केदार तिमल्सिना
बनेपा, फागुन ६ गते । अरनिको राजमार्ग अन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बुधबार बिहान करिब ८ः१५ बजेको समयमा बनेपा चारदोबाटोबाट तीनदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००४ क. ३४२३ नम्बरको टिप्परको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०६२ प. ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट धुलिखेल नगरपालिका–४, खड्पुका ३१ वर्षीय अमन प्रधानको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । टिप्परको ठक्करबाट मृत्यु भएका युवाको शव हतारहतार अस्पताल पठाएको भन्दै आक्रोशित स्थानीयवासीले दुर्घटनामा संलग्न टिप्परमा तोडफोड तथा आगजनी गरेका छन् । आक्रोशित स्थानीयले टिप्परमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । घटनामा संलग्न रहेको टिप्परले निर्माणाधिन सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजना अन्तर्गत साँगा–धुलिखेल सडक खण्डको निर्माण समग्री बोकेको थियो ।