• १३ साउन २०८१, आइतबार

सल्यानमा गठबन्धन दलबीच सहमति

blog

सल्यानमा भएको सत्ता गठबन्धनबीच संयुक्त कार्यक्रम र पत्रकार सम्मेलन । तस्बिर: प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक ८ गते । आन्तरिक असहमति हुँदा साझा कार्यक्रम बनाउन नसकेको सत्ता गठबन्धन दलबीचमा एकताबद्ध भएर प्रचारप्रसार लगायतका कार्य गर्ने सहमति भएको छ । 

स्थानीय तहको निर्वाचनमा थोरै मत प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा भाग पाए पछि सल्यानमा काँग्रेसका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिनुभएको छ । यहाँका माओवादी र काँग्रेसको  प्रतिनिधि सभामा आ आफ्नै दाबी थियो । 

सत्ता गठबन्धनको चुनावमा सिट भागबन्डा गर्दा प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वाला, प्रदेश क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र क्षेत्र नं.२ मा नेपाली काँग्रेसका सुरेश अधिकारी उम्मेदवार रहनुभएको छ । 

नेपाली काँग्रेसका जिल्ला सभापति केसबहादुर विष्ठले आपसी समझदारी गरेर साझा बुझाइ बनाएर एक ढिक्का भएर कार्यक्रम तय गर्ने सहमति भएको बताउनुभयो  । उहाँका अनुसार आन्तरिक समस्या समाधान गर्न समय लागेकाले दलहरू संयुक्त कार्यक्रम बनाउन ढिला भएको हो । 

संयुक्त दलको बैठक बसी गठबन्धन दलका साझा उम्मेदवारहरूलाई विजयी बनाउनको लागि निर्वाचनसम्बन्धी विभिन्न संयन्त्रहरू गठन गरेको छ । नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले जिल्ला निर्वाचन परिचालन समिति संयोजक नेकपा माओवादी केन्द्र, जिल्ला अनुगमन समिति संयोजक नेपाली काँग्रेस, जिल्ला प्रचारप्रसार समिति संयोजक नेकपा एकीकृत समाजवादी, निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक नेकपा माओवादी केन्द्र र निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक नेपाली काँग्रेस रहने निर्णय गरिएको  बताउनुभयो । 

यस्तै उक्त समितिका संयोजक, सहसंयोजक, सचिव, प्रवक्ता तथा सदस्यहरू यही कात्तिक १३ गते बस्ने जिल्ला स्तरीय बैठकले पूर्णता दिने छ । यस्तै गठबन्धनमा रहेका दलहरूको जिल्लास्तरीय संयुक्त भेला यही कार्तिक १३ गते खलङ्गामा बस्ने निर्णय भएको छ । नेकपा एकीकृत समाजवादी सल्यानका अध्यक्ष हरि केसीले  कात्तिक १३ गते नै जिल्लास्तरीय गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार गठबन्धन दलका साझा उम्मेदवार विरुद्ध गतिविधि नगर्न गठबन्धन दलको पार्टी पङ्क्तिलाई निर्देशन दिँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिका सम्बन्धमा अनुगमन समितिले सिफारिस गरेअनुसार हुने निर्णय गरिएको छ ।

यो पनि पढ्नुहोस

व्यावसायिक खेती नहुँदा बजारमा फूलको अभाव

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

Author

प्रतीक इच्छुक शर्मा