• १० मंसिर २०८१, सोमबार

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

blog

पाल्पा, कात्तिक ८ गते । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो ।

यस क्षेत्रमा चार-पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिनुभएको छ । करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहुँदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने समस्या बर्सेनि झेल्दै आइरहेको चेतन पुलामीको गुनासो छ । 

नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो । पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिं थापाले बताउनुभएको छ ।