• १२ साउन २०८१, शनिबार

देउसीभैलो खेलेर सय जनाको स्वास्थ्य बीमा

blog

फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक १९ गते । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट सय जनाको स्वास्थ्य बीमा गरिनेभएको छ । सुनकोसी गाउँपालिका –१ बल्खु आम्बोटका सय जनाको स्वास्थ्य बीमा गरिनेभएको हो । 

तिहारको अवसरमा प्रतिभावान् प्रगतिशील युवा क्लबले खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमबाट स्थानीय नागरिकको स्वास्थ्य बीमा गर्ने योजना बनाइएको क्लबका अध्यक्ष दुर्गाहरि जेरो राईले बताउनुभयो । “हाम्रो स्वास्थ्य सेवा खर्चिलो र जटिल छ । रोग लागेपछि हामी ऋणको चङ्गुलमा पस्छौँ” उहाँले भन्नुभयो ।

सम्भावित स्वास्थ्य सङ्कट एवम् उपचार खर्चबाट बच्न स्वास्थ्य बीमा उपयोगी हुने भएकाले यस वर्ष आम्बोटका सय जनाको स्वास्थ्य बीमा गर्न आर्थिक सहयोग सङ्कलन गरिएको राईले बताउनुभयो । 

प्रत्येकलाई बीमा गर्न लाग्ने कुल खर्चको आधा रकम क्लबमार्फत सहयोग गरिने उहाँको भनाइ छ । देउसीभैलो खेलेर क्लबले यस वर्ष ७७ हजार चार सय तीन रुपियाँ सङ्कलन भएको क्लबका महासचिव मदनकुमार जेरो राईले जानकारी दिनुभयो । गत वर्षको देउसी भैलोबाट उठेको रकमले साउण्ड सिस्टम खरिद गरिएको उहाँले बताउनुभयो ।

सोहीअनुसार सङ्कलित रकमबाट भिरबाट लडेर गम्भीर घाइते भएका सुनकोसी गाउँपालिका –१ साँधीका प्रतिमान राईलाई नगद ६ हजार स्वास्थ्य उपचार सहयोग प्रदान गरिएको  महासचिव राइको भनाइ छ । क्लबमार्फत अन्य सामाजिक कार्यक्रम पनि सञ्चालन हुँदैआएको उहाँले बताउनुभयो ।