१० वर्षको उमेरदेखि लेखनीको थालनी गरेका नियात्राकार युवराज नयाँघरे ठेट, झर्रो र नेपाली मौलिक शैलीका नियात्रा लेखकका रूपमा चर्चित हुनुहुन्छ । मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित उहाँ पछिल्लो समय निबन्ध–नियात्राका प्रतिनिधि लेखक भनेर पनि चिनिनुहुन्छ । नियात्रा र साहित्यिक गतिविधिमा केन्द्रित भएर गोरखापत्रका लागि सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :
नियात्रामा बाहिरी भूगोलको वर्णन बढी महत्वपूर्ण हुन्छ कि नियात्राकारको आन्तरिक दृष्टिकोण ?
नियात्रा लेखनमा पैतालाको डुलाइ र अन्तर्मनको हिँडाइ बरोबर हुन्छ । यी दुवैको सन्तुलित अभिव्यक्तिकै कारण उत्कृष्ट नियात्रा सिर्जना हुन्छ । विवरण र अनुभूतिका पाइला मिले मात्रै नियात्राको समग्र अनुहार उज्यालो हुन्छ ।
गैरआख्यान विधा भएकाले नियात्रामा कतिसम्म कल्पना वा भावना मिसाउन पाइन्छ ?
नियात्राले अनुभव र तथ्यलाई आत्मसात् गरेको हुन्छ । कतिपय सन्दर्भ र दृश्यलाई बढी आलोकित पार्न, मिठोमसिनो तुल्याउन कल्पना र भावनाका केही अंश आउँछन् । सपाट बयानले रचनाको आत्मिक स्वादमा तिक्खरपना नआउला कि !
एउटा सामान्य भ्रमण कसरी साहित्य वा जीवनदर्शनमा रूपान्तरण हुन्छ ?
यात्रा आफैँमा शिक्षा, चेतना र सूचनाको एउटा गहकिलो पाटो हो । यात्रा गर्दा समाज, संस्कृति, प्रकृति, पात्र र भूगोलका अनेकौँ पाटासँग नाता गाँसिएको हुन्छ । कहिलेकाहीँ कुनै गाउँ घुम्दा सुनिएका एक शब्द, एक भनाइले समग्र सभ्यता र दर्शनको झिल्को अनुभव गर्न सकिन्छ । नेपाल त पाइलैपिच्छे चेतनाको बलियो भावभूमि भएको देश हो । यहाँका हरेक परिवेशले जीवन जगत्का रहस्य, सम्बोधन र प्रसंगसँग नजिक्याउन सक्छन् । त्यसले जीवनमा नौलो भाव दिने कुरा ठान्छु म ।
अर्को भूगोलको ‘स्थानीय स्वाद’ र मौलिकतालाई आफ्नै भाषामा उतार्न कत्तिको कठिन हुन्छ ?
नियात्राका लागि यो सहज स्थिति कदापि होइन । जहाँ पुगियो त्यो पनि उतार्नु प¥यो, पाठकीय अभिरुचिका साथ । अन्यथा आत्मा एउटाको, जामा अर्काको अवस्था आउन सक्छ । टेकेको भूगोलको भाषा भेष, चरित्र र भावना लेखनमा आउन सकेन भने साइकल र हवाईजहाजको जस्तो नमिल्दो गति हुन सक्छ ।
लामो यात्राको अनुभवले तपाईंभित्रको ‘मान्छे’ र तपाईंको ‘जीवनदर्शन’ मा कस्तो बदलाव ल्यायो ?
मैले २५–२६ वटा देश र नेपालका सबै जिल्ला घुम्ने अवसर पाएँ । ती गुडेर, उडेर र हिँडेर सम्भव भएका छन् । सबै खालका पुगाइमा फरक भोगाइ र प्रभाव छन् । नेपालका विकट गाउँघरमा पुग्दा जीवनको साँचो धुकधुकी हाँसिरहेको भेट्थेँ, युरोपका सम्पन्न सहर गाउँ पुग्दा विज्ञानले फड्को मारेर रोइरहेको पाउँथेँ । यी दुवैको प्रभावले मलाई सरलतामा जीवनको खास सुवास छ भन्ने गहिरो ज्ञान दिएको छ ।
आजको डिजिटल र भ्लगिङको युगमा अक्षरमा लेखिने नियात्राको सान्दर्भिकता कसरी जोगाउने ?
अक्षरको आलोक, गौरव र महत्ता अनन्यतम् छ । पैतालामा ठेला उठाइ उठाइ गरेको भ्रमणबाट सयौँ पुस्तक पढेको विशिष्ट चेतना र ज्ञान मान्छेले पाउन सक्ने छन् । डिजिटल संसारमा आँखाको परेलीलाई केही क्षण झल्याकझिलिक पार्ने खुबी भए पनि अन्तर्मनका दृष्टि खोल्ने शक्ति र तागत अक्षरमै हुन्छ । डिजिटलबाट मान्छे ढिलोचाँडो वाक्क हुन्छ र फेरि अक्षरकै संसारमा फर्किने कुरामा ढुक्क छु म । भुइँसँग जीवनको मिठो सुवास र आवाज छ– डिजिटलसँग हृदयको स्पर्श छैन । यो कुरा नियात्राले बोल्दै, भन्दै र बताउँदै आएको छ । अहिले कम ख्याल गरिए पनि अन्ततः भोलिका लागि मननीय विषय हो ।