सिराज खान
नेपालगन्ज, चैत २५ गते । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ ।
विभिन्न प्राविधिक र कानुनी समस्याले लामो समयसम्म रोकिएको सो नहर निर्माण पुनः सुरु भएपछि स्थानीय किसान उत्साहित बनेका छन् ।
हालसम्म नहर निर्माणमा बाधा बनेका विद्युत पोल, भूमिगत केबल र खानेपानीका पाइपको व्यवस्थापन गर्दै नहर निर्माणको कामलाई तिव्र गतिले अघि बढाइएको सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार २३.४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
उक्त नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् ।विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको इन्जिनियर विष्टले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज–सुर्खेत सडक खण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब ५ किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ ।
रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले करिब एक अर्ब १२ करोड रुपियाँको लागतमा सो नहर निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ ।
कम्पनीका अनुसार हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ र असार मसान्तसम्म ४० प्रतिशत प्रगति पु¥याउने लक्ष्य राखिएको छ ।
उता, सिक्टा सिँचाइ आयोजनाका प्रमुख राजु आचार्यले विभिन्न निकायसँगको सहमतिमा नहर निर्माणको अवरोध हटाउँदै निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो ।
उहाँले नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको बताउनुभयो ।
यसले कृषि उत्पादन बढाउन मद्दत पुग्ने विश्वास गरिएको पनि आयोजना प्रमुख आचार्यले बताउनुभयो ।