• १८ असार २०८१, मङ्गलबार

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको आग्रह

blog

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिरः गोरखापत्र

चितवन, कात्तिक २५ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनकाे समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन एवम् सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनकाे तयारी लगभग अन्तिम चरणमा पुगिसकेकाले कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मङ्सिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदानस्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गर्नुभयो ।

बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रूपान्तरण हुन बाँकी रहेको बताउँदै निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको हो, उहाँले भन्नुभयो ।

“हामी सबैले आफ्नो इमान्दारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँ कतै उल्लङ्घन नहोस्, उल्लङ्घनका समाचार बाहिर आउन् । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्य बोध गराउने खालका समाचार प्रवाह होस् ।”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस् । सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसात् गर्नुहोला ।”

प्रमुख आयुक्त थपलियाले मतदानका दिन र मतगणना कार्यको समाचार प्रवाह गर्दा प्रवर्द्धनात्मक र मतदातालाई सत्य तथ्य सही सूचना दिनुपर्नेमा जोड दिनुभयो ।