• ६ वैशाख २०८१, बिहिबार

मित्रताको साँचो परिभाषा चलचित्र ‘उचाइ’

blog

काठमाडौँ, कात्तिक २८ गते । चलचित्र ‘उचाइ’ चार पाका उमेरका साथी अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर), जावेद सिद्दिकी (बोमन इरानी) र भूपेन (डैनी डेन्जोङ्पा)को कथामा आधारित छ। यी चारै जना साथीबीचको मित्रता लोभ लाग्दो छ। चारै जनाले रमाइलोसँग आफ्नो जीवन बिताइरहेका हुन्छन्। जब भूपेनको हृदयाघातबाट मृत्यु हुन्छ त्यसपछि चलचित्रको कथाले नयाँ मोड लिन्छ। 

भुपेनको मृत्युपछि अन्य तीन साथीले आफ्नो चौथो साथीको इच्छा पूरा गर्न सगरमाथाको आधार शिविर चढ्ने निर्णय गर्छन्। भूपेनले एक पटक तीन जना साथीसँग आफ्नो बाल्यकाल फेरि बाँच्नका लागि तीनै जनासँग सगरमाथा बेस क्याम्प जाने इच्छा व्यक्त गरेका हुन्छन्। दिल्लीको आरामदायी जीवन छाडेर, तीन साथी बेस क्याम्प जान भेला हुन्छन् र चिसोमा कठोर यात्रा सुरु गर्छन्। तीनै जना भूपेनको अस्तुलाई सगरमाथा बेस क्याम्पमा विसर्जन गर्न निस्कन्छन् जहाँ उनको आत्मावास हुन्छ। भारतीय हिन्दु परम्परामा मृतकको इच्छाअनुसार कुनै पवित्र स्थानमा उसको राखलाई विसर्जन गर्नु हो। यसै कार्यका लागि मिल्ने साथीहरूले प्रयास गर्दैछन् तर उनीहरूको उमेरका कारण यात्रा सहज देखिँदैन। यात्रामा धेरै कठिनाइ सिर्जना हुन्छ। 

श्रद्धा गुप्ता (परिणीती चोपडा)ले यात्रामा उनीहरूलाई बेस क्याम्पसम्म गाइड गर्ने जिम्मेवारी लिएकी हुन्छिन् र यही क्रममा श्रद्धाले तीन जनालाई बुढ्यौलीका कारण ट्रेकमा जान निषेध गर्छिन्। दिवंगत मित्रको अस्तु सेलाउनका लागि पनि उनीहरूलाई बेस क्याम्प पुग्नुछ। निर्देशक सुरज बडजात्याले यही कुरालाई चलचित्रमा रोचक ढङ्गबाट प्रस्तुत गरेका छन्। चलचित्रले साँचो मित्रताको कथा देखाउन खोजेको छ। 

निर्देशक बडजात्याले चलचित्र उचाइको माध्यमबाट बुढेसकालमा हुने दुविधा खोज्ने प्रयास गरेका छन्। उनले चलचित्रमार्फत कसैलाई पनि आफ्नो इच्छामा उमेर नआउन दिनूस् भन्न खोजेका छन्। ‘जीवन एउटै हो, यसलाई पूर्ण रूपमा बाँच्नुहोस’ भन्ने नै कथाको मूल मन्त्र हो। 

अमितको चरित्रमा अमिताभ रियल लाइफमा जत्तिकै ऊर्जावान छन्। उनले आफ्नो चरित्रको उतारचढावलाई भावुकताका साथ चित्रण गरेका छन्। भावनात्मक दृश्य होस् वा हास्य दृश्य, उनी आफ्नो अभिनयको छाप छोड्न सफल भएका छन्। अनुपम खेरलाई ओमको भूमिकामा सुहाएको छ। बोमन इरानीको अभिनय  अब्बल दर्जाको छ । कथाको मुख्य आकर्षण नीना गुप्ताको चरित्र पनि हो। यति धेरै कलाकारको उपस्थितिमा पनि उनले आफूलाई सशक्त रूपमा उभ्याएकी छन्। परिणीती चोपडाले ट्रेक गाइडको भूमिकालाई न्याय गरेकी छिन्। सारिकाको भूमिकामा भावुक दृश्यहरू छन्, जसलाई उनले सहजै निर्वाह गरेकी छिन्। छोटो भूमिकामा देखिएका डैनीले नै चलचित्रको कथालाई अघि बढाउने काम गरेका छन्। छोटो भूमिका भए पनि उनको अभिनयले दर्शकलाई बाँधेको छ। चलचित्रको शब्द र सङ्गीत औसत छ।

चलचित्रमा चार साथीको कथामा बुढेसकाल, समयसँगको जीवन, सम्बन्धमा आएको परिवर्तन र नयाँ पुस्ताको सोचाइमा आएको परिवर्तनजस्ता पक्षलाई समायोजन गर्ने प्रयास गरिएको छ। राजश्री प्रोडक्सनको चलचित्रलाई नताशा मालपानी ओसवाल र महावीर जैनले निर्माण गरेका हुन्। सुनील गान्धीको कथा अभिषेक दीक्षितले लेखेका हुन्।