रामकृष्ण बोहोरा
बागलुङ, असार २३ गते । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह सिकार गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार यस वर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष दुई सय साठी लिटर मह काढिएको थियो ।
घर्तीले भन्नुभयो, “जलवायु परिवर्तनको असरले हो कि यस वर्ष मह उत्पादन घट्यो । भिरमहको सिकारमा स्थानीय ६० जना सहभागी रहेका थिए । परम्परागत रूपमा भिरमहको सिकार हुँदै आए पनि यसलाई व्यावसायिक बनाउने घर्तीले योजना सुनाउनुभयो ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी एक वर्ष मह उत्पादन बढ्ने अर्को वर्ष घट्यो भने त्यसलाई जलवायु परिवर्तनको अवसर भन्न नमिल्ने बताउनुभयो । पन्थीले भन्नुभयो, “माहुरीलाई मह बनाउन आवश्यक पर्ने पानी र फूल चाहिन्छ । महका लागि अनुकूल समयमा पानी नपर्ने र फूल नफुल्दा मह उत्पादन घट्न सक्छ ।”
मह निकालेपछि सिकारमा संलग्न र अरू सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो ।
यस वर्ष मह कम हुँदा समूहमा नराखी काम अनुसार बाँडफाँट गरिएको घर्तीले बताउनुभयो । एक लिटर महलाई एक हजार पाँच सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । औषधीजन्य गुण र स्वास्थ्यवर्धक मानिने हुँदा उपभोक्ताले पनि खोजी खोजी भिरमह प्रयोग गर्छन् ।
ताराखोलाले ग्रामीण पर्यटन प्रवर्धनमा भिरमहलाई जोड्ने योजना बनाएको अध्यक्ष धनबहादुर विकले बताउनुभयो । साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको विकको बुझाइ छ ।