• १८ वैशाख २०८३, शुक्रबार

ललितपुरमा दुई लाख ६९ हजार मतदाता : ७४ उम्मेदवार

blog

सांकेतिक तस्बिर

ललितपुर, माघ ८ गते।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्।  जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन्।  यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  तीमध्ये तीन महिला उम्मेदवार रहेका छन्। 

ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन्।  यस क्षेत्रमा १६ जना राजनीतिक दलबाट र सात स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  यहाँ महिला उम्मेदवारको सङ्ख्या दुई जना मात्र रहेको छ। 

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन्।  यस क्षेत्रमा कूल २३ जनाको उम्मेदवारी दर्ता भएको छ।  तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात स्वतन्त्र उम्मेदवार रहेका छन्।  यस क्षेत्रबाट पाँच महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन्।  निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ।