• ७ वैशाख २०८१, शुक्रबार

डेंगु निको भएकालाई विभिन्न स्वास्थ्य समस्या देखिँदै

blog

सिर्जना खत्री

काठमाडौं, कात्तिक २२ गते । नेपालमा साउनदेखि डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लाबाट ५० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ५५ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका गोकर्ण दाहालकाअनुसार पछिल्लो केही दिनदेखि डेंगु सङ्क्रमणदर घट्दै गएको छ ।

डेंगु सङ्क्रमणदर दर घट्दो क्रममा भए पनि डेंगु निको भएको केही हप्ता वा महिनापछि बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको पाइएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ,“पोस्ट कोभिडको जस्तै डेंगु निको भएको तीन चार महिनादेखि एक दुई महिनापछि पछि पनि थकित हुने, स्याँस्याँ हुनेजस्ता विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गरेका छन् ।”

त्यसका अलावा कमजोरी हुने, थकित हुने, कपाल झर्ने, मुटु ढुकढुक हुने, कसैलाई निद्रा नलाग्ने, कसैलाई निद्रा बढी लाग्नेजस्तो विभिन्न समस्या देखिएको डा. पुन बताउनुहुन्छ ।

कुनै कुनै मानिसमा भुल्ने समस्या र कुनै मानिसले कुनै पनि कुरामा ध्यान दिन नसक्नेजस्ता समस्या देखिने गरेका छन् ।

छाला चिलाउने, सास फेर्न गाह्रो हुने, खुट्टाका मांसपेशी दुख्नेजस्ता समस्या पनि देखिने गरेको उहाँ बताउनुहुन्छ । डेंगुका बिरामीमा यस्ता समस्या देखिनु नौलो विषय नभएको डा. पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य देशले अध्ययन गरेका छन् । डेंगु निको भएका बिरामीमा यस्तो समस्या देखिने उक्त अध्ययनहरूले देखाएका छन् ।” यस्ता समस्या केही दिन वा हप्तामा आफैँ निको भएर जाने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार यस्तो समस्या देखिएका आधा मानिसमा केही समय पछि आफैँ निको हुन्छ ।

यदि समस्या बढ्दै गएमा सम्बन्धित चिकित्सकसँग परामर्श गराउन उहाँको सुझाव छ । सन् २०१९ मा पनि डेंगु महामारीका रूपमा फैलिएको थियो तर त्यो बेलामा यस्तो समस्या त्यति नदेखिएको डा. पुन सुनाउनुहुन्छ । तर, यो वर्ष प्रायः सबैमा डेंगु पुष्टि भएकाले यस्तो समस्या बढीमा देखिएको उहाँ बताउनुहुन्छ ।

डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।

घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुन्छन् ।

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुन्नेजस्ता लक्षण देखिने गर्दछन् ।

डेंगु सङ्क्रमण कम भए पनि यसको जोखिम कम भइनसकेकाले सचेत रहन चिकित्सकको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।