• १४ साउन २०८१, सोमबार

जापान जान अझै अन्योल

blog

काठमाडौँ, कात्तिक १९ गते  । भाषा र सीप परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि जापान जाने तयारीमा रहेकाको उडान अझै टुङ्गो लागेको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई भदौभित्रै पठाउने भने पनि अहिलेसम्म अन्योल छ। 

नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि दुई देशका सरोकारवाला रहेको संयुक्त समिति गठन गर्न ढिलाइ भएको र निर्वाचनले गर्दा अझै अन्योल रहेको जनाइएको छ। श्रम मन्त्रालयका अनुसार सुरुमा प्रक्रियागत ढिलाइ भयो, पछि चाडपर्व र चुनाव आएकाले अझै अन्योल छ। 

मन्त्रालयका उपसचिव थानेश्वर भुसालले निर्वाचनपछि सरकार नबनेसम्म जापान जाने प्रक्रिया सुरु हुन नसक्ने बताउनुभयो। श्रम मन्त्रालयले गत साउनमै उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको र एक महिनाभित्र जापान पठाइसक्ने भनेको थियो। 

उक्त समितिमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका सहसचिव नेतृत्वको टोली जापान सरकारका तर्फबाट सहायक उपमन्त्री नेतृत्वमा समिति गठन भएको थियो। 

यसअघि २०७५ चैत ११ गते एसएसडब्लू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सो प्रणालीअन्तर्गत जापान सरकारले विदेशी श्रमिकले जापानमा काम गर्न कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुराँ, पर्यटन, निर्माण, नर्सिङ, केयरगिभरलगायत १४ वटा क्षेत्र तोकिएको छ। 

नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि दुई देशका सरोकारवाला व्यक्तित्व रहेको संयुक्त समिति गठन गरिएको छ। उक्त समितिमा नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल नेतृत्वको टोली रहेको छ भने जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा समिति बनेको छ। 

सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी श्रमिक लैजाँदै आएको थियो। त्यसैअनुसार आर्थिक वर्ष २०६४/६५ देखि नेपाली श्रमिक जापान जान सुरु भएको हो।