• ७ फागुन २०८२, बिहिबार

वैध सरकारको आधार निर्वाचन

blog

विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई २०१६ वैशाख २१ गते सम्पन्न भएको निर्वाचन नै नेपालको इतिहासमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज (फागुन ७ गते) हामी १० औँ निर्वाचन दिवस उत्साहका साथ मनाउँदै छौँ । 

गत भदौ २३ र २४ गतेको विद्रोहपछि सम्माननीय राष्ट्रपतिज्यूबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन आउन १४ दिन मात्र बाँकी छ । यस्तो बेला निर्वाचन दिवस मनाइरहँदा आयोगका लागि मात्रै नभएर आममतदाता, नागरिक, राजनीतिक दल एवं उम्मेदवारका लागि पनि आजको दिन विशेष र अविस्मरणीय रहेको महसुस मैले गरेको छु । निर्वाचन आयोगको ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आयोगको नेतृत्वमा सबै सरोकारवालाको समन्वय, सहयोग, साझेदारी एवं सहकार्यमा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास लिएको छु । 

लोकतान्त्रिक शासनव्यवस्थालाई जीवन्त राख्न एवं जनउत्तरदायी बनाउनका लागि आवधिक निर्वाचनको भूमिका महत्वपूर्ण रहन्छ । लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र स्वाभाविक प्रक्रियाको एक हिस्सा हो । लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासनव्यवस्थालाई पुनर्ताजगी गर्ने कार्य गर्छ । विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो । स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउँछ । 

निर्वाचनमा दल एवं उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नु पर्छ । निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ । जनताले निर्वाचनमार्फत आफ्ना प्रतिनिधिलाई दिएको जिम्मेवारी आवधिक रूपमा परीक्षण गरिरहेका हुन्छन् । 

नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । 

निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने लोकतान्त्रिक विश्वासलाई आयोगले डगमगाउन दिएको छैन । निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत एवं विश्वास माग गर्ने उम्मेदवार दुवै कानुनबमोजिम निर्वाचनमा सहभागी हुन् स्वतन्त्र रहन्छन् । सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानुनबमोजिम निर्वाचन प्रक्रियामा निर्बाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन ।

नेपालको संविधानको भाग २४ धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा स्थापित गरिएको छ । संविधान तथा सङ्घीय कानुनमा भएको व्यवस्थाबमोजिम आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचनमार्फत नागरिकको मताधिकारलाई निर्बाध उपयोग गर्ने अवसर प्रदान गरी लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आयोगले नेपालको संविधान र सङ्घीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक भूमिका निर्वाह गर्छ । 

नेपालको संविधानको प्रस्तावनामा उल्लिखित बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, बालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्न निर्वाचन एक महत्वपूर्ण आधारस्तम्भ हो । नेपालको संविधान एवं कानुनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारबाट जनप्रतिनिधि छनोट गर्ने अधिकार सुनिश्चित गरेको सन्दर्भमा प्रत्येक बालिग नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी हुने, मतदान गर्ने, निर्वाचनसम्बन्धी सूचना प्राप्त गर्ने तथा हरेक नागरिकको छान्ने र छानिने अधिकारको प्रत्याभूति गर्न निर्वाचन आयोग क्रियाशील रहँदै आएको छ । 

१० औँ निर्वाचन दिवसका अवसरमा म राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछु । 

(१० औँ निर्वाचन दिवसका अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दिनुभएको सन्देश)