लीलाराज खड्का
बिर्तामोड, फागुन ६ गते । प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मेचीनगर–१०, धाइजन निवासी प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया अस्मिता देवानबिच अध्ययन–अध्यापनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि देवानले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ।
बिर्तामोडस्थित इन्द्रेणी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत देवानले प्रेममा धोका पाएकै कारण गत मङ्सिर ७ गते विष सेवन गरेकी थिइन्। उपचारका क्रममा बिएन्डसी अस्पतालमा मङ्सिर ९ गते उनको मृत्यु भएको मृतककी सानीआमा कुमारी हेम्ब्या लिम्बूले जानकारी दिनुभयो।
आत्महत्याअघि लामो ‘सुसाइड नोट’ समेत फेला परेको र त्यसमा शारीरिक तथा मानसिक दबाबका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ।
आत्महत्या दुरुत्साहन मुद्दामा प्रधानलाई काठमाडौँबाट फागुन १ गते पक्राउ गरी झापा ल्याइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। प्रधानको काठमाडौँस्थित अर्की युवतीसँगको सम्पर्क तथा उनी हराइरहेको विषयमा परेको उजुरीका आधारमा थप अर्को मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।