• २३ पुस २०८२, बुधबार

टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल

blog

आइसिसी टी–२० विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : विकास द्वारे

काठमाडौँ, पुस २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो । 

आयोजित विश्व कप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।”

राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पनि बताउनुभयो । 

नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त  गर्नुभयो ।

नेपालमा तीन दिन ट्रफी टुर 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा राष्ट्रपति कार्यलयबाट सुरु भएको ट्रफी टुरको थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । क्यानकाअनुसार ट्रफी मङ्गलबार पोखरा लगिने र मङ्गलबारनै काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी गरिनेछ ।

यस्तै बुधबार दिउँसो बौद्धनाथ स्तूप परिषरमा प्रदर्शनी गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो ।

आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिने छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै  नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए ।

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।