• ५ वैशाख २०८१, बुधबार

यस्तो छ, विश्वकप फुटबलको इतिहास

blog

पहिलो विश्वकपमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरहरु : फिफा

काठमाडौं, मङ्सिर ३ गते । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप’ को २२औँ संस्करण आइतबार रातिदेखि एसियाली देश कतारमा सुरु हुँदैछ । एक महिना चल्ने विश्वकपमा विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय ११ देशबाट छनोट भएर आएका ३२ टोलीले आफ्नो फुटबल कला प्रदर्शन गर्दैछन् ।

सहभागी ३२ वटै टोलीको एउटै उद्देश्य विश्वकपको ट्रफी उचाल्नु हुनेछ । आयोजकको हिसाबले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको कतार पनि आफूलाई आयोजकसँगै उपाधिको हिस्साका रुपमा प्रस्तुत गर्दैछ ।

विश्वकपले २१औँ संस्करण पार गर्दा एसियाली मुलुकले दोस्रो पटक विश्वकप आयोजनाको अवसर पाएको हो । यसअघि सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेका थिए । 

विश्वकपको लोकप्रियतासँगै यसको थालनीको कथा पनि रोचक छ । विश्वकपको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) सँग जोडिएको छ । फिफाको कथा भने विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घको इतिहास र विकाससँग जोडिएको पाइन्छ  । 



सन् १८६६ मा पहिलो पटक राष्ट्रिय फुटबल सङ्घ ‘इङ्गल्यान्ड फुटबल एसोसिएसन’ (एफए) गठन भयो । केही वर्षपछि अन्य देशमा पनि धमाधम फुटबलको राष्ट्रिय सङ्घ स्थापना भए । फुटबल खेल र राष्ट्रिय सङ्घको विस्तार हुँदै गएपछि एउटा अन्तर्राष्ट्रिय फुटबल सङ्घको आवश्यकता महसुस गरियो ।

यही खाँचोलाई निकास दिन फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्क, स्पेन, स्विडेन र स्विजरल्यान्डगरी सात देशका प्रतिनिधिहरू फ्रान्सको पेरिसमा भेला भए । सोही भेलाले सन् १९०४ मे २९ का दिन फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ( फिफा) को औपचारिक गठन गरेको थियो ।

इङ्गल्यान्ड त्यसको दुई वर्षपछि फिफाको सदस्य बन्यो ।  त्यसपछि बिस्तारै अन्य देशले फिफाको सदस्यता लिने क्रम बढ्दै गयो । यो क्रम अहिले पनि जारी छ । हाल विश्वका दुई सय ११ देश फिफाको सदस्य छन् । नेपालले सन् १९७० मा फिफाको पूर्ण सदस्यता पाएको थियो । 

विश्वकप फुटबलको थालनी भने आधुनिक ओलम्पिक खेलकुद प्रतियोगिताको सुरुवात सँगै भएको हो । सन् १९०० मा भएको दोस्रो ओलम्पिक गेम्समा पहिलो पटक फुटबल खेल समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफाका सदस्य राष्ट्र र यसका पदाधिकारीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई ओलम्पिकको घेरामा मात्र समिति राख्न नहुने निष्कर्ष निकाले ।

तर, त्यो छलफलको क्रम वर्षौँसम्म चलिरह्यो । अन्ततः सन् १९२८ मे २६ मा बसेको फिफा कांग्रेसले फुटबलको छुट्टै ठूलो प्रतियोगिता आयोजन गर्ने निर्णय गर्‍यो । फिफाले हरेक चार वर्षमा आफ्ना सदस्य देशहरुबीच विश्वकप फुटबल प्रतियोगिता आयोजनाको थालनी गर्ने निर्णय गरेको थियो । 

जुन युगान्तकारी निर्णय थियो । सन् १९२९ को बार्सिलोना फिफा कांग्रेसमा विश्वकप आयोजनाको जिम्मेवारी उरुग्वेलाई प्रदान गरियो । उरुग्वेले आयोजनाको अधिकार पाएको पहिलो विश्वकप सन् १९३० जुलाई १३ देखि ३० तारिखसम्म गरिने निचोड निकालियो । 

पहिलो संस्करणमै थामिनसक्नु दर्शक

उरुग्वेको राजधानी मोन्टेभिडियोमा सन् १९३० को जुलाई १३ मा फ्रान्स र मेक्सिकोबीच विश्वकपको पहिलो औपचारिक उद्घाटन खेल भएको थियो । एक लाख दर्शक अट्ने नवनिर्मित रङ्गशाला ‘स्टेडियम देल सेन्टेनारियो’ मा भएको विश्वकपको पहिलो संस्करणमै दर्शकको उपस्थिति थामिनसक्नु भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशको सङ्ख्या जम्मा ४१ थियो । त्यो बेला छनोट चरण प्रतियोगिता भएको थिएन । तसर्थ पहिलो विश्व कपमा १३ देशले भाग लिएका थिए । फाइनलमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो । 


दोस्रो विश्वकपमा सहभागी देशको सङ्ख्या धेरै भएकोले उनीहरूबीच छनोट प्रतियोगिता गराइएको थियो । छनोट चरण पार गरेका १६ टोली फाइनल चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच फाइनल प्रतिस्पर्धा गराइने क्रम जारी रह्यो ।

बिस्तारै सदस्य सङ्ख्या र खेलको स्तर बढ्दै गएकोले सन् १९८२ को १२औंं विश्वकपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइएको । विश्वकपमा भाग लिन चाहने देशको सङ्ख्या झनै बढ्न थालेपछि सन् १९९८ को १६औँ संस्करणदेखि विश्वकप फाइनल चरणका लागि छनोट हुने देशको सङ्ख्या ३२ पुर्‍याइएको हो । कतारमा आइतबारबाट सुरु हुने यस २२औँ संस्करणसम्म सहभागी सङ्ख्या ३२ नै रहनेछ ।

सहभागी सङ्ख्या बढ्दाको बहस 

फिफाले सन् २०२६ को विश्वकप फुटबलमा सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय यसअघि नै गरिसकेको छ । फिफाको यस निर्णयलाई विश्व भरका फुटबल समर्थकले दूरगामी प्रभाव पार्ने निर्णयको रुपमा चर्चा गरेका छन् । 

यसअघि फाइनलमा पुग्ने ३२ टोलीलाई आठ समूहमा विभाजन गरिँदै आइएको थियो । सहभागी सङ्ख्या बढेपछि अब सुरुमा तीन तीन टोली सम्मिलित १६ समूहमा प्रारम्भिक प्रतिस्पर्धा हुनेछ । त्यसपछि मात्र अन्य चरणका खेल हुनेछन् । यस्तोमा एउटै संस्करणको विश्वकपमा ८० खेल हुनेछन् । यसले विश्वकप चल्ने दिन पनि स्वतः बढ्नेछ ।


फिफाको यस निर्णयलाई लिएर ठूला वादविवाद र बहससमेत भइरहेको छ । कतिपय देशले खुलेर यसको समर्थन गरेका छन् भने कतिले विरोध गरिरहेको अवस्था छ । विरोध गर्नेमा युरोप र दक्षिण अमेरिकी देशहरू अगाडि छन् । उनीहरूको तर्क छ, ‘‘विश्व कपमा सहभागी टोली बढाउनु यसको गुणस्तर खस्किनु हो । अब्बल दर्जाको फुटबल स्तर नभएका देश पनि विश्वकपमा छनोट हुनेछन् । यसले विश्वकपको स्तरलाई कमजोर बनाउनेछ ।’’

विश्व फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका युरोप र दक्षिण अमेरिकी देशहरू वास्तवमै पारम्परिक फुटबल चाहन्छन् । ताकि उनीहरूको आफ्नो प्रभाव नघटोस् । मुख्यगरी युरोपका प्रमुख ठूला र धनी क्लब फिफाको निर्णयविरुद्धमा छन् ।

विश्वकप लामो समय चल्दा युरोपका क्लब फुटबलमा असर पर्ने र आफ्ना खेलाडी गुमाउनु पर्ने त्रास उनीहरूमा छ । कतारले आयोजनाको अधिकार पाएपछि विश्वकप गर्मी मुलुक कतारमा गरिनु हुन्न भन्नेमा देशहरूमा पनि युरोप र दक्षिण अमेरिकी देश अगाडि थिए । यसअघि जुन जुलाईमा हुँदै आएको विश्वकप कतारमा नोभेम्बर र डिसेम्बरमा गर्दा युरोप र दक्षिण अमेरिकी व्यावसायिक लिग र तालिकालाई असर पर्ने उनीहरूको तर्क थियो । 

एसिया र अफ्रिकी देश उत्साहित 

विश्वकपमा टोली बढाउने फिफाको निर्णयले एसिया र अफ्रिकी देशहरूलाई भने खुसी बनाएको छ । सहभागी सङ्ख्या बढ्दा एसिया र अफ्रिकाले धेरै टोली पाउने सम्भावना बढ्छ । त्यसपछि धेरैले विश्वकप मेरो पनि हो भनेर स्वामित्व लिने फुटबल विश्लेषकहरूको ठहर छ ।

जनसङ्ख्या र भूगोलको दृष्टिले पनि एसिया र अफ्रिका अपार छ । अझ पछिल्लो समय एसिया र अफ्रिकन फुटबलको स्तर धेरै माथि गएको छ । अहिले विश्व फुटबलको सबैभन्दा ठूलो व्यापार केन्द्र एसिया भएको छ । त्यसमा चीन र भारत अगाडि आएका छन् । 

विश्वकपमा अहिले एसियाबाट आयोजक कतारसहित जापान, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र साउदी अरब गरी ६ देशको सहभागिता छ । कतारले आयोजकको हिसाबले सहभागिता सुनिश्चित गरेको हो । फिफाले अर्को संस्करणबाट एसियाको केटा बढाएर नौ र अफ्रिकाबाट १० टोलीको सहभागिता सुनिश्चित गरेको छ । यसपटक अफ्रिकाबाट क्यामरोन, मोरोक्को, ट्युनिसिया, घाना र सेनेगल गरी पाँच टोलीको सहभागिता छ । 


एसियाको कोटा बढेसँगै आर्थिक वृद्धिले माथि रहेका र जनसङ्ख्याको हिसाबले समेत अब्बल विश्वका दुई ठूला देश चीन र भारतले समेत विश्वकपमा आँखा लगाइरहेको अवस्था छ । चीन अघिल्लो विश्वकपको सर्वाधिक ठूलो प्रायोजक देश थियो । 

फुटबलका पण्डितहरू फुटबलले आफूलाई विश्वको खेल भएको दाबी गर्छ भने यो खेल भारत र चीनमा पनि पुग्नुपर्ने धारणा राखिरहेका छन् । यही सेरोफेरोमा चीन र भारतले फुटबलकाे स्तर माथि उकास्न ठूलो आर्थिक लगानी गरिरहेका छन् । 

युरोप तथा अमेरिकी फुटबलरको व्यावसायिक गन्तव्यसमेत अहिले चीन र भारतीय फुटबल क्लब बन्न थालेको छ । यसले विश्वकपमा भारत र चीनको सम्भावनाको ढोका बिस्तारै खुलेको बुझ्न सकिन्छ ।

युरोपको सानो टुक्रो आइसल्यान्ड जस्तो देशले विश्वकप फुटबल खेलिसकेको अवस्थामा सहभागी सङ्ख्या बढाउँदा दक्षिण एसियाको सानो मुलुक नेपाल र भुटानले समेत विश्वकप सहभागिताको सपना देख्ने ठाउँ पैदा भएको छ । 

एसियाली सानो देश कतारलाई विश्वकपको रापले तताउँदै गर्दा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने अर्को विश्वकपमा सहभागी देशको सङ्ख्या ४८ पुर्‍याउने  फिफाको निर्णयले नेपाल जस्ता धेरै देशलाई खुसी तुल्याएको छ । 

उपाधि चुम्ने आठ देश मात्र 

विश्वकप फुटबलले २१औँ संस्करण पूरा गर्दा आठ देशले मात्र उपाधि चुमेका छन् । दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल भएन । विश्वकप उपाधि जित्नेमा ब्राजिल सबैभन्दा सफल टोली हो ।

ब्राजिलले पाँच पटक उपाधि चुमेको छ । ब्राजिलले सन् १९५८, सन् १९६२, १९७०, १९९४ र २००२ को उपाधि जितेको थियो । ब्राजिल २२औँ संस्करणसम्म सबै विश्वकप खेल्ने एक्लो टोली पनि हो ।ब्राजिलपछि जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई तथा इङ्गल्यान्ड र स्पेनले एक एक पटक उपाधिको स्वाद चाखेका छन् ।


जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ को विश्वकप जितेको थियो । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा उपाधि चुमेको थियो । चार पटकको विजेता इटाली यसपटक छनोट चरणबाटै बाहिरियो । 

यस्तै उरुग्वेले सन् १९३० र १९५०, अर्जेन्टिनाले सन् १९७८ र १९८६ तथा फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको थियो । इङ्गल्यान्ड सन् १९६६ र स्पेन २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । 


हालसम्म १३ देशले विश्वकप फाइनल खेलेका छन् । आठ देश विजेता बन्दा बन्दा चेकोस्लोभाकिया, हंगेरी, स्विडेन, नेदरल्याण्ड्स र क्रोएसिया फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भए । एजेन्सीको सहयोगमा