• २६ फागुन २०८२, मङ्गलबार

अब विश्वासको मत चाहिन्छ : कांग्रेस सभापति थापा

blog

जनकपुरको सभालाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति गगन थापा ।

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ६ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको अवस्था बदल्ने स्पष्ट सोच र दृढ सङ्कल्पका साथ पार्टी निर्वाचनमा होमिएको बताउनुभएको छ। बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको ‘प्रतिज्ञा सभा’लाई सम्बोधन गर्दै उहाँले कांग्रेसका उम्मेदवारलाई मतदातासँग भोट मात्र नभई विश्वास माग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “भोट त सधैँ पाएकै हो, अब विश्वास माग्नुहोस्।”

सभापति थापाले मधेसबाट मधेसकै प्रतिनिधित्व गर्दै चुनावमा होमिएको उल्लेख गर्दै आफू मधेसको नेता मात्र नभई ‘बेटा’ बनेर अघि बढेको बताउनुभयो। उहाँले कांग्रेस नै देश बनाउने शक्ति भएको दाबी गर्दै विगतमा पार्टीले परिवर्तनका निम्ति गरेका काम र बलिदानको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “महेन्द्रनारायण निधिजस्ता अग्रज नेताहरूको सपना पूरा गर्न मधेस आएको हुँ।”

मधेसप्रतिको भावनात्मक सम्बन्ध व्यक्त गर्दै थापाले सहिद दुर्गानन्द झालाई आफ्नो छातीमा राखेको बताउनुभयो। “मधेसी आमाको रगत मेरो शरीरमा नभए पनि सहिद दुर्गानन्द झा मेरो छातीमा हुनुहुन्छ,” उहाँले भन्नुभयो। मधेस र कांग्रेसको सम्बन्ध सामान्य नरहेको उल्लेख गर्दै आगामी पाँच वर्षलाई स्वर्णिम बनाउने सङ्कल्पका साथ आफू आएको उहाँको दाबी थियो।

त्यसैगरी, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई कसले जित्छ भन्नेभन्दा पनि कसले देश सम्हाल्न सक्छ भन्ने आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नुभयो। उहाँले देशको नेतृत्व सक्षम र जिम्मेवार हातमा सुम्पिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

अर्का उपसभापति पुष्पा भुसालले ‘अबकी बार गगन सरकार’ भन्ने मूल मन्त्रका साथ पार्टी निर्वाचनमा होमिएको बताउनुभयो। सो कार्यक्रममा मधेसका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, केन्द्रीय तथा प्रदेश तहका नेता र कार्यकर्ताहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो।