• १८ असार २०८१, मङ्गलबार

टी-२० विश्वकपमा भारत च्याम्पियन

blog

दक्षिण अफ्रिकालाई हराएपछि भारतका खेलाडी ।

बार्बाडोस, असार १६ गते । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।

बार्बाडोसमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । 

जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्लासेन हेनरिकले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै क्वीटन डि ककले ३९, त्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन जोड्नुभयो ।

बलिङमा भारतका हार्दिक पाण्डेयले तीन विकेट लिनुभयो । अर्सदिप सिंह र जसप्रित बुमराहले दुई दुई तथा अक्षर पटेलले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिनुभयो । मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट झार्नुभयो ।

पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाको उपाधि जित्ने सपना पूरा भएन । भारत र दक्षिण अफ्रिका अपराजित रहदै  फाइनलमा पुगेका थिए । 

अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको यस विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो पटक विश्वकप खेलेको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले यसअघि बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको विश्वकप खेलेको थियो ।

यसैबिच भारतलाई टी-२० विश्वकप जिताएपछि विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा समेत गर्नुभएको छ ।

उहाँले नयाँ पुस्तालाई अगाडि बढाउन आफुले सन्यासको घोषणा गरेको समेत उल्लेख गर्नुभएको छ । छैटौँ पटक टी-२० विश्वकप खेल्नुभएका विराटको यो पहिलो विश्वकप उपाधि हो ।