• ६ फागुन २०८२, बुधबार

काठमाडौँ–६ का मतदाता भन्छन्

‘गरिखाने वातावरण देऊ’

blog

राष्ट्रिय समाचार समिति

काठमाडौँ, फागुन ६ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसै गरी बढिरहेको छ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी चहल पहल बढेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । यस्तै अभियान काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा पनि जारी छ । यस क्षेत्रमा पनि उम्मेदवारबिच रोचक उपस्थिति रहेको छ । कतिपय मतदाताले विगतमा गरेका काम र अब गर्नुपर्ने कामबारे प्रश्न सोधिरहेका छन् । कोही उम्मेदवारका कुरामा मुन्टो हल्लाउँदै मौन समर्थन गर्छन् भने कतिपयले प्रतिप्रश्न पनि गरिरहेका दृश्य देखिएका छन् ।

उम्मेदवारहरू आआफ्नो घोषणापत्रका आधारमा मत मागिरहेका दृश्य देख्न सकिन्छ । तारकेश्वरका मतदाता विष्णु लामिछानेले स्वास्थ्य, शिक्षा, रोजगार सुनिश्चित गर्दै नागरिकले सहज रूपमा सरकारी सेवा पाउने वातावरण गराउनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताउनुभयो । यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताउँदै लामिछानेले भन्नुभयो, “अहिलेसम्म उम्मेदवारसँग मेरो भेट भएको त छैन, भेटेपछि म स्वास्थ्य, शिक्षा, रोजगारबारे तपाईंको प्रतिबद्धता के हो, सरकारी सेवा सहज पाउनेबारेमा के सोच्नुभएको छ भनि प्रश्न गर्छु ।”

काठमाडौँ क्षेत्र नम्बर ६ फरक फरक तीन खालको भौगोलिक स्थितिमा विभाजित क्षेत्र हो । एउटा मुख्य सहर भएको क्षेत्र छ, जुन काठमाडौँ महानरगभित्र पर्छ । लैनचौर, बागबजारलगायत ठाउँ पनि यही क्षेत्रमा छ । अर्को बिच क्षेत्र छ महानगरभन्दा अलि पर र काँठभन्दा अलि तल टोखा र तारकेश्वर नगरपालिकाका केही वडा पर्छन् । धेरै जिल्लाबाट बसाइँ सरेर आएर सहर बनेको ठाउँ यसभित्र पर्छ । अर्को काँठ क्षेत्र जस्तै साङ्ला, झोर यहाँ रहेको छ । तीन भूगोलका फरक फरक मनोविज्ञान रहेका छन् र समस्या पनि फरक फरक रहेका छन् । टोखाकी राममाया शर्माले चुनावमा खुट्टै ढोगौँला जसरी नमस्कार गर्दै यो गर्छु र त्यो गर्छु भन्दै आइपुग्छन् तर पछि वास्तै गर्दैनन्, सबै नेता उस्तै पनि आलोचना गर्नुभयो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार दोहो¥याउँदा नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवार फेरेका छन् । यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवार बनेर तेस्रो स्थानमा चित्त बुझाएका नेता हिमाल (हिमलाल) शर्मालाई उम्मेदवार बनाएको छ । यहाँ पनि प्रमुख दलका उम्मेदवार नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । 

काठमाडौँ क्षेत्र नम्बर ६ मा कुल उम्मेदवार २० जना रहेका छन्, जसमा पाँच जना स्वतन्त्र रूपमा उठेका छन् । यहाँ नेकपा (एमाले) बाट अमनकुमार मास्के, नेपाली कांग्रेसबाट कृष्ण (सबुज) बानियाँ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हेमलाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार रहेका छन् । उनीहरू चार जनाबिच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । यस्तै राप्रपाबाट उद्धवराज भेटवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमारी वज्राचार्य र राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मीलगायतको उम्मेदवारी रहेको छ । काठमाडौँ ६ का एमालेका उम्मेदवार अमनकुमार मास्के बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिनुभएको छ । रास्वपाका शिशिर खनाल भने गत २०७९ को निर्वाचनमा विजयी भएर यसपालि पनि दोहो¥याउँदै हुनुहुन्छ । उहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा छोटो समय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री पनि बन्नुभएको थियो । मनमैँजुमा पसल चलाएर बस्नुभएका कृष्ण श्रेष्ठले अझै यो क्षेत्रमा विकास गर्न नपुगेको बताउँदै नागरिकको जीवन सहज रूपमा चल्ने वातावरण र काम गरेर खानेहरूलाई सहज हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । 

के भन्छन् उम्मेदवार ?

रास्वपाका उम्मेदवार खनाल आगामी १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउन नेपालको कानुन तथा नीतिगत सुधार गर्नुपर्ने र व्यवसाय गर्नका लागि सुरक्षित नेपाल बनाउनुपर्ने बताउँदै रोजगारी सिर्जना गर्नतर्फ आफू अग्रसर रहेको उल्लेख गर्नुहुन्छ । नेकपाका उम्मेदवार शर्मा पुस्तान्तरणको नयाँ बहस सुरु भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानमा ग्यारेन्टी गराइएको तर कार्यान्वयन नभएकाले त्यसलाई व्यवहारमै लागु गरेर देखाउन जरुरी रहेको बताउनुहुन्छ । एमालेका उम्मेदवार मास्केले भने यहाँका नागरिकको दुःखसुखको साथी नै आफू बन्न चाहेको बताउनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार बानियाँले मतदाताको दैलो दैलोमा गएर मतदातालाई बुझाउँदै जेनजी र नागरिकले खोजेको परिवर्तनको संवाहक बनेर उभिने बताउनुभएको छ ।