• ११ मंसिर २०८१, मङ्गलबार

दानवीर मैयाँदेवी

blog

महाप्रस्थान भो आज

मायालु त्यो चरित्रको

सबैकी जननी तुल्य

सम्झना योग्य पात्रको !

समाजसेवी मैयाँदेवी श्रेष्ठको निधन भएलगत्तै साहित्यकार तथा प्राध्यापक कपिल अज्ञातले आफ्नो फेसबुक पेजमा यो कविता पोष्ट गर्नुभयो । मैयाँदेवीको योगदानलाई लिएर रचना गरिएका कवितामा धेरैले प्रतिक्रिया जनाए । हीरामणि खनालले कवितामै यस्तो प्रतिक्रिया लेख्नुभयो । 

दानले मानवता को उछिन्ने जननी तिमी

शताब्दी आमाको महिमा पायौ है त देवनी

जीवन उतार चढाव निश्चल पुत्र कि मन

संसार चिनायौ दानले यही पो रहेछ धन ! 


कवितामा हीरामणिले भन्नुभएजस्तै दान नै धन हो वा होइन त्यो बहसको विषय बन्ला तर महादानी मैँयादेवी श्रेष्ठको भने ९५ वर्षको उमेरमा कात्तिक ५ गते निधन भयो। लामो समयदेखि बिरामी पर्नुभएकी समाजसेवी श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो। एक पटकको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “मान्छेलाई दान नगर भनेर दसवटा हात्ती बराबरको तागतले छेकिरहेको हुन्छ त्यो तागतलाई जित्नेहरूले मात्रै दान दिन सक्छन्।” समाज सेवा र राजनीतिमा समान योगदान रहेकी मैयाँदेवीले दान र धर्मलाई जीवनको अभिन्न अङ्ग मान्नुहुन्थ्यो । भन्नुहुन्थो, “दानीलाई हानि कहिल्यै हुँदैन।” 

शारीरिक कमजोरी, खानामा अपचलगायतका स्वास्थ्यसम्बन्धी बिरामी भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। उहाँमा पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिएको थियो। 

वि.सं. १९८५ असोजमा तनहुँको बन्दीपुरमा जन्मनुभएकी मैयाँदेवी एक महिनाको हँुदा बुवाआमाले चितवनमा ल्याउनुभएको थियो। त्यो बेला अहिलेजस्तो सडक थिएन। हिँडेरै बन्दीपुरबाट चितवन आउने जाने गर्नुपथ्र्यो। २०३६ सालमा नारायणगढ मुग्लिन सडक खुलेपछि चितवन र बन्दीपुरको सडक सञ्जाल 

जोडिएको हो।  वीरगञ्जमा डिठ्ठा रहनुभएका बुवा वीरबहादुर श्रेष्ठको निधनपछि आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्कनु भएकी मैयाँदेवीले आमा र बुवाकै प्रेरणाले आफूसँग भएको केही सम्पत्ति सामाजिक कार्यमा लगाउनुभयो। 

दानकी पर्यावाची : 

सानै उमेरदेखि घरमा आउने जोगी सन्न्यासीलाई भिक्षा नदिई खाना नखाने संस्कारमा हुर्कनुभएकी मैयाँदेवी जीवनभर दान गरेर कहिल्यै थाक्नुभएन। चितवनका कतिपय स्कूल, क्याम्पस, मठमन्दिर, कांग्रेस पार्टीको भवन कि त उहाँले दान गरेको जग्गामा बनेका छन् कि त उहाँकै सहयोगमा बनेका छन्। बाल्यकालदेखि नै दान धर्मप्रति रुचि राख्ने श्रेष्ठले समाजलाई धेरै दान दिनुभएको छ। जीवनको अन्तिमसम्म पनि उहाँले दान मात्रै गरिरहनुभयो। 

श्रेष्ठले कति दान गर्नुभयो भन्ने कुरा पनि उहाँको परिवारलाई यकिन पत्तो छैन। तर पनि एक अर्बभन्दा माथि रहेको अनुमान गरिएको छ। नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कुललाई १० कठ्ठा जग्गा दान दिएर शिक्षा क्षेत्रमा सहयोग गर्न लाग्नुभएकी श्रेष्ठले करोडौँ रुपियाँ खर्चेर चितवनकै भरतपुरमा मैयाँदेवी कन्या कलेज स्थापना गर्नुभयो। उहाँले कन्यालाई शिक्षा दिनकै लागि दार्जिलिङदेखि शिक्षक बोलाएर कन्या विद्यालयमा पठनपाठन सुरु गराउनुभएको हो। अहिले यो स्कुलमा कक्षा १२ सम्मको पढाइ हुन्छ । समुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको मैयाँदेवी कलेजमा अहिले ११ देखि स्नातकोत्तरसम्मको पठाइ हुने गर्दछ। गरिब विपन्न समुदायका छात्राका लागि यो कलेजमा मैयाँदेवीकै लगानीमा निःशुल्क पढ्न पाउने व्यवस्थासमेत मिलाएको छ। 

लामो समयदेखि कांग्रेसको राजनीतिमा रहनुभएकी श्रेष्ठले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवनमा तीनतला भएको घर जग्गा पार्टीलाई दान दिनुभएको थियो। श्रेष्ठले गोरखामा पार्टी कार्यालय बनाउन २० लाख रुपियाँ सहयोग गर्नुभयो। नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गर्नुभएकी श्रेष्ठले प्रजातन्त्रवादी पत्रकारहरूको संस्था प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि बसेनीमा जग्गा दान दिनुभयो। 

पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्न्यास आश्रम देवघाटलाई, पतञ्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढलगायतलाई उहाँले जग्गा दान गर्नुभएको छ। मैयाँदेवी अविवाहित रहनुभयो। उहाँको सेवामा समर्पित हुने छोराहरू, भतिज, अन्य सेवकले पनि जग्गा नै पाएका छन् । आफूलाई सेवा गरेका छोराहरू टङ्कनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्ने गरी नारायणगढ बजारमा उहाँले घर जग्गा दिनुभएको छ। त्यसैगरी, दाइका छोराहरू प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उहाँले जग्गा दिनुभएको छ। आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिनुभएको छ भने भान्से इन्दिरा ढकाललाई देवघाटमा घडेरी दिनुभएको छ। पुजारी रामबहादुर कार्की र उहाँकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिनुभएको छ भने साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिनुभएको छ। श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्येष्टिमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उहाँले नारायणगढ बजारमा घडेरी दिनुभएको छ। पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्वमन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नति अधिकारी, श्रेया पौडेललाई समेत उहाँले घडेरी दिनुभएको छ। 

पछिल्लो पटक उहाँले नेका नेता डा.शशाङ्क कोइरालालाई भरतपुरमा झन्डै एक करोड पर्ने जग्गा दान दिनुभएको छ। २०३९ सालतिर बीपी कोइरालाले नै मैयाँदेवीलाई आफ्नो परिवारलाई आश्रयस्थल दिन गर्नुभएको आग्रह स्वीकार गरेर नै शशाङ्कलाई अहिले जग्गा उपलब्ध गराउनु भएको बताइन्छ। 

मैयाँदेवीलाई जान्ने बुझ्नेहरू भन्छन्, “उहाँले दिनुभएको दान आफ्नै पैतृक सम्पत्तिबाट दिनुभएको हो।” मैयाँदेवीले दाजुसरह अंश लिएर नै त्यो सम्पत्ति दान धर्म र सेवामा लगाउनु भएको हो। उहाँले दान दिएर बचेको सम्पत्ति पनि आफू बाच्दै आफ्नै नाममा ट्रष्ट बनाएर राख्नुभएको छ। मैयाँदेवीकै दान र नियमित सहयोगमा स्थापित मैयाँदेवी कन्या कलेजका पूर्वअध्यक्ष रामकृष्ण घिमिरे “दानका क्षेत्रमा श्रेष्ठको नाम नेपालमै स्वर्ण अक्षरमा लेखिने छ”, भन्नुहुन्छ। 

राजनीतिमा सक्रियता 

नेपाल आमाको पदबाट सम्मान हुनुभएकी मैयाँदेवी राजनीतिक रूपमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो। कांग्रेस नेता बीपी कोइरालाको सामीप्यका कारण राजनीतिमा सक्रिय हुनुभएकी श्रेष्ठको सम्बन्ध सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मालगायतका नेतासँग थियो। कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठसँगको पनि उहाँको घनिष्टता थियो। श्रेष्ठ वि.सं. २००३ देखिकै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। श्रेष्ठले भूमिगत रहेर सङ्गठन गर्दै २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्तिमै होमिनु भएको थियो। बन्दीपुर आक्रमणको क्रममा धर्मध्वज गुरुङलगायत छजनाले वीरगति पाएका थिए। यही कान्तिबाटै बन्दीपुरमा जनसरकार गठन भएको थियो।

२००८ सालमा तनहुँ बन्दीपुरमा सामाजिक नारी सङ्घ स्थापना, २०११ सालमा श्रीभद्र शर्माको नेतृत्वमा भएको तिरो आन्दोलन, २०१२ सालमा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल स्थापनाजस्ता राजनीतिक नेतृत्वमा उहाँको सहभागिता थियो। २०१३ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुनुभएकी उहाँ २०१४ सालमा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुर जेलमा पर्नुभएको थियो। २०१५ सालको आनिर्वाचनमा पार्टीलाई विजय बनाउन चुनाव प्रचार–प्रसार समितिको सदस्य भई उहाँले काम गर्नुभयो। राणादेखि पञ्चायतसम्मको भूमिगत कालमा समेत देशभित्र र देश बाहिर (विशेष त भारत )मा लुकीछिपी राजनीति गर्नुभएकी श्रेष्ठ लामो समयसम्म सांसद पनि हुनुभयो। २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि राष्ट्रिय सभामा गरी १२ वर्षसम्म सांसद रहनुभयो । सांसद हुँदा उहाँलाई धेरै सांसदले काजु किसमिस दिदी भनेर जिस्क्याउँथे। यसको प्रमुख कारण भनेको उहाँले संसद्मा जाँदा जहिले पनि सहकर्मी सांसदलाई काजु, किसमिस चकलेटहरू खुवाउने गर्नुहुन्थ्यो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समाज सेवासँगै राजनीतिमा उहाँको विशेष योगदान रहेको बताउनुहुन्छ।  नेका प्रवक्ता डा.प्रकाशशरण महत पनि उहाँको देहवसानले पार्टीलाई मात्रै होइन देश र सिङ्गो समाजलाई क्षति पुगेको बताउनुहुन्छ। 

पुरस्कार तथा सम्मान

लामो जीवनमा उहाँले धेरै सम्मान तथा पुरस्कार पाउनुभयो। श्री ५ वीरेन्द्रबाट समाजसेवा पदकबाट सम्मानित मैयाँदेवी तत्कालीन युवराजधिराज पारस वीरविक्रम शाहदेवको ३३औँ शुभ जन्मोत्सवका अवसरमा २०६० पुस १४ गते श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहबाट समाज तथा राष्ट्रको उत्थानमा योगदान गरेवापत ‘ग्रिन अनर’ पदक ग्रहण गर्नुभएको थियो। 

जे.पी. प्रतिष्ठान डिल्लीबजारको सम्मान (२०५५), महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको समाजसेवा सम्मान (२०५७), राष्ट्रिय नारी सम्मान (२०६३), र चन्द्रकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार (२०६१) बाट सम्मानित हुनुभएको थियो। यस्तै विश्व धर्म एकता महासङ्घ सम्मान, विश्व हिन्दु महासङ्घ सम्मान, सनातन धर्म सेवा समिति सम्मानबाट श्रेष्ठ सम्मानित हुनुभयो। २०६२ भदौ ११ गते जापानको टोकियोमा विश्व शान्तिका लागि अन्तरधर्म र अन्तर्राष्ट्रिय महासङ्घद्वारा शान्तिदूतको सम्मान पाउनुभएकी श्रेष्ठले नेपाली कांग्रेसले पनि धेरै पटक अभिनन्दन गरेको छ। चितवन र बन्दीपुरका विभिन्न सामाजिक सङ्घसंस्थाले पनि उहाँलाई सम्मान गरेका छन्।