाउँ नजाने अडान राखेका थिए । तर वडाध्यक्ष श्रेष्ठले सम्झाइबुझाई गरेपछि उक्त परिवार गाउँ फर्किएको छ । 

वडाध्यक्ष श्रेष्ठले अहिलेलाई हायू परिवारलाई गोलन्जोर–६ को आफ्नै घरमा राख्ने निर्णय गर्नुभएको छ । “घरमा जाँदैनौँ भन्नुभएको छ । अहिलेलाई मेरै घरमा राख्छु,” सोमबार उक्त परिवारलाई सिन्धुलीका लागि गाडी चढाएपछि उहाँले भन्नुभयो, “पछि कतै सुरक्षित जग्गा खोजेर घर बनाइदिन्छौँ ।” गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्कर बराल पनि पालिकाले हायू परिवारलाई स्थापित गर्न यथाशक्य सहयोग गर्ने बताउनुहुन्छ । “उहाँहरूको समस्या राम्ररी बुझ्छौँ, जे जे गर्नुपर्ने हो, जे जे गर्न सकिन्छ । त्यसमा पालिका पछि हट्दैन ।” हायू परिवारले बैङ्कको ७५ हजार र व्यक्तिको डेढ लाख हाराहारी ऋण भएको जनाएको छ । जनप्रतिनिधिले हायू परिवारका सदस्यलाई रोजगारी र ऋणसमेत तिरिदिने प्रतिबद्धता गरेपछि हायू परिवार गाउँ फर्किएको हो । छ छोरा, छ छोरीसहितको उर्मिलाको परिवारका आधा जति सदस्य स्कुल जाने उमेरका छन् । उर्मिलाका जेठा छोरा राजु टाढा स्कुल हुँदा परिवारका सदस्यलाई पढाउन र बिरामी परिरहेकाले गाउँ छाडेको जनाउँदै जनप्रतिनिधिले साथ दिने भएपछि गाउँ फर्किएको बताउनुहुन्छ । उहाँले अध्यक्ष श्रेष्ठको अनुरोधमा आफूहरू फर्किएको जानकारी दिँदै उहाँको प्रतिबद्धता पूरा भए गाउँमै बस्ने बताउनुभयो । “आमा त पुरानो वासस्थानमा फर्कन मान्नुभएको छैन,” उहाँले भन्नुभयो, “हामीले धेरै सम्झायौँ । त्यसपछि वडाध्यक्षलाई फोन गरेर पोखरा बोलायौँ ।” गोलन्जोर–६ मा ५० घर जति हायूको बसोवास छ । २०७८ सालको जनगणना अनुसार नेपालमा हायूको जनसङ्ख्या तीन हजार ६९ छ । 

पोखराबाट सिन्धुलीसम्म लाग्ने सबै खर्च आफैँले बेहोरेको बताउनुभएको छ । श्रेष्ठले भन्नुभयो, “उहाँहरूलाई मुग्लिङसम्म जाऔँ, त्यसपछि अर्को गाडीमा जाउँला भनेको मान्नु भएन । त्यसपछि मैले सिन्धुलीबाट आफ्नै गाडी (इभी) झिकाएँ ।” गाउँ आएपछि उहाँहरूको पालनपोषणका लागि वडा र स्थानीयले सहयोग उपलब्ध गराउने तयारी भएको पनि उहाँको भनाइ छ ।