• १८ असार २०८१, मङ्गलबार

जङ्गलमा खोजिदै फुट्की

blog

बसन्ता वनमा फुट्की खोज्दै सर्वसाधारण । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १५ गते । जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति फुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा फुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।

गोलो डल्ला आकारको यो हुने गर्दछ । जमिनमा उम्रिने फुट्की स्वादिलो र प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने तरकारी मानिन्छ । वर्षमा एक सिजन मात्र हुने फुट्की खोज्नका लागि कैलालीको बसन्ता वन (बर्का बनुवाँ) मा अहिले मान्छेको चहलपहल छ । 


एकातिर रोपाइँको चटारो छ । वनमा फुट्की उम्रेपछि किसान आफ्नो रोपाइँको कामसमेत स्थगित गरेर फुट्की खोज्न जाने गरेका छन् । मिठो र पौष्टिक भएका कारण कामधन्दा रोकेर  फुट्की खोज्नेगरेको वनमा भेटिनु भएका कैलारी गाउँपालिका –१ डम्मराका आशाराम चौधरीले बताउनुभयो । 

वन आसपासका स्थानीय मात्र नभइ टाढा गाउँका मानिस पनि फुट्की खोज्न वन पुगिरहेका छन् । दिनभरी खोजेर कतिपयले प्रतिकेजी आठसय रुपियाँमा फुट्की बेचेर आम्दानी पनि गरिरहेको स्थानीयले जनाएका छन् । फुट्की बढीमा एक, डेढ हप्तासम्म मात्र वनमा उम्रिने गर्दछ ।