• १५ चैत २०८०, बिहिबार

‘साहित्य क्षेत्रबाट मलाई सन्तुष्टि मिलेको छ’

blog

बालपत्रिका ‘मुना’ को स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’का लागि यस पटक हामीले काभ्रे जिल्ला, महेन्द्रज्योति गाविस  (हाल : बनेपा नगरपालिका)मा जन्मनुभएका साहित्यकार अनन्त वाग्लेसँग प्रज्ञाकुञ्ज मावि बानेश्वरकी छात्रा वर्षा न्यौपानेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार अनन्त वाग्लेवर्षा न्यौपानेबीचको रमाइलो संवाद : 

तपाईंको बाल्यकालको समय कस्तो थियो ? 

मेरो बाल्यकाल काभ्रेको बनेपा नगरपालिका १२ नं. वडामा बित्यो । म जन्मे हुर्केको गाउँको नाम बाँसडोल हो । म त्यहाँको किसान परिवारमा, परिवेशमा सुखदुःख भोग्दै, किसानी काममा परिवारलाई सघाउँदै हुर्केको हुँ ।


त्यति बेला बालबालिकाले कसरी समय बिताउँथे ?

त्यति बेला गाउँमा धेरैजसो परिवार कृषक हुने हुनाले मुख्य पेसा खेतीपाती र  पशुपालन हुन्थ्यो बालबालिकाहरूले पनि खेती किसानीमा संलग्न भएर समय बिताउनु पथ्र्यो । छोरी मान्छेलाई  स्कुल पठाउने चलन त्यति चलिसकेको थिएन । अलि बुझेका परिवारले मात्र छोरीलाई स्कुल पठाउँथे । त्यसैले मेरो बाल्यकालमा मेरो गाउँमा राजधानी नजिकै भएर पनि बत्तीमुनिको अँध्यारोजस्तो खालको परिवेश थियो । 

स्कुल जान अहिलेको जस्तो सजिलो थियो कि थिएन त ?

अहिले जस्तो सजिलो थिएन । अनि हाम्रो पनि स्कुल घरबाट टाढा थियो । एउटा स्कुल मेरो घरबाट नजिकै त थियो तर त्यहाँ पुग्न पनि आधा घण्टा लाग्थ्यो । अर्को चाहिँ अलि राम्रो स्कुल थियो । त्यहाँ पुग्न १ घण्टा लाग्थ्यो । त्यतिबेला स्कुलहरू नजिकै थिएनन् । सरकारी स्कुल मात्र हुन्थे । 

किताबहरू प्नि माथिल्लो कक्षामा पास भएका ठूला दाइदिदीहरूसँग मागेर वा आधा मूल्यमा किनेर काम चलाइन्थ्यो । जुत्ताचप्पल नलगाई खाली खुट्टै पनि धेरै पटक स्कुल गइन्थ्यो । स्कुलमा खाजा खाने भन्ने त कुरै हुँदैनथ्यो ।


तपाईं कति वर्षको उमेरमा स्कुल जानुभयो ?

त्यो बेलाको स्कुल जाने उमेर पनि अलि धेरै नै हुन्थ्यो किनभने पाँच वर्षको बच्चाले त हिँड्नै नसक्ने टाढा हुन्थ्यो स्कुल । मेरो पढाइ पनि आठ वर्ष भएपछि मात्रै सुरु भयो ।


सुरुमा स्कुल पढ्दाका सम्झनाहरू केही छन् ? 

त्यस्ता सम्झना धेरै छन् । म स्कुल नजाँदै घरमै मलाई दाइले अक्षर लेख्न सिकाउनुभएको थियो । म पहिलो पटक स्कुल जाँदा कक्षामा बस्ने मेचहरू देखेको  थिएँ । मैले चक पनि त्यहीँ पहिलो पटक देखेँ । मलाई ती कुरा अहिले जस्तै लाग्छ ।


त्यस बेलाका बालबालिकाले पढ्ने साहित्यिक रचनाहरू हुन्थे ? 

किताबबाहेक केही हुँदैनथे । माघमा स्वस्थानी पढिन्थ्यो र अरू केही धर्मिक किताब पनि पढिन्थ्यो । कहिलेकाहीँ बरु रेडियो सुनिन्थ्यो । म पनि रेडियोमा बज्ने साहित्यिक कार्यक्रम सुन्थेँ । रेडियो नेपालमा साँझतिर वासुदेव मुनालले “आओ मेरा प्यारा प्यारा भाइबहिनी हो रेडियो नजिक आओ । 

अब आजको बाल कार्यक्रम सुरु हुन्छ” भन्दै चलाउने बाल कार्यक्रम खुब राम्रो लाग्थ्यो । हाम्रो पालाका पढ्ने, लेख्ने, सुन्ने जे भने पनि पाठ्यपुस्तकबाहेकका साहित्यिक सामग्री भनेका तिनीहरू नै थिए ।


तपाईंहरूको पालामा फुर्सदमा खेलिने खेलहरू चाहिँ कस्ता हुन्थे नि ?

हामी त्यति धेरै खेल्न नै पाउँदैन थियौँ । त्यस समयमा हामी थोत्रा मोजामा झुम्रा खाँदेर बनाएको भकुन्डो, ढुङ्गाको हार लगाउने र लडाउने खेल, छोइडुम आदि खेल खेल्थ्यौँ ।


अहिले र पहिलेका बच्चाको मनोविज्ञानमा के फरक देख्नुहुन्छ  ?

धेरैै फरक छ नि । अहिलेको समाजको चेतनामा, अभिभावकको चेतना र बालबालिकाप्रतिको धारणामा, शैक्षिक संस्थामा, पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्रीको उपलब्धतामा यस्ता धेरै कुरामा ठूलो परिवर्तन आएको छ । अझ त्योभन्दा बढी सूचना प्रविधि र सञ्चारका साधनको उपलब्धताले बालबालिकाको सीप, चालचलन अनि धारणामा परिवर्तन ल्याएको छ ।

 

तपाईं बाल साहित्य लेखनमा चाहिँ कसरी लाग्नुभयो, हामी पनि सुनौै न ? 

मैले वासुदेव मुनाल, पाण्डव सुनुवार, दाहाल यज्ञनिधिले चलाउने रेडियोका कार्यक्रम खुब मन पराउथेँ । म पढ्ने कुशादेवी माविको हेडसर रामप्रसाद अधिकारीले विद्यालयमा सदन छुट्याएर अतिरिक्त कार्यक्रममा मलाई भाग लिन लगाउनु हुन्थ्यो ।  भाग लिएर पुरस्कार पाउँदा थप हौसला मिल्थ्यो । पछि पछि मैले रेडियो र पत्रपत्रिकामा आफ्ना रचना पठाउन थालेँ । यस्तै गतिविधिले म साहित्यतिर तानिएँ ।


साहित्य क्षेत्रमा लागेर कति सन्तुष्ट हुनुहुन्छ ?

किताब पढ्न साथै लेख्न पाउने भएकाले पनि म साहित्यिक क्षेत्रमा लागेकोमा खुसी छु । धेरै मान्छेलाई चिन्ने मौका पाएकोले पनि र अझै केही गर्नुपर्छ भन्ने प्रेरणा र दृढ इच्छाशक्ति भएकाले सहित्य क्षेत्रबाट मलाई सन्तुष्टि मिलेको छ ।


बालबालिकाका लागि कति पुस्तकहरू लेख्नुभएको छ ? तपाईं आजका बालबालिकालाई के भन्न चाहनुहुन्छ ?

अहिलेका बालबालिका आधुनिकता, विज्ञान, सूचना प्रविधिका जानकारीबारे निकै अगाडि छन् । यो निकै राम्रो कुरा हो तर कुनै राम्रो कुराभित्र नराम्रा कुरा पनि जोडिएका हुन्छन् । 

त्यसैले विज्ञान र प्रविधिका नयाँ साधनको उचित सदुप्रयोग गरौँ । दुरुपयोग नगरौँ । आफ्नो कक्षाका किताबहरूबाहेक बाहिरका किताबहरू पढेर धेरैभन्दा धेरै ज्ञानसीप सिकौँ किनभने Today's good reader can be good leader  भन्ने भनाइ नै छ ।