• ८ वैशाख २०८१, शनिबार

विश्वकप २०२२ समूह विश्लेषण

blog

कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्य देखिन्छ। 

कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।  

समूह “ए”

सन् २०१० मा प्रतियोगिता आयोजक भएर पनि समूह चरण पार गर्न नसक्ने पहिलो टिमका रूपमा विश्वकपको इतिहासमा नाम लेखाउने दक्षिण अफ्रिकाकै नियति यस पटक कतारले बेहोर्ने हो कि होइन, यसमा समेत फुटबल पण्डितहरूले दिमाग खियाउँदै छन्। विश्वकपको तयारीमा कतारको तयारी भने कम छैन। उसले गत वर्ष गोल्डकपमा सहभागिता जनाएर आफ्नो शक्ति परीक्षण ग¥यो, त्यसपछि आफ्ना क्लबलाई मैत्री खेलमा खेलाएको छ। सन् २०२१ म भएका गोल्डकप र अरब कपमा कतारले सेमिफाइनलसम्मको यात्रा तय गरे पनि सन् २०१९ मा सम्पन्न एसिया कप जितेको थियो। यस कारण कतारले आफूलाई तयारी अवस्थामा राखेको छ । समूह ‘ए’ बाट अगाडि बढ्ने विश्वासमा कतार छ। 

यस समूहमा रहेको हल्यान्डलाई मुख्य दाबेदार मानिएको छ। सेनेगल र इक्वेडरमा उन्नाइस बीसको अन्तर देखिन्छ। हल्यान्डले यूईएफए नेसन्स लिगमा पाँच खेलमा जित र एक खेलमा पराजय बेहोरेको थियो। उसले बेल्जियमलाई दुई पटक हरायो तथा वेल्स, पोल्यान्ड पनि रहेको समूहमा विजेता बन्यो। यी चारै टिम विश्वकपमा छन्।  

सन् २००२ मा सनसनी मच्चाउँदै सेनेगल समूह चरणबाट अगाडि बढेको थियो र उसले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको मात्र एक वर्ष भएको छ।  


समूह “बी” 

समूह ‘बी’ मा इङ्ग्ल्यान्ड र अमेरिका दाबेदार देखिन्छन्। तर यी टिमका समर्थक ढुक्क हुन सकेका छैनन्। यूईएफए नेसन्स लिगमा इङ्ग्ल्यान्डको जित बराबरी–हारको अवस्था ०–३–३ रहेको थियो र गत मार्च यता इङ्ग्ल्यान्डले जितको स्वाद चाख्न पाएको छैन। घरेलु मैदानमा हङ्गेरीद्वारा ४–० ले पराजित हुनु इङ्ग्ल्यान्डलाई पुगेको सबैभन्दा गहिरो आघात मान्न सकिन्छ। तैपनि इङ्ग्ल्यान्ड समूह चरणबाट अगाडि बढ्ने सम्भावना जीवित नै छ।

यसबीच अमेरिकाले आफूले खेलेका पछिल्ला पाँच खेलमा मात्र एक गोल गर्न सक्नु तथा एल साल्भाडोरसँग समेत १–१ ले बराबरीमा रोकिनु उसका समर्थकलाई झस्काइरहने तथ्य हुन्। हालै मात्र जापानद्वारा अमेरिका २–० ले पराजित भयो भने साउदी अरबसँग गोलरहित बराबरीमा रोकियो। यी दुवै टिम पनि विश्वकपका प्रतिद्वन्द्वी हुन् तर अमेरिकाले कतारमा राम्रो खेल्नेछ, उसका समर्थकमा आशाको दियो निभेको छैन। 

समूहबाट शीर्ष दुई टिमले अगाडि बढ्न पाउने र विश्वास गरिएका दुई टिमको हालैको कमजोर प्रदर्शनका आधारमा इरान र वेल्सले आफ्नो अवसर देखेका छन्। सन् १९५८ मा क्वाटरफाइनलसमम यात्रा गरेको वेल्स त्यसपछि पहिलो पटक विश्वकपमा खेल्दैछ। इरानले भने पटक पटक खेलेको भए पनि समूह चरण कहिल्यै पार गर्न सकेको छैन र विश्वकपमा अहिलेसम्म मात्र दुई खेल जितेको छ। जसमध्ये एक खेलमा त उसले सन् १९९८ मा अमेरिकालाई पछारेको थियो।

 

समूह “सी” 

अर्जेन्टिना वर्षौंपछि एक बलियो र सङ्गठित टिमका रूपमा देखिएको छ। लियोनेल मेसीले दनादन गोल गरिरहेका छन् र उनको साथमा रहेको टिम पूर्णतया सङ्गठित छ। अर्जेन्टिनाले सन् २०२१ म कोपा अमेरिका जित्यो तर विश्वकप छनोट प्रतियोगितामा पराजयको मुख देखेन। वास्तवमा सन् २०१९ देखि अर्जेन्टिना अपराजित छ। विश्वकपको समूह चरणमा सफलता पाउँदै अर्जेन्टिनाले सर्वाधिक ३७ खेलमा अजेय रहेर इटालीले बनाएको कीर्तिमान भङ्ग गर्न सक्छ। 

समूह ‘सी’ मा अर्जेन्टिनासँगै रहेको मेक्सिको राम्रा दिन देखेर कतार आएको छैन। छनोट प्रतियोगितामा एकपछि अर्को झट्का उसले खाएको थियो। कोलम्बियाले हालै मात्र उसलाई ३–२ ले पराजित ग¥यो, यस खेलमा उसको प्रदर्शनमा खासै सुधार देखिएन। पूर्वार्धमा २–० ले अगाडि बढेर पनि मेक्सिको हारेको थियो। समूहमा अर्को प्रतिस्पर्धी टिम पोल्यान्ड सन् १९८६ पछि समूह चरणबाट अगाडि बढेको छैन र मेक्सिको विरुद्ध उसको पहिलो खेलले सकभर यी दुईमध्ये कुन टिम अगाडि बढ्ने हो निर्णय गर्नेछ।  


समूह “डी” 

अन्य समूहभन्दा फ्रान्स, डेनमार्क, अस्ट्रेलिया र ट्युनिसिया रहेको समूह ‘डी’ को नतिजा अनुमान गर्न सजिलो छ। स्पष्ट रूपमा फ्रान्स यस समूहको दाबेदार हो भने डेनमार्क दोस्रो हुने देखिन्छ। तर पछिल्ला तीन विश्वकपका विजेताले समूह चरणबाटै घर फर्कनु परेको कटु सत्य छ। फ्रान्सले के फेरि सन् २००२ को जस्तो मार खेप्नु पर्ला ? सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनी उपाधि रक्षा गर्न आउँदा पहिलो चरणमै चिप्लिएको तथ्यले फ्रान्सलाई मानसिक दबाब भने पक्कै दिनेछ। नेसन्स लिगमा फ्रान्सको प्रभावशाली प्रदर्शन थिएन। उसले मात्र एक खेल जित्न सक्यो र डेनमार्कद्वारा दुई पटक पराजय बेहोरेको थियो। 

ट्युनिसिया अहिलेसम्म समूह चरणबाट उम्केको छैन र अस्ट्रेलियाले एक पटक सन् २००६ मा नकआउट चरणमा प्रवेश गरेको थियो। तर सन् २०१४ र २०१८ मा अस्ट्रेलियाले एक खेल पनि जित्न सकेन। 


समूह “ई” 

स्पेन र जर्मनी रहेको समूह ‘ई’ मा समेत शीर्ष दुई स्थानमा रहने टिम छुट्याउन अन्य समूह जस्तो अल्मलिनु पर्ने अवस्था देखिँदैन। स्पेन र जर्मनी प्रवल दाबेदार हुन्। तर माथि नै उल्लेख गरियो दुवैले गत विजेता भएर पनि समूह चरणमा मार खाएका थिए। यी तथ्यलाई बिर्सनुचाहिँ हुँदैन। नेसन्स लिगको सेमिफाइनलमा स्पेन पुगेको थियो तर घरेलु मैदानमा स्विट्जरल्यान्डद्वारा उसले पराजय खेप्यो। उता जर्मनीले आफूले खेलेका पछिल्ला सात खेलमा मात्र एक पटक जितको मुख देखेको तथा लगातार पाँच खेलमा बराबरीमा रोकिनुपरेको थियो। 

यी दुई टिमसँग जापानको कुनै इतिहास छैन। तैपनि एउटा तथ्य के छ भने जापान पछिल्ला पाँच विश्वकपमा तीन पटक समूह चरण पार गर्न सफल भएको छ। जापानको खेलाडी सूचीमा ठूला नाम नभए पनि युरोपका विभिन्न लिगमा खेल्ने खेलाडीको जमात भने छ। सन् २०१४ मा क्वाटरफाइनलसम्म पुग्ने जस्तो टिम कोस्टारिकासँग छैन। अन्तर्राष्ट्रिय प्लेअफमा पुगेर कोस्टारिकाले विश्वकपको टिकट पाएको हो र उसले यस पटक प्रिक्वाटरफाइनलमा पुग्न कठिन सङ्घर्ष गर्नुपर्नेछ।  


समूह “एफ” 

आफ्नो स्वर्णिम पुस्ताका खेलाडीद्वारा बेल्जियमले विश्वकप जित्न सक्छ कि उसको स्वर्णिम अवसर सकिएको हो ? बेल्जियमको खेलमा फुटबलप्रेमीले यही उत्तर खोज्नेछन्। गत विश्वकपको सेमिफाइनलमा बेल्जियमको चुनौती फ्रान्सका अगाडि निस्तेज भएको थियो भने पछिल्लो युरोपमा उसलाई क्वाटरफाइनलबाट इटालीले बिदा गरेको थियो। केभिन डु ब्रुयन, रोमेलो लुकाकु र एडेन हजार्डका दिन सकिएका हुन् वा बेल्जियमले तिनको साथ अझै पाउने छ, समूह एफले त्यसको झलक देखाउनेछ। 

गत उपविजेता क्रोसिया पनि बेल्जियमको समूहमा छ। पछिल्लो विश्वकप जस्तो तेज क्रोसियाको टिममा देखिँदैन तर क्रोसिया नेसन्स लिगको समूह विजेता हो, जसमा डेनमार्क र फ्रान्स पनि थिए।  

मोरक्को र क्यानडाले युरोपेली टिमलाई चित पारेर समूह पार गरेमा ठूलो आश्चर्य हुनेछ। मोरक्को एक पटक मात्र समूह चरणबाट अगाडि बढेको छ, सन् १९८६ को विश्वकपमा। यसअघि एक पटक मात्र सोही वर्ष विश्वकपमा पुगेको क्यानडा तीनवटै खेलमा पराजित भएको थियो र उसले एक गोल पनि गर्न सकेको थिएन। हालैको प्रदर्शनलाई हेर्दा क्यानडाले कतारमाथि २–० ले जित हासिल गरेको थियो तर युरोपमा खेलेका दुई मैत्री खेलमा उरुग्वेद्वारा सोही अन्तरले क्यानडा पराजित हुन पुग्यो। 


समूह “जी” 

समूह ‘जी’ मा ब्राजिल प्रमुख दाबेदार हो र प्रतियोगिताको पनि। तैपनि सर्विया र स्विट्जरल्यान्ड कम आँक्न मिल्ने टिमचाहिँ होइनन्। ब्राजिलले समूह चरण पार गर्न नसकेको पछिल्लो घटना सन् १९६६ मा भएको थियो, जतिबेला प्रतियोगितामा १६ टिम मात्र थिए। अर्को तथ्य पनि छ, ब्राजिलले पछिल्ला सात विश्वकपमा कम्तीमा पनि क्वाटरफाइनलसम्मको यात्रा गरेको छ। 

यस समूहमा बढी विविधता छैन। सन् २०१८ को विश्वकपमा समेत ब्राजिल, सर्विया र स्विट्जरल्यान्ड एकै समूह ‘ई’ मा थिए। जुनबेला ब्राजिलले दुई खेलमा जित र एकमा हार बेहोरेर समूहमा शीर्ष स्थान हासिल गरेको थियो। साथै सर्वियाभन्दा अगाडि रहेर अगाडि बढ्न सफल भएको स्विट्जरल्यान्डले हालै मात्र मैत्री खेलमा स्पेनलाई हराएको छ । 

सन् २०१० र २०१४ मा क्यामरुनले आफ्नो समूहमा तीनवटै खेलमा मात खाएकाले उसलाई यस समूहमा ठूलो चुनौतीका रूपमा हेरिएको छैन। सन् १९९० मा क्वाटरफाइनलसम्म पुगेको क्यामरुन हालसालै उज्वेकिस्तान र दक्षिण कोरियाद्वारा पराजित भएको छ।  


समूह “एच” 

क्रिस्टियानो रोनाल्डोसमक्ष विश्वकप जित्ने अन्तिम अवसर छ र उनको टिम पोर्चुगल आफ्नो समूह ‘एच’मा मुख्य दाबेदार देखिन्छ। विश्वकप नै जित्ने गरी पोर्चुगललाई त्यति भाउ दिइएको चाहिँ छैन। पछिल्लो पटक पोर्चुगल आफ्नो समूह विजेता सन् २००६ मा भएको थियो र उसले सेमिफाइनलमा समेत खेल्यो।      

पछिल्ला तीन विश्वकपमा उरुग्वेले नकआउट चरणमा स्थान बनाएको छ तथा यस पटक लुइस सुवारेज र डार्बिन नुनेजको आक्रमण विपक्षीको टाउको दुखाई हुनेछ। यस समूहको अर्को टिम घानाले सन् २००६ मा प्रिक्वाटरफाइनल र सन् २०१० मा क्वाटरफाइनलसम्म यात्रा गरेर केही सम्मान हासिल गरेको थियो तर सन् २०१४ उसले एक खेल पनि जित्न सकेन । सन् २०१८ मा त छनोट हुनसमेत असफल भएको थियो । निकारागुआ र मडागास्करमाथि जित हासिल गरेकाले मात्र घाना यस पटक विश्वकपमा छ।