• १८ असार २०८१, मङ्गलबार

जुनारको पकेट क्षेत्रमा सिँचाइ पोखरी निर्माण

blog

जुनारको पकेट क्षेत्र सिन्धुलीको गोलन्जोर गाँउपालिका–४ तीनकन्यामा निर्माण गरिएको सिँचाइ पाखेरी । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असार १६ गते । सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुख्खा मौसम जुनारका बिरुवालाई सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको हो । 

यो सहित जुनारको पकेट क्षेत्रमा तीन वर्ष भित्रमा एक सय ५७ वटा पोखरी निर्माण भएको परियोजनाले जनाएको छ । गोलान्जोर गाउँपालिका–५ बिजयछाप निवासी बिना हायुले गत चैत महिनामा आफ्नो ५० प्रतिशत लगानी र सुपर जोनको ५० प्रतिशत अनुदानमा छ मिटर लम्बाई र ३ मिटर चौडाइको सिँचाइ पोखरी बनाउनुभएको छ । करिब पाँच रोपनी जमिनमा गरेको जुनार खेतीलाई सुख्खा मौसममा सिँचाइ गर्न उक्त पोखरी बनाएको उहाँले बताउनुभयो ।

पोखरी बनाउन दुई लाख ४६ हजार आठ सय रुपियाँ लागेको र त्यसमा आफ्नो लगानी एक लाख २३ हजार चार सय रुपियाँ परेको उहाँले सुनाउनुभयो। त्यसो त जुनार किसान हायुले झण्डै १० वर्षदेखि व्यावसायिक रूपमा जुनार खेती गर्दै आउनुभएको छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४ तीन कन्या निवासी निरबहादुर मगरले पनि १६ घन मिटर पानी अट्ने सिँचाइ पोखरी भर्खरै बनाउनुभएको छ । उहाँले भन्नुभयो, "करिब चार रोपनी जमिनमा हुर्कँदै गरेका जुनारका बिरुवा जोगाउन प्राविधिक स्टमेट अनुसार पोखरी बनाएको छु । सिँचाइको अभावमा लामो खडेरी जाँदा सुख्खा मौसम जुनारका बिरुवा मर्ने भएकोले सिँचाइ पोखरी निर्माणसँगै धेरै सजिलो भएको छ ।"

सिँचाइ पोखरी निर्माणमा खटिनु भएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलीप कार्कीका अनुसार यस वर्ष सुपर जोन कार्यक्रम लागू भएको ठाउँमा पाँच बाई चार क्षमता र एक मिटर उचाइको ४५ वटा सिँचाइ पोखरी निर्माण भएको छ । सबै पोखरी सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा निर्माण भएका पनि उहाँले बताउनुभयो।

जुनार सुपरेजोनको ५० प्रतिशत अनुदानमा नै गत आर्थिक वर्षहरू ०७८-०७९ मा ६७ वटा, ०७९-०८० मा ४५ वटा र चालु आर्थिक वर्ष ०८०-०८१ मा ४५ वटा पोखरी जुनार पकेट क्षेत्रमा निर्माण भइसकेका छन् ।

प्राविधिक कार्कीले भन्नुभयो, "हामीले दिने अनुदानमा किसानले पनि कम्तीमा त्यति नै रकम थप्नु पर्ने र अझ बढी लगानी गरी झन् ठुलो पोखरी पनि बनाएका छन् ।" यो वर्ष निर्माण गरेका सिँचाइ पोखरीमध्ये सुनकोसी गाउँपालिका ७ मझुवामा दुई वटा, गोलन्जोर गाउँपालिका १ मा दुई वटा, २ मा छ वटा, ३ मा चार वटा, ४ मा १९ वटा, ५ मा १० वटा र ६ मा दुई वटा निर्माण भएको जुनार सुपरजोन परियोजनाले जनाएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउँपालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउँ“पालिका–७ र सुनकोशी गाउँपालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले दश हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ । गएको सिजनमा जिल्लामा जुनार उत्पादन नौ हजार पाँच सय मेट्रिकटन भएको परियोजनाले जनाएको छ ।