• ११ मंसिर २०८१, मङ्गलबार

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

blog

हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै । तस्वीर : नरेन्द्र ढकाल,गोरखा

नरेन्द्र ढकाल

गोरखा, मंसिर ५ गते । हेलिकप्टर मार्फत उत्तरी गोरखाको मतपेटिका ढुवानी गरिएको छ । सोमबार अपराह्न नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले जानकारी दिनुभयो । 

हिमालपारिको चुमनुब्री गाउँपालिकाको ७ वटा वडाका २२ वटा बुथमा मतदान गरिएका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । त्यहाँ खटिएका मतदान अधिकृतसहित मतपेटिका र बढी भएका मतपेटिकासमेत सदरमुकाम ल्याइएको छ । 

सडक सञ्जाल नपुगेको चुमनुब्रीका वडाहरूमा पुग्न ३ दिनदेखि एक सातासम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ल्याएको हो । निर्वाचन गराउनका लागि कर्मचारी भने हिँडेरै चुमनुब्री पुगेका थिए । 

चुमनुब्रीका सबै मतपेटिका आएसँगै गोरखा १ को मतपेटिका ढुवानी सकिएको छ । अब छिटै सर्वदलीय बैठक गरेर मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले जानकारी दिनुभयो । सो क्षेत्रको मतगणना जिल्ला समन्वय समितिको भवनमा हुने छ ।