• १८ असार २०८१, मङ्गलबार

कैलारीमा ११ कक्षाका लागि विद्यार्थी अभाव हुन सक्ने

blog

कैलारी गाउँपालिकाको कार्यालय । तस्बिर : फाइल

अविनाश चौधरी

धनगढी, असार १६ गते । कक्षा १२ सम्म पठनपाठन हुने पाँच वटा विद्यालय रहेको कैलारी गाउँपालिकामा ८.५८ प्रतिशत विद्यार्थीमात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका छन् । 

नौ सामुदायिक विद्यालयबाट एसइई दिएका ५१५ जना विद्यार्थीमध्ये जम्मा ४४ जनामात्रै उत्तीर्ण भएका हुन ।  ९१.४५ प्रतिशत अर्थात् ४७१ जना विद्यार्थी परीक्षामा असफल भएका छन् । कक्षा ११ को पठनपाठन हुने विद्यालयका नतिजासमेत सन्तोषजनक छैन । एउटा विद्यालय त निल नै भएको छ । वडा नम्बर ७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट परीक्षा दिएका एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका हुन् ।  

पालिकामा कक्षा १२ सम्म पठनपाठन गराउने जनकल्याण माध्यमिक विद्यालयबाट चार, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरबाट चार र जनता मावि गदरियाबाट पाँच जना विद्यार्थीमात्रै एसइई उत्तीर्ण भएका छन् । यसैगरी, दीपेन्द्र माध्यमिक विद्यालय हसुलिया र राष्ट्रिय मावि बिचैपुरबाट १४/१४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

ग्रेड वृद्धि परीक्षामा पनि यस्तै नतिजा आए कक्षा ११ को पठनपाठनमा समस्या हुने कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश मिश्रले बताउनुभयो । उहाँले नतिजा सुधार गर्न नसकेका विद्यालयहरुको कक्षा घटुवा गरिने उल्लेख गर्नुभयो । 

बढी विद्यार्थी असफल भएका विषयहरुको हकमा कोचिङ कक्षाको व्यवस्था गाउँपालिकाले नै गर्न आवश्यक रहेको स्थानीय रेबन्त बोहराले जोड दिनुभयो । गाउँपालिकामा शिक्षा क्षेत्रका लागि तीन करोडसम्म बजेट रहने गरेको भन्दै उहाँले केही बजेट छुट्याएर कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने औंल्याउनुभयो । बोहराले अहिलेको नतिजाले कैलारीमा १२ सम्म पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो ।