• ७ फागुन २०८२, बिहिबार

घरदैलोमै केन्द्रित बैतडीका उम्मेदवार

blog

केशव राज भट्ट 
वाशुलिङ (बैतडी), फागुन ७ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी गतिविधि तीव्र बनेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू आमसभा र ठुलो जमघटभन्दा घरदैलो अभियानमै बढी केन्द्रित भएका छन् । प्रचारप्रसारको शैली बदलिँदै जाँदा मतदाताको आँगनमै पुगेर संवाद गर्ने रणनीतिमा अधिकांश दल उत्रिएका हुन् ।

नेपाल  एमाले : घरदैलोमै केन्द्रित 
यस पटक पार्टीले प्रत्येक वडा र पालिकामा घरदैलो अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोविन्द गिरीले बताउनुभयो ।

आमसभाभन्दा प्रत्यक्ष भेटघाट प्रभावकारी हुने निष्कर्षसहित उम्मेदवार घरदैलोमै व्यस्त रहेको उहाँले बताउनुभयो । एमालेका उम्मेदवार दामोदर भण्डारीसहितको टोली मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत मागिरहेको गिरीको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस : वडा–वडामा प्रचार समिति 
नेपाली कांग्रेसले पनि घरदैलो अभियानलाई नै प्राथमिकतामा राखेको जनाएको छ । सबै वडामा प्रचारप्रसार समिति गठन गरी अभियान सञ्चालन गरिएको कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनुभयो ।

उम्मेदवार चतुरबहादुर चन्दसहित एक चरणको पालिका स्तरीय घरदैलो सम्पन्न भइसकेको र हाल वडास्तरमा अभियान तीव्र पारिएको अर्का सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । प्रचारप्रसार समितिका संयोजक तथा उप सभापति वीरबहादुर बिष्टले पनि पार्टी घरदैलो अभियानमै केन्द्रित रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : एजेण्डासहित घरदैलो 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घरदैलो अभियानलाई निरन्तरता दिएको जनाएको छ । रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी का अनुसार घरदैलोमार्फत मतदाता समक्ष पार्टीको एजेण्डा राख्ने काम भइरहेको छ । रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीसहितको टोली जिल्लाभर सक्रिय रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) : प्रतिबद्धता पत्रसहित अभियान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार परमानन्द भट्ट प्रतिबद्धता पत्रसहित घरदैलो अभियानमा पुगिरहनुभएको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक प्रतिबद्धता पत्र नै मतदाता समक्ष प्रस्तुत गर्दै जिल्लाका सबै पालिका र वडामा पुग्ने योजना रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : सबै पालिकामा सक्रियता 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष इन्द्र देवशरण भट्टका अनुसार उम्मेदवार भुपेनबहादुर चन्दसहितको टोलीले सबै पालिकामा घरदैलो अभियान तीव्र बनाएका छन् ।

अन्य दल पनि सक्रिय
जिल्लामा अन्य दल र स्वतन्त्र उम्मेदवारहरू पनि मत माग्न घरदैलो अभियानमै सक्रिय छन् । फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रमुख प्रतिस्पर्धीका रूपमा एमालेबाट दामोदर भण्डारी, कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपाबाट परमानन्द भट्ट, रास्वपाबाट हरि मोहन भण्डारी र राप्रपाबाट भुपेनबहादुर चन्द रहनुभएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसन सिंह बोहरा तथा स्वतन्त्र उम्मेदवार जय प्रकाश पन्त चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

मतदातासँग प्रत्यक्ष संवादको अभ्यास
यसपटक बैतडीमा चुनावी अभियानको शैली परिवर्तन भएको देखिएको छ । भीड भाडयुक्त आमसभाभन्दा मतदातासँग प्रत्यक्ष भेटघाट, समस्या सुन्ने र प्रतिबद्धता सुनाउने अभ्यासलाई दलहरूले प्राथमिकता दिनुभएको छ ।

स्थानीय तहसम्म संगठन विस्तार भइसकेकाले पनि वडा–वडामा घरदैलो अभियान प्रभावकारी बनेको विश्लेषण हुन थालेको छ । निर्वाचन नजिकिँदै जाँदा मतदाताको घर आँगनमै पुगेका उम्मेदवारहरूले आफ्ना एजेण्डा र प्रतिबद्धता कत्तिको विश्वसनीय ढङ्गले प्रस्तुत गर्न सक्छन् भन्ने पक्षले नै अन्ततः परिणाम निर्धारण गर्ने देखिन्छ ।