• ७ वैशाख २०८१, शुक्रबार

नेपाललाई एकदिवसीय सिरिज उपाधि

blog

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमार्डौं, मङ्सिर २ गते । ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । 


जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराउँदै सिरिज जित्ने सम्भावना कायम राखेको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ । 


जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाउनुभयो । एक सय १९ बलको सामना गर्नुभएका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेल्नुभएको हो । आशिफ ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । 


ज्ञानेन्द्र मल्लले ६४ रन बनाउनुभयो । मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा अर्धशतकीय रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १० रन बनाउनुभयो । ओपनर अर्जुन साउद नौ रनमा आउट हुनुभएको थियो । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाउनुभयो । १७ वर्षीय अलराउन्डर आयान  ‘प्लेयर अफ दि सिरिज’ बन्नुभयो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 


यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाउनुभयो । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो । 


नेपालले आईसीसी लिग डिभिजन-२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।


यूएईविरुद्ध नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान),  आसिफ शेख,  अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हरिशङ्कर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।