• १९ वैशाख २०८१, बुधबार

काठमाडौं क्षेत्र नं. ५ निर्वाचन

गठबन्धन र एमाले उम्मेदवारलाई १४ स्वतन्त्रको चुनौती

blog

सपना थामी

काठमाडौं, कात्तिक १० गते । काठमाडौं क्षेत्र नम्बर ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (६८) र सत्तारुढ गठबन्धनको तर्फबाट  नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल (४७) बीच मुख्य प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं– ५ मा जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मगर (४६) राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती (६८), नेपाल मजदुर किसान पार्टीका शैलेश डङ्गोल (४०), लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी (६८) उम्मेदवार हुनुहुन्छ ।

एमालेले काठमाडौं क्षेत्र नम्बर ५ प्रदेशसभा (क) मा नारायण सिलवाल र प्रदेशसभा (ख) मा दीपक निरौलालाई मैदानमा उतारेको छ । उहाँहरूको प्रतिस्पर्धा सत्ता गठबन्धनका प्रदेशसभा (क) मा भैरव सापकोटा र प्रदेशसभा (ख) मा श्यामबहादुर खड्कासँग हुनेछ । 

प्रतिस्पर्धाको पुरानो नतिजा

२०७४ सालमा एमाले नेता ईश्वर पोखरेल र कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतबीच चुनावी प्रतिस्पर्धा भएको थियो । पोखरेलले महतलाई नौ हजार आठसय बढी मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेल २३ हजार २९ (५१.५१ प्रतिशत) मत ल्याएर विजयी हुँदा महत १३ हजार १६९ (२९.४५ प्रतिशत) मत पाएर पराजित हुनुभएको थियो । दोस्रो बन्नुभएका विवेकशील साझा पार्टीका उज्ज्वलबहादुर थापाले ६ हजार ८५३ (१५.३३ प्रतिशत) मत ल्याउनुभएको थियो । 

एमाले नेता पोखरेल २०६४ र २०७० को निर्वाचनमा कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित हुनुभएको थियो ।  पोखरेल मतदाता भेटघाट कार्यक्रममा अहिले व्यस्त हुनुहुन्छ । पोखरेलले आफू निर्वाचित भएमा समृद्ध नेपाल र सुखी नेपालीको मुख्य अभिभारालाई साकार पार्न लागिपर्ने बताउनुभयो । नागरिकको समस्या समाधानमै आफ्नो मुख्य ध्यान जाने बताउनुहुँदै नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, सामाजिक सद्भाव कायम गर्ने र राष्ट्रिय अभिभारा पूरा गर्नेमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेल यस क्षेत्रका मतदाताले विकल्प खोजेको बताउनुहुन्छ । “अहिले निर्वाचन प्रचारप्रसारको कार्यक्रम चलिरहेको छ । सबै मतदातासँग भेट हुन्छ, उत्साहजनक स्थित छ । एउटा, युवा आएको खुसी व्यक्त गर्नुभएको छ । चुनाव जितेपछि के गर्ने भन्ने आधारहरूलाई व्यवस्थित रूपले प्रस्तुत गरेका छौँ”, यो अवस्थामा सकारात्मक प्रभाव विस्तार भएको उहाँले बताउनुभयो । 

दलको विकल्प दल नै हुन्छ

एमालेका काठमाडौं क्षेत्र नम्बर (क) का उम्मेदवार नारायण सिलवालले अहिले निर्वाचन परिचालन कमिटी एवम् पार्टीको आन्तरिक तयारी भएको जानकारी दिनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “मतदातामा जाने, शुभकामना आदानप्रदान कार्यक्रम राख्दै अघि बढेका छौँ । म पहिला पनि यो क्षेत्रमा प्रतिनिधित्व गरेकाले आउने दिनमा पनि शुभकामना प्राप्त गर्नेछु ।” निर्वाचनमा धेरै प्रतिनिधि हुन खोज्नु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । संसदीय व्यवस्थामा दलहरूको विकल्प दल नै हुने उहाँ बताउनुभयो ।

काठमाडौं ५ को प्रदेश (ख) का एमाले उम्मेदवार दीपक निरौलाले निर्वाचन आचारसंहिताभित्र रहेर भेटघाट कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । “समग्रमा पहिलो चरणको अभियानमा जनताको उत्साहपूर्ण सहभागिता पाएका छौँ । विगतमा एमाले सरकारले गरेका काम यसप्रति जनता सकारात्मक छन् । राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका, नागरिकता विधेयक, जमिनको सुरक्षाको विषयवस्तुमा, खासगरी, नेपालको दुई छिमेकी चीन र भारतसँग समान दूरीमा असंलग्नताको आधारमा नीति अगाडि सार्ने काम ग¥यो । जनताका केही पीडा पनि पाएका छौँ”, उहाँले भन्नुभयो । अबको निर्वाचनमा विगतमा प्राप्त मत सुरक्षित राख्दै थप अग्रता प्राप्त हुने विश्वास उहाँको छ । 

काठमाडौं ५ का प्रदेशसभा (क) का कांग्रेसका उम्मेदवार भैरव सापकोटाले देशले युवा नेतृत्वको आवश्यकता बोध गरेकाले यस क्षेत्रमा युवाको सम्भावना बढी रहेको बताउनुभयो । सापकोटाले भन्नुभयो, “राजनीतिक व्यवसाय होइन, त्याग, निष्ठाको हुनुपर्छ, पूर्णरुपमा सामाजिक सेवामा समर्पित हुनुपर्छ भनेर विश्वास गरेका छौँ ।”

प्रधानमन्त्री, राष्ट्रपति निवासलगायत विदेश कूटनीतिका संवेदनशील र विशेष महत्त्वका राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्था अवस्थित यो क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुहुन्छ । हाडीगाउँ क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सापकोटा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा युवा नेतृत्वको मुख्य जोड रहने उल्लेख गर्नुहुन्छ । 

यसैगरी, प्रदेशसभा (ख) का कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्काले निर्वाचन आचारसंहिता लागू भएकाले केही दिनपछि मात्रै प्रचारप्रसारमा व्यस्त रहने बताउनुभयो । विगतमा पटक–पटक चुनाव जितेकाबाट गएको पाँच वर्षमा नीति तथा विकास निर्माण लगायतका कुनै पनि काम नभएको उहाँको गुनासो छ । “अहिले कांग्रेसको पोजिशन राम्रो छ । हामी सबै नयाँ साथीसँग छौँ । काठमाडौं क्षेत्र नम्बर ५ भनेको राजधानीको पनि राजधानी हो । सबै सचेत नागरिक हुनुहुन्छ, गठबन्धनको पनि साथ, सहयोग छ” उहाँले भन्नुभयो । 

स्वतन्त्रको लहर 

काठमाडौं क्षेत्र नम्बर ५ मा दल र स्वतन्त्र उम्मेदवारको सङ्ख्या झण्डै बराबरी छ । राजनीतिक दलबाट १५ जना उम्मेदवार बन्दा र स्वतन्त्र उम्मेदवार १४ हुनुहुन्छ । स्वतन्त्रमध्येबाट पनि सेलरोटी चुनाव चिन्हका रञ्जु दर्शना (२७) को चर्चा अलि बढी छ । रञ्जु दर्शना अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा विवेकशील पार्टीका उम्मेदवार बन्दा २३ हजार बढी मत ल्याउनुभयो । 

काठमाडौं ५ मा एमालेका पोखरेल, कांग्रेसका पौडेल लगायतका बलिया प्रतिद्वन्द्वी रहे पनि अन्य दल तथा स्वतन्त्रका सबै उम्मेदवारहरू आफ्नो पक्षमा मत आउने दाबी गरेका छन् ।  

स्वतन्त्र उम्मेदवार दर्शनाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्नुहुँदै यो पटक धेरै युवा स्वतन्त्र उम्मेदवारमा उठेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरू राजनीतिबाट विमुख हुनु हुँदैन । आफू आबद्ध दल सिद्धान्त विपरीत आधारहीन काम गरेको भएर राजीनामा दिएर बसेको उहाँले बताउनुभयो ।”

निर्वाचन आयोगका अनुसार काठमाडौं प्रतिनिधिसभा ५ अन्तर्गत प्रदेशसभा (क) मा मतदाता सङ्ख्या २७ हजार ५६७ रहेको छ । १३ मतदान स्थल रहेको यो क्षेत्रमा ३२ वटा मतदान केन्द्र रहेको छ । प्रदेशसभा क्षेत्र (ख) मा ४३ हजार ३५२ मतदाता रहेका छन् । १८ मतदानस्थल भएको यो क्षेत्रमा मतदान केन्द्रको सङ्ख्या ४९ रहेको छ ।   

काठमाडौं ५ को प्रदेश १ (क) मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २, ४, ५, प्रदेश (ख) मा कामपाको वडा नम्बर ३, मा बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७ र र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ क्षेत्र पर्दछन् ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।