• २७ मंसिर २०८१, बिहिबार

काठमाडौं निर्वाचन क्षेत्र ७

पाका उम्मेदवारलाई युवाको चुनौती

blog

– तस्बिरमा राजेन्द्रप्रसाद श्रेष्ठ, रामवीर मानन्धर, श्यामकुमार घिमिरे, मानुषि यमि र ध्रुवविक्रम मल्ल ।

काठमाडौं, कात्तिक २४ गते । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ७ का उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा निकै व्यस्त देखिन्छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता समक्ष आ–आफ्ना प्रतिबद्धता राख्ने कार्य झनै तीव्र बनेको छ । यसक्रममा, सांस्कृतिक सम्पदाको संरक्षण एवम् विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, खेललगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिबद्धता व्यक्त हुने क्रम जारी छ । 

यस क्षेत्रमा एमालेका पूर्व सांसद रामवीर मानन्धर यस पटक स्वतन्त्र उम्मेदवार उठेको विषयले चर्चा बटुलेको छ । मानन्धर २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका निर्वाचित सांसद हुनुहुन्थ्यो ।

यो पटक प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) बाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई र नेकपा (एमाले)का श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का वसन्त मानन्धर र प्रदेशसभा (ख) मा कांग्रेसका सविन तामाङ उम्मेदवार हुनुहुन्छ । यसैगरी, प्रमुख प्रतिस्पर्धीको रूपमा देखिएको एमालेको प्रदेशसभा (क) मा  जीवन मानन्धर र प्रदेशसभा (ख) मा प्रकाश श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

ह्वात्तै बढे स्वतन्त्र 

जनता समाजवादी पार्टी नेपालका राजेन्द्र प्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्ल, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका जुजुकाजी महर्जन, नेपाली कांग्रेस (बी.पी.) कमला भुसाल, नेपाल आमा पार्टी कृष्णप्रसाद दवाडी, जनसमाजवादी पार्टी नेपालका शैलेस राज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसहित राजनीतिक दलका १३ र स्वतन्त्र १६ गरी जम्मा २९ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

यसअघि २०७४ सालमा हरि बहादुर प्रसाईँ (३० मत) र उर्मिला राउत विष्ट (११ मत) दुई जना मात्रै स्वतन्त्र उम्मेदवार रहेकोमा यो पटक यो सङ्ख्या ह्वात्तै बढेको हो ।जम्मा २९ उम्मेदवारमध्ये २३ पुरुष र महिला उम्मेदवारको सङ्ख्या पाँच रहेको छ । खसआर्य ४८.२८ प्रतिशत, आदिवासी जनजाति ४८.२८ प्रतिशत र दलित उम्मेदवार ३.४५ प्रतिशत रहेको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच भएको पूर्वसहमति अनुरुप मानुषी यमी माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा हुनुहुन्छ । 

जीत सुनिश्चित छ : यमी

घरदैलो कार्यक्रममा व्यस्त रहनुभएका माओवादी केन्द्रका यमीले यतिबेला मतदाताको सुझाव, आशिर्वाद लिने र उहाहरुको गुनासोे टिप्ने क्रम जारी रहेको बताउनुभयो । यसक्रममा उहाँले जनता समक्ष विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “उम्मेदवार युवा र नयाँपन देखिएकाले परिणाम निकाल्ने गरी काम गर्छन् भन्नेमा सकारात्मक छन् । अनुकूलता बढ्दो देखिएकाले हाम्रो जीत सुनिश्चित छ”,  जीतका लागि अझै मिहेनत बढाउनुपर्ने, समय थोरै बाँकी रहे पनि मतदातासँग धेरैभन्दा धेरै भेटघाट गर्नुपर्ने उहाँको भनाइ छ ।

विगतका उपलब्धि, मौलिक अधिकार कार्यान्वयन गर्न एवम् भ्रष्टाचारमुक्त समाज निर्माण गर्न दृढ इच्छा शक्तिसहित चुनावी मैदानमा उभिएको उहाँले बताउनुभयो । लाखौँ युवालाई स्वदेशमा रोजगारी सिर्जना, बाटो, पानी, सम्पदा संरक्षण, सूचना तथा प्रविधि, कृषिलगायत सम्पूर्ण क्षेत्रमा समस्या पहिचान एवम् समाधानाेन्मुख हुने अठोट यमीले गर्नुभयो । 

पार्टी संगठन बलियो छ: घिमिरे 

एमाले उम्मेदवार श्यामकुमार घिमिरे सो क्षेत्रमा सङ्गठन राम्रो एवम् बलियो भएकाले परिणाम आफ्नो पक्षमा आउने बताउनुहुन्छ । मुख्य योजना यस क्षेत्रका सम्पदालाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने रहेको उहाँ भन्नुहुन्छ । 

उहाँले भन्नुभयो, “यो क्षेत्रमा सम्पदालाई विकास गर्ने, जीवित संग्रहालयको रुपमा विकास गर्ने । सम्पदाको संरक्षण, विकास, पर्यटक बढाउने, कौशी तरकारी खेती, बाँदरले समस्या दिइरहेकोमा यसमा बन्ध्याकरणको योजना, खानेपानी, ढल निकासी, अधुरा कामलाई पूरा गर्ने र त्यसपछि नयाँ काम सुरु गर्ने भन्ने मेरो योजना छ ।”

खासगरी सम्पदालाई जीवित संग्रहालयको रुपमा विकास गर्ने एजेण्डा विगतका र अहिलेका उम्मेदवारले उठाउन नसकेको उहाँको भनाइ छ । 

पार्टीले मुल्याङ्कन गरेन: मानन्धर 

यसअघि एमाले सांसद यो पटक स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले आफू ३० वर्ष अघिदेखि जनताको बीचमा रहेको बताउनुभयो । 

“यसपाली स्वतन्त्र उम्मेदवारकाे रूपमा रहेकाे छु, अधुरा विकासका पूर्वाधारको काम पूरा गर्ने मेरो अभियान हो । जनताले पाएको सुविधा र विकासलाई व्यवस्थापन, यसकारणले राम्रो प्रतिक्रिया आएको छ”,  उहाँले २०७० देखि सो क्षेत्रको नेतृत्वमा रहँदा विकासको आधारहरु तयार भएको र त्यसलाई सम्पन्न गर्ने योजना रहेको मानन्धरले भन्नुभयो । 

बागी उम्मेदवारको सन्दर्भमा उहाँले आधा जीवन पार्टीकै लागि भनेर बिताएको तर, पार्टीभित्र मूल्याङ्कनको परिपाटी नभएको गुनासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले मात्रै जित्ने होइन । देश र जनता जिताउने, नेपाल र नेपालीको लागि विद्रोह, स्वतन्त्र, बागी जे भने पनि देश र जनताका लागि गर्नुपर्ने कुरामा साथ दिनुपर्छ ।”

बाँकी काम सम्पन्न गर्न उम्मेदवारी: श्रेष्ठ

निवर्तमान मन्त्री एवम् जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठले २०५१ देखि २०५६ सालसम्म संसदमा प्रतिनिधित्व गर्दाखेरी उत्तरी क्षेत्र विकास कार्यक्रममार्फत बालाजु–बाइपासबाट लामबगरको बाटो हुँदै धर्मस्थली, तीनपिप्ले, कागती गाउँ र नुवाकोट हुँदै रातमाटेको वैकल्पिक राजमार्गको पहल गरेको बताउनुभयो ।

नयाँ सहरहरू निर्माण हुने क्रम जारी रहेको भन्नुहुँदै उहाँले खानेपानी, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, शिक्षक व्यवस्थापन, भवन निर्माणलगायतका क्षेत्रमा थुप्रै कामहरू भएकाले पनि मतदाता उत्साहित भएको उहाँको भनाइ छ । 

श्रेष्ठले भन्नुभयो, “सांसदको रूपमा प्रतिनिधित्व गरिरहँदा, विगतमा मैले शिक्षा, स्वास्थ्य सञ्चारको क्षेत्रमा, भवन निर्माणको कामहरू धेरै अगाडि बढाएको छु । कानुन निर्माणमा खेलेको भूमिका, बाटोघाटोको सन्दर्भमा काम गरेकाले माहौल राम्रै छ । हरेक हिसाबले विकास निर्माणको संवाहकको रूपमा कामहरू अगाडि बढाएको छु ।”

आफ्नो नेतृत्वमा यससँगै सङ्घ, प्रदेश र केन्द्रीय तहको समन्वय सम्बन्धितलगायत नीति निर्माण तहमा महत्त्वपूर्ण योगदान खेलेकाले आगामी दिनमा बाँकी रहेका काम सम्पन्न गर्न पनि जनलहर बढ्ने उहाँले बताउनुभयो ।

खेल क्षेत्रका फरक एजेण्डा

यस्तै, राप्रपाका उम्मेदवार ध्रुव विक्रम मल्ल राजनीतिमा बढ्दो व्यापारीकरण अन्त्यका लागि यसपटकको निर्वाचनमा मत परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँले देशको प्रतिनिधित्व गर्ने चर्चित खेलाडीहरू उत्पादन एवम् संरक्षण गर्नुपर्ने बताउनुभयो । पहिचान, धर्म संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण, मठमन्दिर, देवल सत्तल, जात्रा, पर्वलाई व्यवस्थित गर्ने, शिक्षा तथा स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिने प्रतिबद्धता उहाँको छ ।

२०७४ निर्वाचन परिणाम 

वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम बहादुर थापाबीच मुख्य प्रतिस्पर्धा भएको थियो । 

त्यसबेला एमालेका मानन्धर (१८,१०२ मत) विजयी हुनुभएको थियो भने राप्रपाका विक्रमबहादुर थापा (१०,०७९ मत) दोस्रो, विवेकशील साझाका अनुपा श्रेष्ठ (५,३७६ मत) तेस्रो र सङ्घीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्र मोहन श्रेष्ठले (१,७८१ मत) चौथो स्थान हासिल गर्नुभएको थियो । 

स्थानीय तह परिणाम  

यस क्षेत्रमा प्रदेशसभा (क) अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बरहरू १६, १७, १८, २५ र प्रदेशसभा (ख) अन्तर्गत नागार्जुन नगरपालिकाका १, २, ३ नम्बर वडाहरू र तारेकेश्वर नगरपालिकाको वडाहरू ३, ४ र ५ समेटिएका छन् । 

कांग्रेस ६ र एमाले ४ वडामा अगाडि 

वैशाख २०७९ को स्थानीय तह निर्वाचन परिणाम अनुसार प्रदेश (क) अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा १६ को अध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल (४,०१९ मत), वडा १७ मा कांग्रेसका नवीन मानन्धर (२,७०८ मत), वडा १८ मा एमालेका न्हुँछेकाजी महर्जन (१,२९३ मत), वडा २५ मा कांग्रेसका राजेश डङ्गोल (९१३ मत) ले विजयी हुनुभएको थियो ।

यसैगरी, काठमाडौं ७ को प्रदेश (ख) अन्तर्गत नागार्जुन नगरपालिकाको वडा नं. १ मा कांग्रेसका रामेश्वर लामा (१,७७३ मत), वडा २ मा एमालेका थुमराज केसी (९८३) र वडा ३ मा एमालेका उमेश लामा (१,००७ मत) विजयी हुनुभएको थियो ।

तारेकेश्वर नगरपालिकाको वडा ३ मा कांग्रेसका परशुराम अर्याल (१,०५१ मत), वडा ४ मा एमालेका नरेन्द्र दास श्रेष्ठ (७८५) र वडा ५ मा कांग्रेसका शम्भु प्रसाद फुयाँल (१,१९१ मत) विजयी हुनुभएको थियो ।

कुल मतदाता ६१,२९१ मध्ये पुरुष मतदाता २९,६२७ र महिला मतदाताको सङ्ख्या ३१,६६४ छ । यस क्षेत्रमा २९ मतदानस्थल र ७१ मतदान केन्द्र छन् ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।