• १६ चैत २०८०, शुक्रबार

भाग्यले जुरेको सात दशकको गद्दी

blog

 रामप्रसाद आचार्य 

बेलायतले ७० वर्षपछि नयाँ राजा पाएको छ। रानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षीय युवराज चाल्र्स बेलायतको नयाँ राजा बनेका छन्। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन्। 

उनलाई राजा चाल्र्स तृतीय भनिएको छ। एलिजाबेथको  स्कटल्यान्डस्थित बालमोरल दरबारमा भदौ २३ गते निधन भएको थियो। भदौ २५ गते युवराज चाल्र्सलाई औपचारिक रूपमा राजा घोषणा गरियो। असोज ३ गते राजकीय सम्मानका साथ एलिजाबेथको अन्तिम संस्कार सम्पन्न भयो।  

एलिजाबेथ ७० वर्ष बेलायतको सिंहासनमा बसिन्। बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ। रानी सामान्यतया ग्रीष्मकालमा स्कटल्यान्डस्थित बालमोरल दरबारमै बस्ने गर्थिन्। भदौ २१ गते मात्रै उनले सोही दरबारबाटै लिज ट्रसलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। 

एलिजाबेथका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिना छन्। नयाँ राजा भएसँगै चाल्र्स बेलायतसहित राष्ट्रमण्डलका १४ वटा देशको राष्ट्रप्रमुख बने। राष्ट्रमण्डल भनेको बेलायतबाट स्वतन्त्र भएका ५६ स्वतन्त्र राष्ट्र र दुई अर्ब ४० करोड मानिसको सङ्घ हो। चाल्र्स अब अस्ट्रेलिया, एन्टिगुआ, बार्बुडा, बहामस, बेलिज, क्यानडा, ग्रेनाडा, जमैका, पपुवा न्युगिनी, सेन्ट क्रिस्टोफर र नेभिस, सेन्ट लुसिआ, सेन्ट भिसेन्ट, ग्रेनाडिज, न्युजिल्यान्ड, सोलोमन आइल्यान्ड्स र तुभालुका प्रमुख भएका छन्। 

एलिजाबेथ सन् १९५२ मा गद्दीमा बसेकी थिइन्। त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनिन्। एलिजाबेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री भए भने अमेरिकामा १४ जना राष्ट्रपति। सन् १८७४ मा जन्मेका विन्स्टन चर्चिलदेखि त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेकी हालकी लिज ट्रससम्म गरी १५ जना प्रधानमन्त्रीलाई उनले नियुक्त गरिन् । 


सन् १९५५ मा एन्थनी इडनदेखि अहिले लिज ट्रससम्म १५ प्रधानमन्त्रीलाई एलिजाबेथले नियुक्त गरेकी हुन्। एन्थनी इडन सन्  १९५५ देखि १९५७ सम्म, हारोल्ड मक्मिलन १९५७ देखि १९६३, एलेक डग्लस होम १९६३ देखि १९६४ सम्म, हारोल्ड विल्सन १९६४ देखि १९७० सम्म, एड्वर्ड हिथ १९७० देखि १९७४ सम्म, हारोल्ड विल्सन १९७४ देखि १९७६ सम्म, जेम्स क्यालहन १९७६ देखि १९७९ सम्म, मार्ग्ररेट थ्याचर १९७९ देखि १९९० सम्म प्रधानमन्त्री बनेका थिए। 

त्यसैगरी जोन मेजर सन् १९९० देखि १९९७ सम्म, टोनी ब्लेयर १९९७ देखि २००७ सम्म, गोर्डन ब्राउन २००७ देखि २०१० सम्म, डेभिड क्यामरन २०१० देखि २०१६ सम्म, टेरिजा मे २०१६ देखि २०१९ सम्म, बोरिस जोनसन २०१९ देखि २०२२ सम्म र हालका प्रधानमन्त्री लिज ट्रस छन्।  

एलिजाबेथको जन्म सन् १९२६ को २१ अप्रिलमा लन्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो। उनी बेलायतको रानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनका ठूलो बुवा एडवर्ड आठौँले अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्याग गरेका थिए। उनका पिता जर्ज छैटौँ राजा बनेपछि १० वर्षको उमेरमा नै उनी राजगद्दीको उत्तराधिकारी बनिन्। सन्  १९४७ को नोभेम्बर २० मा राजकुमार फिलिपसँग उनको विवाह भयो। ९९ वर्षको उमेरमा सन् २०२१ मा फिलिपको निधन भएको थियो। 

सन् १९५२ मा राजा जर्ज छैटौँको निधन भएपछि एलिजाबेथ बेलायतको रानी बनेकी थिइन्। त्यसपछिका दशकमा विश्वमा ठूला परिवर्तन भए। विदेशमा बेलायती साम्राज्यको अन्त्य भयो अनि सन्  १९६० ताका सामाजिक मूल्य मान्यतामा पनि व्यापक परिवर्तन भयो। उनले बेलायती राजसंस्थालाई सहज बनाइन्। सामान्य हिँडडुल, शाही भ्रमण तथा सार्वजनिक समारोहमा उपस्थितिमार्फत उनले आममानिससँग अन्तक्र्रिया गरिन्। राष्ट्रमण्डलप्रति उनको प्रतिबद्धता निरन्तर रह्यो। उनले राष्ट्रमण्डलका प्रत्येक सदस्य राष्ट्रको कम्तीमा एक पटक भ्रमण  गरिन्। 

वास्तवमा एलिजाबेथको सात दशक लामो शासनकाल निकै उथलपुथलयुक्त रह्यो। उनलाई आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ सङ्कल्पका लागि सधैँ सम्झिने छन्। उनको ७० वर्षको शासनकालमा बेलायत मात्र होइन, सारा विश्व ठूलो उथलपुथलको अवधिबाट गुज्रियो। कहिले आर्थिक चुनौती, कहिले राजनीतिक सङ्कट तर यस उथलपुथलमा जनतामा विश्वास जगाउन उनी सफल भइन्।  

जर्मनीमा हिटलरको शक्ति तीव्र गतिमा बढिरहेको थियो। युरोपमा बढ्दो द्वन्द्वको बीच, राजा जर्ज छैटौँ आफ्नो परिवारसँग देश भ्रमणमा निस्के। एलिजाबेथले आफ्नो बुवाको यस भ्रमणबाट धेरै कुरा सिकिन्। 

सन् १९३९ मा १३ वर्षको उमेरमा एलिजाबेथ आफ्नो बुवा र आमासँग डार्टमुथको रोयल नेभल कलेज गइन्। यहाँ उनले ग्रिसका राजकुमार फिलिपलाई भेटिन्। उनीहरूबीच प्रेम सम्बन्ध गाँसियो। सन् १९४७ नोभेम्बर २० मा दुवै जना विवाहबन्धनमा बाँधिए।   

सन् १९५२ मा बुवाको निधनसँगै एलिजाबेथलाई बेलायतको रानी घोषणा गरियो। सन् १९५३ मा एलिजाबेथको भव्य राज्याभिषेक भयो। सो कार्यक्रम पूरा विश्वभरि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। धेरै मानिसले पहिलो पटक टेलिभिजन कुनै कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेका थिए। 

विश्वयुद्धपछि बेलायतको हैसियत निकै कम भएको थियो। उनको साम्राज्य सङ्कुचित भएको थियो। भारतलगायत धेरै देश बेलायती शासनबाट मुक्त भएका थिए। यस्तो अवस्थामा बेलायतको गौरव फिर्ता ल्याउन रानी एलिजाबेथले कमनवेल्थ देशको भ्रमण गर्ने निर्णय गरिन्। उनी अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमण गर्ने बेलायतको पहिलो रानी बनिन्। अन्य देश बेलायतबाट स्वतन्त्र हुँदै जाँदा राष्ट्रमण्डलमा महारानीको मोह बढ्दै गयो।

रानी एलिजाबेथले राजसंस्थाप्रति विश्वास बढाउन विभिन्न सुधारका काम गरिन्। आफ्नो पतिको सल्लाहमा उहाँले आफूलाई नयाँ समयअनुसार ढाल्न सुरु गरिन्। शाही दरबारका धेरै प्रथा खारेज गरियो। उनले राजतन्त्रको सट्टा शाही परिवार शब्दको प्रयोगमा जोड दिन सुरु गरिन्। उनले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास कहिल्यै गरिनन्। सन् १९६० को दशकको उत्तराद्र्धमा शाही परिवारले आमजनतासँग नजिक हुने निर्णय गरेका थिए।

सन् २०१४ मा रानीका लागि राजनीतिक रूपमा कठिन समय पनि आयो। स्कटल्यान्डमा बेलायतबाट अलग हुने जनमत सङ्ग्रह भएको थियो। उनले सधैँ बेलायतको एकतामा समर्थन गरिन्। जनमत सङ्ग्रहमा स्कटल्यान्ड अलग हुने प्रस्ताव विफल भयो। यसले उनलाई ठूलो राहत मिल्यो।