• १६ चैत २०८०, शुक्रबार

कतार विश्वकप फुटबल

श्रमिकको गुम्सिएको पीडा

blog

काठमाडौँ, मङ्सिर २ गते  । कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । 

प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन । रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिक/कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन । 

निर्मलाका २४ वर्षे श्रीमान्ले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाउनुभयो । सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिनुभएका निर्मलाका श्रीमान्ले कतार गएको १० महिनामै जीवन गुमाउनुभयो । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो न भनेको काम थियो न तलब नै । ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमान्को मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ, अर्को दिनको दिउँसो त मृत्युको खबर आयो,” निर्मलाले भन्नुभयो ।

रोजगारदाता कम्पनीले शवसँग पठाएको रिपोर्टमा मृत्युको कारण प्राकृतिक भनिएको छ । रोग नभएको मान्छेको कसरी प्राकृतिक मृत्यु हुन्छ, प्रतिप्रश्न गर्दै निर्मलाले भन्नुभयो, “संसारभरिबाट खेलाडी आउने रङ्गशाला निर्माणमा श्रीमान्को मृत्यु भयो । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।” 

कतारमा विश्वकप फुटबल सुरु हुनै लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उहाँले अहिलेसम्म क्षतिपूर्ति पाउनुभएको छैन । 

निर्मलाका श्रीमान्जस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । 

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ । उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ), कतारले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनमा कतार सरकारले रङ्गशाला निर्माणमा खटिएका श्रमिकको मृत्युको कारण ७० प्रतिशत चित्तबुझ्दो नभएको उल्लेख छ । प्रतिवेदनअनुसार रङ्गशाला निर्माणका क्रममा मृत्यु भएका श्रमिकको मृत्युको कारण अनुसन्धान भएको देखिँदैन । 

सो प्रतिवेदनअनुसार काम गर्ने क्रममा उचाइबाट खस्ने, निर्माणका क्रममा सामान खसेर लागेर र सडक दुर्घटना कारण मृत्यु हुने गरेको तर प्राकृतिक मृत्यु भनेर क्षतिपूर्ति दिनबाट वञ्चित गरिएको छ । यो प्रतिवेदनले पनि निर्मलाको भनाइलाई पुष्टि गर्ने बलियो आधार बन्छ ।  

रङ्गशाला निर्माणमा अधिकांश नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्काका श्रमिकले काम गरे । आईएलओले आफ्नो प्रतिवेदनमार्फत भनेको छ, “रङ्गशाला निर्माणमा काम गर्नेमध्ये लगभग दुई तिहाइ गम्भीर व्यावसायिक चोट र तीन चौथाइ हल्कादेखि मध्यम व्यावसायिक चोटले यी तीन देशका श्रमिकलाई असर गरेको छ ।” 

कतार रङ्गशाला निर्माणमा कार्यरत श्रमिकको अवस्था नजिकबाट नियाल्दै आउनुभएका मानव अधिकारकर्मी रामेश्वर नेपालले कतारको रङ्गशालामा कार्यरत आप्रवासी अधिकांश श्रमिकको उच्च तापक्रम, कामको प्रेसर, खानपानको बेथितिका कारण मृत्यु हुने गरेको पाइएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार सन् २०१० देखि अहिलेसम्म कतारमा मात्रै ११ लाख नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । अधिकांश रङ्गशाला निर्माण, सडक र ठूलो होटल निर्माणमा गएका छन् । 

कतारको दोहामा हुने उक्त प्रतियोगिताका लागि ३२ देशका खेलाडी सहभागी रहनेछन् । कतारमा आठवटा ठूला उच्चस्तरीय खेलमैदान तयार भएका छन् ।