• १० मंसिर २०८१, सोमबार

ढल्यो संस्कृति क्षेत्रको धरोहर

blog

जीवन बाँच्नु त यसरी पो बाँच्नु भनेजस्तै थियो उहाँको जीवन। एक शताब्दीको उमेर काटिसक्दा पनि उत्तिकै सक्रिय र सिर्जनशील। १०३ वर्षसम्मको उमेर खटेरै बित्यो, लेखेरै बित्यो, बोलेरै बित्यो। सरलता र सहजताका प्रतिमूर्तिका रूपमा बनेको चिनारीले नै ठडिएको थियो उहाँको व्यक्तित्व। बूढेसकालमा मुटु र पिसाबसम्बन्धी रोगका साथै दशैँको आगमनसँगै फैलिँदै गएको डेङ्गुको चपेटामा परेपछि सक्रिय र फूर्तिला सत्यमोहन जोशीको १०३ वर्षको शरीरलाई कमजोर बनाइदियो। लामो समयको ललितपुरको किस्ट अस्पताल बसाइपछि अन्ततः असोज ३० गतेको बिहान उहाँको निधन भयो। 

स्वास्थ्यमा सुधार, स्वास्थ्य स्थिर, स्वास्थ्यस्थिति जटिलजस्ता खबरमा धेरैको ध्यान केन्द्रित भइरहेकै बखत ललितपुरको किस्ट अस्पतालमा वाङ्गमय शताब्दीपुरुषको जीवनलीला समाप्त भयो। साहित्य, संस्कृति क्षेत्रका अविरल साधक; जसको सय वर्षको जीवन दिन गनेर मात्र बाँचेको जीवन होइन, सम्मानित र अनुकरणीय जीवन सत्यमोहन जोशीको जीवन। आरिसलाग्दो र प्रेरित जीवन; जसबाट सिक्न सकिने धेरै कुरा छन्। सरलता, सहजता अनि सजिला मान्छेका रूपमा सम्मानित एउटा गजबकै मान्छे।

शताब्दीको उमेरमा पनि ठमठम हिँडेर भ्याइनभ्याइको जीवन बाँच्नु भयो उहाँ, एक जना श्रद्धेय साधक। अनुभव र अध्ययनले खारिएको उहाँ उमेरले पनि परिपक्व मान्छे। ललितपुरको बखुंबहालमा जन्मिएर जीवनको एक शताब्दी त्यही थलोमा बिताउने उहाँ छरिनुभयो देश–विदेशमा, व्याप्त हुनुभयो सर्वत्र आफ्नै लेखन र साधनाले। लेखेरजत्तिकै विविध काम गरेर पनि साहित्य, संस्कृतिको क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल व्यक्तित्व। फुर्सद भन्ने कुरा शब्दकोशमै नभएजस्तो उहाँलाई कार्यक्रमका लागि अनेकौँ सँघार टेक्दैमा फुर्सदै भएन। समयमा खानपिउनमा पनि फुर्सद नहोलाजस्तो थियो उहाँको दैनिकी। यी सबैबाट टाढा बनेर ललितपुर महानगरपालिकास्थित किस्ट अस्पतालमा अन्तिम दर्शन गर्न आउनेहरूको भीड देख्दा लाग्थ्यो– जोशीप्रतिको सम्मान, श्रद्धा गर्नेहरूको कमी छैन। 

ललितपुरको बखुंबहाल कतिपयलाई नौलो र अपरिचित पनि लाग्थ्यो होला। अहिले त्यो ठाउँको परिचय शताब्दीपुरुष सत्यमोहन जोशीको जन्मथलो र कर्मथलोका रूपमा बढी मात्रामा चिनिन थालेको छ। त्यही थलोमा दिनहुँ भइरहने भीडमा मिसिन पुग्थेँ बेला बखत उहाँकै निवासमा। भेट्नेहरूको आउजाउ चलिरहेकै हुन्थ्यो। एकथरी उठ्न पाएको छैन अर्काथरी आइपुगिहाल्ने। प्रश्नै प्रश्न र अनेकौँ जिज्ञासा लिएर जानेहरू बढी भेटिन्थे। श्रद्धा र सम्मानका लागि, अतिथि र प्रमुख अतिथि बनिदिनुप¥यो भनेर जानेहरू पनि त्यत्तिकै। यस्तै एक पटकको भेटमा कुराकानीको थालनीमै सोधेँ यो उमेरमा पनि थाक्नुभएको छैन ? सधैँको दौडादौडमै देखिनुहुन्छ नि ?

अचेल चाहिँ धेरै कम गरिसकेँ, प्रमुख अतिथि, विशेष अतिथि बनिदिन भनेर गरेको आग्रह टार्न पनि सकिँदो रहेनछ। अर्को कुरा यो उमेरमा दिनभरि घर कुरेर बस्नुभन्दा कार्यक्रमतिर गए अर्काको मन राख्न पनि सकियो, समय पनि बित्ने। अचेल त कतिपयले मेरै सुविधाका लागि मेरै घरमा कार्यक्रम गर्नसमेत थालिसके।

सत्यमोहन जोशीको घर नै संस्कृतिको एउटा पक्षजस्तै लाग्छ। साहित्य र संस्कृतिको क्षेत्रका ज्ञाता त्यसमा पनि एक शताब्दीको उमेर काटिसकेको उहाँ, ८६ वर्षअघि बिहे गरेर भिœयाएकी ९९ वर्षीया राधादेवीको जोडी देख्न पाइन्थ्यो त्यही घरमा। त्यही घरमा सिर्जिए साहित्य–संस्कृतिका कैयौँ कृति। चुपचाप आफ्नै घरको आँगनमा बसिरहनुभएकी राधादेवीले जीवनमा सत्यमोहन जोशीको सम्मानित जीवनलाई हेर्दै आएको पनि जुग भइसक्यो। घर गृहस्थीमा बितेका उहाँका जीवनले पक्कै पनि जोशीलाई यहाँसम्म ल्याइपु¥याउन योगदान दिएकै हो। 

नेपथ्यमा बसेर उहाँले दिएको योगदान ठूलो छ। अब यो साथ पनि छुटेको छ, जीवनको झन्डै नौ दशकको यात्रामा राधादेवी एक्लिनुभएको छ, जीवनको लामो कालखण्ड साथ दिनुभएका सत्यमोहन जोशीले छाडेर गएपछि राधादेवीको जीवन शून्यजस्तै बन्न पुगेको छ। कला र साहित्य, संस्कृति र इतिहासका कुरा सोध्न जानेहरू, प्रमुख अतिथि, प्रमुख वक्ता बनिदिन प¥यो भनेर जानेहरू, श्रद्धा र सम्मानका लागि पुग्नेहरू सबैका लागि बाटो बन्द भएको छ बखुंबहालको त्यो घर; जहाँ बिते सत्यमोहनको जीवन। 

वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुंबहालमा जन्मिनुभएका उहाँले सिपाही र रैती, दैलाको बत्ती, फर्केर हेर्दा, जब घाम लाग्छ, सपना बिउँझन्छ, मृत्यु एक प्रश्न, बाघ भैरव, सुनकेशरी मैयाँ, चारुमतीजस्ता नाटक मात्र होइन, नेपाल भाषामा पनि कतिपय नाटक मञ्चन भएका छन् उहाँका। 

क्रान्तिका लहरहरू– कविता सङ्ग्रह, गुलाब र गुराँस निबन्ध सङ्ग्रह, पुरातìव एक रोचक कथा, नेपाली राष्ट्रिय मुद्रा, नेपाली लोक संस्कृति, नेपाली 

लोकगीत एक अध्ययन, नेपाली धातु मूर्ति विकासक्रम, नेपाली मूर्र्तिकलाको विकासक्रम, कर्णाली लोक संस्कृति, नेपाली चाडपर्व–संस्कृति, लामा र पाचुके–पद्यात्मक कथाजस्ता कृति प्रकाशमा आए उहाँका। 

साहित्यका विविध विधामा आफ्नैखाले योगदान दिए पनि धेरैले चिनेका र संस्कृतिविद् भनेर सम्बोधन गरिदिँदा साहित्यकार जोशीलाई न्याय नभएजस्तो लाग्छ। लेखनकै कुरा गर्ने हो भने नेपाली र नेपाल भाषामा उहाँको विशिष्ट योगदान छ। विशेषतः नाटक, काव्य लेखनमा चर्चित बने पनि उहाँलाई संस्कृतिविद्ले नै ओझेल पारेजस्तै लाग्छ। हामीलाई त यस्तै लाग्छ, उहाँलाई चाहिँ कस्तो लागेको छ त ? मैले के जानेको छु र ? न त मैले यो विषयमा गहन अध्ययन नै गरेको छु। २०१२ सालताकाको समयसम्म हाम्रो संस्कृति भनेको खानपान, रहनसहन, नाच आदि मात्र भनेर बुझ्नेहरू थिए। हाम्रो लोक संस्कृति नामक कृतिबाट २०१३ मा मैले पहिलो पटक मदन पुरस्कार पाएपछि संस्कृति भनेको लोकगीत पनि हो भन्न थालियो। त्यसपछि मलाई पनि संस्कृतिविद् भन्दै सम्बोधन गर्न थाले। अरूले संस्कृतिविद् नै भनेपछि मैले भन्ने कुरै भएन। 

जागिरको क्रममा गाउँघर बस्दा लोकले गाएका गीत सङ्कलन गरेर कृतिको रूप दिने काम गरेर संस्कृतिको क्षेत्रमा काम थाल्ने सत्यमोहन जोशीले त्यसपछिका दिनमा साहित्यसँगै संस्कृतिलाई पनि एकसाथ लिएर अघि बढ्दै आउनुभयो। संस्कृतिको क्षेत्रमा उहाँले धेरै महìवपूर्ण काम गर्नुभएको छ। कर्णालीजस्तो दुर्गम क्षेत्र पुगेर कर्णाली लोक संस्कृति नामक ग्रन्थ लेख्ने र संयोजन गर्ने काम गरेर उहाँले कर्णालीको समग्र अध्ययन गर्नुभयो। 

तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा गाईजात्रा महोत्सव थालनी गरेर संस्कृतिलाई पे्रक्षालयसम्म पु¥याएर गाईजात्राको अवसर पारेर त्यतिबेलाको पञ्चायती शासनकालमा व्यङ्ग्यको चरम प्रस्तुति गर्न सक्नु भनेको लरतरो कुरा थिएन। प्रज्ञाप्रतिष्ठानमा रहँदा उहाँले थालेका राष्ट्रिय नाटक महोत्सव, नेपालका मुद्राहरूको बृहत् अध्ययन गरिएको नेपाली राष्ट्रिय मुद्राजस्ता कृति, कलाकार अरनिकोलाई चिनाउने पुस्तक आदि हेर्ने हो भने उहाँले जेजति काम गर्नुभयो, नयाँ र उपयोगी नै गरेको देखिन्छ।

जीवनलाई पछाडि फर्केर हेर्दा गुनासो गर्ने ठाउँ देख्नुहुन्न उहाँ, सन्तोष र सम्मानको जीवन बाँच्दै आए पनि सय वर्ष पुग्न दुई वर्षअघि झन्डै मृत्युको मुखमा पर्न लागेको बेलामा नई जोडीले देखाएको तत्परता र तत्कालीन सरकारले गरेको सहयोगले पुनर्जीवन पाएको कुरा बिर्सन चाहेर पनि बिर्सिन नसक्ने घटनाका रूपमा लिनुभएको थियो उहाँले। सन्तोष चाहिँ ? सन्तोषकै जीवन बाँच्दै आएको छु, तीन–तीन पटक मदन पुरस्कार पाएँ, मानसम्मान पाएकै छु। 

पछिल्लो समय मैले लेखेको नाटक याज्ञवल्क्य (दैलाको बत्ती)लाई संस्कृत भाषामा अनुवाद गरेर प्रकाशित भएको छ, यसमा सबैभन्दा सन्तोष लागेको छ।

आफ्नो जीवनकालमै नेपाली लेखकले नोबेल पुरस्कार पाएको हेर्ने इच्छा बारम्बार अभिव्यक्त गर्दै आउनुभएका जोशी नेपाली भाषा, साहित्य, संस्कृति र यसका साधकप्रति सद्भाव र सम्मान प्रकट गर्ने सन्दर्भमा उदार हुनुहुन्थ्यो। सबैसँग त्यत्तिकै सुमधुर सम्बन्ध राख्न सक्ने स्वभावले पनि उहाँ बढी सम्मानित हुनुहुन्थ्यो। नेपाली माटोमा जन्मिएका यस्ता साधकको अवसानसँगै यतिखेर नेपाली साहित्य, संस्कृितको क्षेत्र शोकमा परेको छ। भावपूर्ण श्रद्धाञ्जलि विशिष्ट साधक सत्यमोहन जोशीप्रति।