गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । नागरिक उन्मुक्ति पार्टीले आफ्नो दल निर्वाचित भएमा ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रित गरेर विकासको काम गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उन्मुक्ति पार्टीले सो प्रतिबद्धता गरेको हो ।
मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएको पार्टीले घोषणापत्रमार्फत जल, ऊर्जा, कृषि क्षेत्रलगायत विषयमा नागरिक लगानीको ग्यारेन्टी गर्ने बताएको छ । पहिचानसहितको सङ्घीयता स्थापना गर्न जन्मिएको भन्दै पार्टीले भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयताको पक्षमा रहेको जनाएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘सङ्घीयताले देश टुक्रिन्छ भनेर पाठ्यक्रम पढाउनेले सङ्घीयताको पक्षमा हुन सक्दैनन्, मुलुक सङ्घीय लोकतन्त्रमा प्रवेश गरिसकेकाले यसबाट बाहिर निस्कनु भनेको मुलुक पछाडि फर्किनु हो ।’ विभेद र बेथितिको अन्त्यका लागि नागरिक उन्मुक्ति पार्टी जन्मिएको सो दलले दाबी गरेको छ । रेशम चौधरी संरक्षक रहेको सो पार्टीको अध्यक्षमा उहाँको श्रीमती रञ्जिता श्रेष्ठ रहनुभएको छ ।