• ६ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कपमा एपीएफ च्याम्पियन

blog

उपाधि विजेता एपीएफका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल खेलमा  विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधिसँगै एपीएफले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मीले पाँच लाख रुपियाँमा चित्त बुझायो । सेमिफाइनलमा पराजित नेपाल पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार रुपियाँ पुरस्कार पाए । 

सोमपाल कामीलाई आर्मीले फाइनलमा खेलाउने निर्णय गरेपछि केही समय विवादका कारण ढिलो गरी सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले जितका लागि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । आर्मीले दिएको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । 

एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रन बनाउनुभयो । सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, कप्तान शरद भेषवाकरले अविजित १६ र आसिफ शेखले १४ रन बनाउनुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट झार्नुभयो । 

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउनुभयो । जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामी मगरले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारी ११ रन बनाउनुभयो ।

बलिङमा एपीएफका अमर सिंह रौटेला र मौसम ढकालले तीन तीन विकेट लिनुभयो । किशोर महतोले दुई विकेट झार्नुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह सर्वोत्कृष्ट  खेलाडी हुनुभयो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

दीपेन्द्रले प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बन्दै थप २० हजार रुपियाँ पाउनुभयो । पुलिसकै करण केसीले उत्कृष्ट बलर बन्दै २० हजार तथा एपीएफका मौसम ढकालले इमर्जिङ प्लेयरको अवार्ड सहित १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोलीको सहभागिता रहेको थियो ।