• १२ पुस २०८१, शुक्रबार

भिडियो कुराकानी

जथाभाबी प्लेटलेट्स चढाउँदा समस्या हुन्छ

blog

काठमाडौं, कात्तिक १८ गते। देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आइसियुमा भर्ना भएर उपचार गराइरहेका छन्।

रक्तसञ्चार विशेषज्ञ डा.विपिन नेपालका अनुसार प्लेटलेट्स एक किसिमको रक्त तत्त्व हो। यसले शरीर भित्र र बाहिर बगिरहेको रगतलाई जमाउने काम गर्छ। जसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न सहयोग गर्छ। डा.नेपालका अनुसार क्यान्सर, किमोथेरापी लिइरहेका बिरामी, रक्तकोषिका, बोनम्यारो समस्या भएका बिरामी र मलेरिया, डेंगु जस्ता सङ्क्रमणजन्य रोग भएका मानिसमा प्लेटलेट्सको कमी हुने गर्छ। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अनुसार मानिसको शरीरमा प्रति माइक्रोलिटर रगत बराबर एक लाख ५० हजारदेखि चार लाखसम्म प्लेटलेट्स हुनुपर्छ। यदि प्लेटलेट्स २० हजारभन्दा कम छ र शरीरका विभिन्न भागबाट रगत बगेको छ भने मात्र प्लेटलेट्स चढाउनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका उल्लेख छ। 

शरीरमा प्लेटलेट्सको कमी हुँदा रगत बग्ने समस्या आउने र प्लेटलेट्सको समस्या बढी हुँदा रगत जम्ने समस्या उत्पन्न हुन्छ जसले गर्दा स्ट्रोक र हृदयाघातको समस्या निम्तने उहाँ बताउनुहुन्छ। तर, पछिल्लो समय डेंगु सङ्क्रमण भएका बिरामीले प्लेटलेट्सको मात्रा ४०/५० हजार हुँदा पनि जथाभाबी चढाउने गरेको डा.नेपाल सुनाउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “निर्देशिका अनुसार हाम्रो शरीरमा २० हजार भन्दा कमी प्लेटलेट्स छ र शरीरका विभिन्न भागबाट रगत बगेको छ भने मात्र प्लेटलेट्स चढाउनुपर्छ। तर, पछिल्लो समय यसको मात्रा ४०/५० हजार हुँदा पनि जथाभाबी प्लेटलेट्स चढाएको देखिन्छ। जसले गर्दा बजारमा रगतको माग बढ्दै गएको छ।” जथाभाबी प्लेटलेट्स चढाउँदा शरीरमा अन्य समस्या निम्तने हुँदा जथाभाबी प्लेटलेट्स नचढाउन उहाँको सुझाव छ। 

रगतबाट छुट्याएको प्लेटलेट्स सुरक्षित भण्डारणका लागि २० देखि २४ डिग्री तापक्रममा राखिएको भए पाँच दिनसम्म प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ। जुन रगत समूहको प्लेटलेट्स प्रयोग गर्न मिल्ने डा.नेपालको भनाइ छ।  प्लेटलेट्स  भनेको के हो ? यो शरीरमा किन आवश्यक पर्छ ? यसको व्यवस्थापन कसरी गर्ने ? प्लेटलेट्स कस्तो अवस्थामा दिने लगायतका  विषयमा केन्द्रित भएर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका रक्तसञ्चार विशेषज्ञ डा.विपीन नेपालसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि  मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो कुराकानी : 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।