• २२ वैशाख २०८१, शनिबार

पाँच बुँदामा कतार विश्वकप

blog

कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो।

मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो। 

सर्वाधिक खर्चिलो विश्वकप

यस विश्वकपको अर्को चाखलाग्दो पक्ष के हो भने कतारले आयोजना अधिकार पाएदेखि आयोजना खर्चका विषयमा सबै सीमा पार ग¥यो। सुरुको अनुमानित खर्चमा बारम्बार संशोधन गर्नु प¥यो। कतारले विश्वकपको पूर्वाधार तयारीमै दुई सय अर्ब अमेरिकी डलर जति खर्च गरेको अनुमान छ। वातानुकूलित रङ्गशाला, अत्याधुनिक सडक, होटललगायतका पूर्वाधारमा कतारले ठूलो रकम खर्च गरेको छ। जसका कारण यो अहिलेसम्मकै सर्वाधिक खर्चिलो विश्वकप भएको छ।

थोरै रङ्गशाला

प्रतियोगिताका खेल आयोजना गरिने रङ्गशालाको न्यून सङ्ख्या सुनेर तपाईं चित पर्न सक्नुहुन्छ। मात्र आठ रङ्गशालामा विश्वकपका खेल खेलाइने छन्। विश्वकपको इतिहासमा हालैका संस्करणको तुलनामा कतारका रङ्गशाला थोरै हुन्। प्रतियोगिताको खेल सञ्चालन गर्न चयन गरिएका आठ रङ्गशालामध्ये मात्र एकलाई पुनः निर्माण गरिएको हो भने बाँकी सात रङ्गशाला नितान्त नवनिर्मित हुन्। 

सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप आयोजना गर्दा मात्र छ रङ्गशाला प्रयोग गरेको थियो र यस हिसाबमा कतार दुई रङ्गशालाले अगाडि देखिन्छ। 

चुस्त आवागमन

विश्वको एक सानो देश हो कतार। सन् २०१८ मा विश्वकप आयोजक रुसभन्दा त यो देश धेरै नै सानो छ। सानो देश भएर पनि कतारमा एक स्थानबाट अर्को स्थानमा आवागमन गर्न धेरै समस्या हुँदैन।   

आयोजक सहरहरू दोहा, लुसेल, अल वक्राह र अल रायन एकअर्कासँग जोडिएकै अवस्थामा छन्। यस कारण एउटा रङ्गशालाबाट अर्को रङ्गशालामा जान त्यति झन्झटिलो हुनेछैन। 

अर्को चाखलाग्दो कुरा के छ भने कतारमा सबैभन्दा टाढा रहेका दुई रङ्गशाला अल बेत र अल वक्राहबीचको दूरी पनि मात्र एक सय ४४ किलोमिटर रहेको छ। 

वातानुकूलित रङ्गशाला

कतार विश्वकपको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसका सबै रङ्गशाला वातानुकूलित हुनु हो। दिउँसो निकै गर्मी हुने कतारमा कसरी विश्वकपका खेल खेलाउन सकिन्छ भनी सुरुबाट कुरा उठ्ने गरेको थियो तर कतारले आफ्ना सबै रङ्गशालालाई वातानुकूलित बनाएर आफ्नो प्रतिबद्धता पूरा गरेको छ। 

रङ्गशालामा गर्मीको प्रभाव पर्न नदिन कतारले इतिहासमा पहिलो पटक विश्वकपका खेल वातानुकूलित वातावरणमा खेलाउने छ। सबै आठ रङ्गशाला पूर्णतया वातानुकूलित छन्। 

एसियामा दोस्रो आयोजक

मध्यपूर्वमा विश्वकप आयोजना गर्ने कतार पहिलो देश मात्र होइन एसियाको दोस्रो राष्ट्र पनि हो। एसियामा विश्वकप दोस्रो पटक आयोजना हुँदैछ र त्यो गौरव कतारलाई प्राप्त छ। सन् २००६ मा एसियाली खेल सञ्चालन गरेको अनुभव कतारसँग छ। 

कतारभन्दा पहिले सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा एसियाको पहिलो विश्वकप फुटबल आयोजना गरेका थिए।   

–युवामञ्च