• १२ साउन २०८१, शनिबार

राप्रपाको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

blog

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्षहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमार्फत राप्रपाले राजसंस्थालाई अभिभावकिय संस्थाको रूपमा राख्नुपर्ने बताएको छ । त्यस्तै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने राप्रपाको एजेण्डा छ । पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । उहाँले एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था हुनुपर्ने कुरा पनि घोषणापत्रमा समावेश गरिएको उल्लेख गर्नुभयो ।

राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाइने उल्लेख गरेको छ । अध्यक्ष लिङदेनले विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने बताउनुभयो । उहाँका अनुसार राजनीतिक दल रहित संवैधानिक परिषद् निर्माणको व्यवस्था गरिनेछ भने संवैधानिक अङ्गका नियुक्तिलाई राजनीतिक भागबण्डाबाट मुक्त गरी निष्पक्ष, वस्तुगत र पारदर्शी बनाइनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त तुल्याइने घोषणापत्रमा उल्लेख छ भने न्यायपालिकाको विश्वसनीयता पुनर्स्थापित गर्नका लागि न्यायपालिकालाई पुनः संरचना गर्ने अध्यक्ष लिङदेनको भनाइ छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने भनेको छ । असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै छिमेकी मुलुक लगायतका सबै मित्रराष्ट्रहरूसँग समनिकटताको सम्बन्ध कायम गरिने उल्लेख गरिएको छ । नेपालको भूभाग कसैको विरुद्ध प्रयोग हुन नदिने पनि उल्लेख गरिएको छ । त्यस्तै सबै प्रकारका असमान सन्धि, सम्झौताहरूको संशोधन तथा खारेजीका लागि आवश्यक कूटनीतिक प्रयास गरिने बताइएको छ ।

राप्रपा अध्यक्ष लिङदेनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीको प्राथमिकता पार्टीको मुद्दाहरू स्थापित गर्न केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘विगतको सत्ता केन्द्रित राजनीतिको तितो अनुभवबाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति गर्ने छैन ।

आगामी दिनमा राप्रपाको प्राथमिकता राप्रपाको मुद्दाहरू स्थापना गर्न केन्द्रित हुनेछ । आगामी संसदमा जनताको चाहना र अभिमतलाई आफ्नो मूल आधार मानेर आफ्नो भूमिका निर्धारण गर्नेछ ।’

घोषणापत्रमा राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य, हवाई, खानेपानी, विद्युत्, ग्याँस तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायतका औद्योगिक क्षेत्रमा हडताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइने बताएको छ ।