• १८ असार २०८१, मङ्गलबार

राजमार्गमै रोपियो धान

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार १६ गते । राष्ट्रिय धान दिवसमा देशभर रोपाइँसहित अनेक रचनात्मक कार्यक्रम भए । पोखरा महानगर–१ मा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा भने फरक कार्यक्रम भयो । लोकमार्गको हरिचोकदेखि याम्दीसम्मको सडक स्तरोन्नतिको काम साह्रै सुस्त भएपछि स्थानीयले सडकमै धान रोपे । 

बिहान ८:३० देखि १० बजेसम्म याम्दी पुलदेखि जौबारीसम्मको सडकमा रहेका हिलाम्मे खाल्टाखुल्टीमा स्थानीयले रोपाइँ गरेका हुन् । स्वतस्फूर्त आएका स्थानीयले सडक निर्माणको गति बढाउन दबाब दिने खालका प्लेकार्डसमेत बोकेका थिए । पोखरा–२५ का बासिन्दा प्रकाश त्रिपाठी सडक खुला गरी करिब डेढ घण्टा राजमार्गमै धान रोपेर रचनात्मक तवरले विरोध गरेको बताउनुहुन्छ ।

अहिले रचनात्मक र साङ्केतिक तवरले विरोध गरिएको जनाउँदै उहाँले काममा गति नदेखिए दोस्रो चरणमा कडा विरोधका कार्यक्रम गरी दबाब दिइने उल्लेख गर्नुभयो । पोखरा–१ का वडाध्यक्ष सहारा प्रधान सडक निर्माण ढिलो हुँदा स्थानीय र यो मार्ग हुँदै हिड्ने यात्रुले ठुलो सास्ती बेहोर्नु 

परेको बताउनुहुन्छ ।प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायी, आयोजनाका प्रतिनिधिसहित बारम्बार बैठक बसी काममा तीव्रता दिने पहल गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बारम्बार पहल गरेका छौँ । सिडिओसहित चार पटक बैठक बसियो तर निर्माण कम्पनीले रकम लिन बाँकी छ भनी कामै ढिलो गरिरहेको छ ।”

यो सडकखण्डको दुवैतिर छ लेनका सडक छन् । जिरो किलोमिटरदेखि हरिचोकसम्म र हेमजा फेदीदेखि याम्दीसम्म छ लेनका सडक छन् । बिचको सडक स्तरोन्नतिको गति कछुवा जस्तो हुँदा स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । हिउँदमा धुलो र बर्खामा हिलोको मार छ । 

मध्यपहाडी राजमार्ग योजना कार्यालय पर्वतका आयोजना प्रमुख शम्भु आचार्य यो सडकखण्डको काम ढिलो भए पनि अब गति लिने बताउनुहुन्छ । दुई हजार दुई सय मिटर लामो यो सडकखण्ड निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको छ । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । 

यो खण्डको भौतिक प्रगति करिब ४० प्रतिशत छ । आगामी चैतसम्म ठेक्का अवधि रहेको सडक स्तरोन्नति आगामी दसैँसम्म सक्ने योजना रहेको आयोजना प्रमुख आचार्य बताउनुहुन्छ । पछिल्लो समय कामले गति लिएको दाबी गर्दै उहाँले अपेक्षा अनुरूप भने काम हुन नसकेको जनाउनुभयो । 

उहाँ भन्नुहुन्छ, “वर्षामा कालोपत्रे गर्न मिलेन । अरू कामलाई तीव्रता दिएर दसैँसम्म सक्ने प्रतिबद्धता निर्माण कम्पनीको छ । यसको दुवै खण्डमा छ लेनका नमुना सडक छन् । बिचको बाटो चाँडै बन्नुपर्ने ठानिनु अस्वाभाविक होइन ।”पर्यटन राजधानी पोखरा जोड्ने दुई राजमार्ग अहिले एकैसाथ स्तरोन्नति भइरहेका छन् । पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गको हरिचोकदेखि याम्दीसम्मको सडकको काम दुवैको गति धिमा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय उडान सुरु नहुनु र राजमार्ग पनि सकसपूर्ण हुँदा पर्यटन क्षेत्रले ठुलो घाटा बेहोर्नुपर्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “हामीले गएको चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा ग¥यौँ । पोखरा प्रवेश गर्ने राजमार्गको अवस्था नै राम्रो नहुँदा पर्यटन क्षेत्रमा राम्रो सन्देश जाँदैन ।” पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षभरि १५ लाख पर्यटक भित्र्याउने योजना छ ।