• २३ वैशाख २०८१, आइतबार

स्कुल बसमा जोखिम बढ्दै

blog

काठमाडौँ, कात्तिक १८ गते । बुधबार स्कुल बसमा यात्रा गरिरहेका १३ वर्षीय आयुष्मान दाहालको लाजिम्पाटस्थित सडक किनारको रुखमा टाउको ठोक्कियो । बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनी बेस्ट इलिमेन्ट्र मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्ययनरत थिए । 

बसभित्र रहेका विद्यार्थीलाई सुरक्षित साथ राख्नु र कुनै अप्ठ्यारो भयो भने सहजीकरण गर्नु सहयोगी वा बसका सहचालकको दायित्व हो तर यो घटनामा सहयोगीको भूमिका प्रभावकारी देखिएन । जसले गर्दा बालकले अकालमै मृत्युवरण गर्नुप¥यो । 

केही वर्षअघि ललितपुरको छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको मृत्यु भएको थियो । विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेपछि सोही बसको पछाडिको चक्काले किचेको थियो । केही समयअघि बाराको निजगढ नगरपालिका पानीट्याङ्कीमा स्कुल बसले किच्दा दुई वर्षीय छोरा आयुष राय यादवको निधन भएको थियो । 

आफैँले पढेको स्कुलको बसले किचेर विद्यार्थीको निधन भएको घटनाका यी उदाहरण मात्रै हुन् । बालबालिकाको सुरक्षा संवेदनशीलतालाई ख्यालै नगरी मनपरी रूपमा सवारीसाधन चलाउँदा बसभित्रै एकआपसमा ठोक्किएर विद्यार्थी घाइते भएका घटना प्रशस्तै छन् । सिट क्षमताभन्दा धेरै विद्यार्थी कोचेर राख्नु, सिटमा बसे पनि विद्यार्थी चढेको सवारीसाधन उच्च बेगमा दौडाउँदा झ्यालमा ठोक्किनुलगायतका घटना हिजोआज सामान्य भइसकेका छन् । धेरैजसो ठाउँमा भइरहने हुनाले अभिभावकले यस्ता घटनालाई सामान्य रूपमा लिँदै बाहिर ल्याउन चाहँदैनन् । 

सामान्य ठान्दाठान्दै स्कुल सञ्चालक र बस चालकको लापरबाहीका कारण अबोध बालबालिकाले ज्यान गुमाउनुपरेको घटना बढिरहँदा पनि यसलाई न्यूनीकरण गर्ने विषयमा भने प्रभावकारी पहल भएको पाइँदैन । सीमितबाहेक अधिकांश विद्यालयले यस्ता घटनालाई संवेदनशील रूपमा लिएको समेत पाइँदैन । केही स्कुल सञ्चालकले विद्यार्थीको सुरक्षाका लागि प्रशस्तै सावधानीका उपाय अपनाउने गरेको दाबी गर्छन् तर यस्ता घटना बढिरहँदा उनीहरूको दाबी फितलो साबित भएको छ । 

टाढा टाढाबाट विद्यार्थी ल्याउने स्कुलहरूले आफ्नो सवारीसाधन नहुँदा सार्वजनिक यातायातलाई भाडामा प्रयोग गर्ने गरेका छन् । कतिपय अवस्थामा यस्ता सवारीसाधनमा विद्यार्थीलाई चढाउने र ओराल्ने सहयोगीसमेत हुँदैनन् । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्कुलको आफ्नै सवारीसाधन नहुनु र भए पनि सवारी साधनभित्र पर्याप्त सहयोगी नहुनु विद्यार्थी दुर्घटनामा पर्नुको मुख्य कारण रहेको बताउनुभयो । स्कुले बसका चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गर्नु पनि दुर्घटनाको अर्को कारण रहेको छ । 

केही समयअघि निजी विद्यालय सञ्चालक र ट्राफिक प्रहरीले स्कुले सवारीसाधनका चालकबारे अनुगमन गर्दा चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको थियो । यसरी चेकजाँच गर्दा एकैदिन उपत्यकामा मात्रै १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको थियो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले स्कुल सञ्चालकलाई विद्यार्थीको सुरक्षाका लागि सावधानी अपनाउन पटक पटक निर्देशन दिए पनि दुर्घटनालाई निमिट्यान्न पार्न नसकेको बताउनुभयो । “विगतमा ट्राफिक प्रहरीसँग मिलेर सचेतनासम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेका थियौँ । तैपनि घटना न्यूनीकरण गर्न सकेनौँ,” उहाँले भन्नुभयो, “पछिल्लो घटनाले विद्यार्थीको सुरक्षामा चिन्ता थपिएको छ । चुनावपछि फेरि मुलुकभर नै विद्यार्थी सुरक्षाका लागि अभियान सञ्चालन गर्छौं ।”

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।